रंगमञ्चमा पुर्बेली तन्नेरी

सुम्निमा चाम्लिङ

(इटहरी) — कैलालीका शंकर थापा रंगमञ्चका उदियमान कलाकार हुन् । पुर्ख्यौली गाउँ सुदूरपश्चिम भए पनि नाटकको यात्रा भने साहित्यको ऊर्वर भूमि धरानबाट गरेका छन् । करिब एक दर्जन सडक नाटकको अनुभव बटुलेका थापाले ठूला नाटक भने दुईवटा मात्र गरेका छन् । आधा दशकदेखि रंगभूमि एकेडेमीमा बिताएका उनी पात्रमा डुबेर अभिनय गर्ने कलाकारको रूपमा चिनिन्छन् ।

रंगमञ्चमा पुर्बेली तन्नेरी

दुई वर्षअघि धरानमा रंगकर्मी विष्णु मोक्तानद्वारा लिखित नाटक ‘इङघङ’ मञ्चन भएको थियो । सोही नाटकबाट उनी रंगकर्मीको रूपमा चिनिएका थिए । ‘नाटकबाट मलाई धेरैले चिने,’ उनले भने, ‘त्यसपछि नाटकमा अझ गर्नुपर्छ भन्ने सोच आयो ।’ उनी कैलालीबाट फार्मेसी विषयमा स्नातक गर्न धरान आएका थिए । यद्यपि उनले पढाइलाई मात्र समय दिएनन् ।


आफ्नो रुचिलाई समेत अघि बढाए । सानैदेखि कलाकार बन्ने चाहना बोकेका उनी अभिनय सिक्नका लागि रंगभूमि एकेडेमी पुगे । एकवर्षे तालिम लिए । एकेडेमीले नाटक मञ्चन गर्ने भयो । सोही नाटकबाट उनको नाट्य यात्रा अघि बढेको थियो । नाट्य विद्यामा टिक्नका लागि भने उनी हाल धरानको एक निजी कलेजमा पढाउने गर्छन् । नाटकलाई अझ परिष्कृत बनाउने सोचका साथ उनले नर्वेको तीनमहिने अनलाइन कोर्स पूरा गरेका छन् । साथै अनलाइनमार्फत् भारतबाट समेत ६ महिने कोर्स गरिरहेका छन् ।


‘नाटक गर्दा आनन्द मिल्छ । आफू हो भन्ने चिनाउँछ ।’ उनले भने । पछिल्लो समय उनी नाटकको स्क्रिप्टसमेत लेख्ने गर्छन् । अबको साता दिनमा मास्टरजी नाटक चाँडै मञ्चन गर्ने तयारीमा जुटेका छन् । नाटकबाहेक अरू उनले सपना देखेका छैनन् । यसैमा भविष्य बनाउने योजनामा छन् । मोफसलमा कलाकारको अभाव रहेको उनी बताउँछन् । कलाकार हेरेर स्क्रिप्ट लेख्नुपर्ने बाध्यता रहेको उनले सुनाए । नाटक मञ्चन गर्न सक्षम भए पनि नाटक घरको अभावमा गर्न नसकेको उनी बताउँछन् ।


धरान ५ देउरालीकी तुलसा थापा रंगमञ्चमा संघर्षरत छिन् । उनी चार वर्षदेखि नाटकमा सक्रिय छिन् । नाटकको दुनियाँमा प्रवेश गर्नुअघि उनमा नाटकको कुनै मोह थिएन । नाटकमा आउनु उनी कोइन्सिडेन्ट मान्छिन् । एसएलसीपछि बिदाको समयमा कम्प्युटर सिकिरहेकी थिइन् । धरानको एक कलेजले छात्रवृत्तिमा दुई साता नाट्य प्रशिक्षण प्रदान गर्न लागेको थियो । समय कटाउनका लागि प्रशिक्षणमा सहभागी भएकी थिइन् । वर्कसपपछि नाटक मञ्चन भयो । नाटक गरेपछि उनमा थप झुकाव बढ्दै गयो ।


रंगभूमि एकेडेमी धरानले पुन: पन्ध्रदिने नाट्य विद्या सिक्ने अवसर जुटाइदिए । अझ नाटकप्रतिको मोह बढ्दै गयो । एकेडेमीले मञ्चन गर्न लागेको नाटकमा समेत मौका पाइन् । यही नाटकबाट उनको नाट्य यात्रा सुरु भएको थियो । परिवारबाट पूर्ण रूपमा सहयोग पाएको कारण नाटकमा रहन थप सहज भएको उनी बताउँछिन् । उनले अहिलेसम्म तीनवटा नाटक गरिसकेकी छन् ।


‘सानैबाट नाटक विद्यामा आउँछु भन्ने सोच थिएन,’ उनले भनिन्, ‘काम गर्दै जाँदा रुचि बढ्दै गयो ।’ नेपाली सिनेमा रोमियो एन्ड मुनामा समेत छोटो भूमिका निर्वाह गर्नै मौका पाएकी थिइन् । फरक पात्रमा भिज्न पाउनु नाटकको सुखद पक्ष रहेको उनी बताउँछिन् । मोफसलमा नाटकघर नहुँदा रंगकर्मीले अभिनय गर्ने मौका नपाएको उनले बताइन् । रंगमञ्चको अभावमा मुस्किलले नाटक मञ्चन गर्नुपरेको बाध्यता रहेको बताए । मोफसलमा नाटक हेर्ने संस्कृति नरहेको कारण दर्शकको समस्या रहेको बताइन् ।


इटहरीका सुगम दुलाल रंगमञ्चमा रमाउन थालेको एक दशक भयो । नौ वर्षको उमेरबाट उनले नाटक सुरु गरेका थिए । कक्षा ४ मा पढ्दै गर्दा कलालय इटहरीले १५ दिने स्कुल थिएटरको आयोजना गरेका थिए । अन्तिम परीक्षा सकाएर बसेका उनलाई परिवारले नाटकका लागि भने भन्दा आत्मविश्वास बढाउनका लागि पठाएका थिए । ‘सुरुमा नाटक सिक्ने चाहना थिएन,’ उनले भने, ‘विस्तारै लगाव बढ्दै गयो ।’


कलालय इटहरीका अध्यक्ष रंगकर्मी सोनु जयन्तीले उनलाई नाटकको पहिलो कखरा सिकाएका थिए । एसएलसीपछि नाटक सिक्नका लागि ज्ञ थिएटरसम्म पुगे । तीनमहिने नाट्य प्रशिक्षणपछि नाटक मञ्चन भएको थियो । रंगकर्मी सुनील पोखरेलले नाटक राम्रो भएको बताएपछि अझ हौसला बढेको उनी बताउँछन् । सुरुमा पढाइ बिग्रने डरले परिवार चिन्तित थिए । तर उनको भने नाटकमार्फत बेग्लै पहिचान बन्दै थियो । विस्तारै परिवारबाट समेत सहयोग मिल्यो ।


हाल उनी सर्वनाम थिएटर काठमाडौंमा नाटक सिकिरहेका छन् । उनले ईश्वरलाई चिठी नामको विदेशी कथालाई उनले नेपालीमा नाट्य रूपान्तरण गरिसकेका छन् । नाटकमा मानिसको भावना बुझ्न पाइने भएको बताउँदै उनले भने, ‘एउटा जीवन तर विभिन्न जीवन जिउने मोहले गर्दा नाटकमा रमाएको छु ।’ काठमाडौंमा नाटक हेर्न थालेपछि आफ्नो अभिनय कमजोर लागेको कारण सिक्नलाई राजधानी गएको उनी बताउँछन् ।

व्यवस्थापन विषयमा उत्कृष्ट ग्रेडमा कक्षा १२ उत्तीर्ण गरेका उनी भन्छन्, ‘अर्थशास्त्रको सिद्धान्त र गणितको सूत्र जीवनमा लागू भएको पाइनँ । त्यसैले आफू खुसी हुने बाटो रोजेँ ।’ हाल उनी अंग्रेजी र पत्रकारिता विषय अध्ययन गरिरहेका छन् । राजधानीमा सिकेका कुरा आफ्नो ठाउँमा बाँड्ने चाहना रहेको उनले बताए ।


नाटक मञ्चनका लागि मोफसलमा थिएटर नहुँदा अप्ठ्यारो हुने गरेको बताउँछन् । ‘निकै समय लगाएर नाटक मञ्चन गर्छौं । त्यसमा पनि दर्शक होला नहोला भन्ने पिर पर्छ ।’ उनले भने । नाटकमा रमाएर बाँच्न सक्ने अवस्था नभए पनि आफूलाई खुसी मिल्ने भएकाले यसै विद्या रोजेको उनको भनाइ छ । हालसम्म उनले १५ वटा नाटक गरिसकेका छन् ।


इटहरीका मिलन चाम्लिङ पात्रलाई न्याय दिन सक्ने रंगकर्मीको रूपमा चिनिन्छन् । नौ वर्षको उमेरबाट सडक नाटकबाट उनको नाटक यात्रा अगाडि बढेको थियो । सडकदेखि रंगमञ्चसम्म आइपुग्दा उनको अभिनय निकै खारिएको देखिन्छ । सानैबाट नाटक मोह भए पनि औपचारिक रूपमा नाटक सिक्ने माहोल बनेको थिएन । एसएलसीपछि भने उनलाई रंगमञ्चको मोहले सर्वनाम थिएटर काठमाडौंसम्म पुर्‍यायो । उनी रंगकर्मी अशेष मल्लको ९ औं ब्याचका उत्पादन हुन् ।


तीनमहिने कोर्सले उनलाई नाटकमा धेरै सहयोग मिल्यो । परिवारबाट भने त्यसताका खासै सहयोग थिएन । तर उनको नाटकप्रतिको लगावको कारण मिहिनेत गर्दै गए । आफ्नो अभिनयलाई परिष्कृत गर्नका लागि समयानुसार वर्कसपहरूमा सहभागी हुने गरेका छन् । राजधानीमा नाटक सिकेपछि एक किसिमको माहोल बनेको थियो । तर उनी भने पुन: इटहरी फर्किए ।


‘आफूले सिकेका कुरा आफ्नो ठाउँमा गर्नुपर्छ भन्ने सोच थियो,’ उनले भने, ‘आफ्नो स्थानमा नाटकको माहोल बनाउपर्छ भन्ने विचारले गर्दा फर्केर आएँ ।’ पाँच महिनाअघि मात्र उनले विराटनगरस्थित आरोहण गुरुकुलमा ‘मुनामदन’ नाटक सकाएका छन् । यससँगै उनी विभिन्न सर्ट मुभीमा समेत सक्रिय छन् । ‘मोफसलमा नाटकघर नहुँदा समस्या छ । नाटक गर्ने कलाकार पाउन उस्तै मुस्किल छ,’ उनले भने ।


नाटकबाट सीमित कमाइ हुने भए पनि आत्मसन्तुष्टि हुने भएकाले नाटकमा रमाइरहेको उनको भनाइ छ । अरूको जीवन बाँच्न पाउनु नाटकको रमाइलो पक्ष रहेको उनी बताउँछन् । हालसम्म उनले ७ वटा नाटक गरिसकेका छन् । नाटक गरिरहेको क्रममा खोटाङको एक सरकारी विद्यालयमा करारमा शिक्षकको जागिर पाए । तर काममा रमाउन नसक्दा चार महिनामा जागिर छाडिदिए ।


परिवारले दु:खेसो पोखे । तर मिलन भने आफूले रोजेको काम गर्न पाउने कुरामा निकै खुसी थिए । अचेल उनी सर्ट मुभीको स्क्रिप्टसमेत लेख्ने गरेका छन् । प्लसटुमा अध्ययनरत उनी जीवनभर रंगमञ्चमा बिताउने बताउँछन् । ‘कलामा रहेर जीवन जिउन सकिने अवस्था छैन,’ उनले भने, ‘अब यस विषयमा बहस गर्ने बेला आएको छ ।’ नेपाली नाट्यलाई व्यावसायिक बनाउनका लागि नाट्यघरको जरुरी भएको उनले बताए ।

प्रकाशित : कार्तिक १, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?