बेला संसारकै सर्वाधिक सुन्दरी

कान्तिपुर संवाददाता

काठमाडौँ — सुन्दरता मान्छेको हेराइमा भर पर्छ पनि भनिन्छ । हिजोआज भने सुन्दरताको मापन पनि वैज्ञानिक पद्धतिमा निकाल्न थालिएको छ । हालै, गोल्डेन ब्युटी अफ ब्युटीका अनुसार, संसारकै सर्वाधिक सुन्दर महिलामा अमेरिकी सुपरमोडल बेला हदिद परेकी छन् । २३ वर्षीया बेला गणितीय समीकरणको सुन्दरता अनुपातमा ९४ प्रतिशत फिट हुँदै सूचीको अग्रपंक्तिमा अटाएकी हुन् ।

सुन्दरताको उक्त अनुपातलाई प्राचीन ग्रिकको ब्युटी फी नामक एक संयक्तमार्फत् चेकजाँच गर्ने गरिन्छ ।

सुन्दरताको उक्त परीक्षणमा ओठको आकारप्रकार, नाक, चिउँडो र दन्त– लहरसहित अनुहारको बनावटलाई हिसाबकिताब गर्ने गरिन्छ । बेलाको अनुहार सर्वाधिक म्याच भएको हो । जसमा अनुहारको आकारका लागि ९४ दशमलब ५ प्रतिशत, आँखा ९७ दशमलब ६५, ओठका लागि ९४ दशमलब एक प्रतिशत म्याच भएको थियो भने चिउँडोले सर्वाधिक ९९ दशमलब सात प्रतिशत अंक पाएको थियो । हार्ली स्ट्रिट क्लिनिक सर्जन डा. जुलियन डी शिल्भाले निकालेको सर्वाधिक सुन्दर महिलाको उत्कृष्ट दसको सूचीमा अहिलेका सेलिब्रेटीहरूको अनुहारलाई डिजिटल फेसियल म्यापिङका आधारमा जाँचिएको थियो । जसमा गायिका बियोन्सेले बेलाको भन्दा दुई प्रतिशत कम अंकसहित दोस्रो सुन्दर महिला बनेकी छन् भने अम्बर हर्ड तेस्रो स्थानमा परेकी छन् ।

त्यसैगरी, सर्वाधिक सुन्दर महिलाको सूचीमा एरिआना ग्रान्डी चौथो, टेलर स्विफ्ट पाँचौं, केट मस छैटौंमा परेका छन् भने स्कारलेट जोहान्सन, नतालिया पोर्टम्यान, केटी पेरी र कारा डेलेभिग्ने क्रमश: दस स्थानसम्म अटाएका छन् । लन्डनका फेसियल कस्मेडिक र प्लास्टिक सर्जन डा. डी सिल्भाले सुन्दर महिलाहरूको नाम सार्वजनिकपछि भनेका छन्, ‘भौतिक निपुर्णताका हरेक तत्त्वहरूको नापजाँचका आधारमा बेला प्रस्ट रूपमा संसारको सर्वाधिक सुन्दर महिला छानिएकी छन् ।’ समग्रमा बेला अघि देखिए पनि सर्वाधिक सुन्दर नाकमा अम्बरले सर्वाधिक अंक पाएकी छन् भने स्कारलेटको आँखा र काराको ओठ र आँखीभौं सर्वाधिक सुन्दर देखिएका हुन् । त्यसैगरी, बियोन्सेको अनुहारको आकार र केट मसको निधार सर्वाधिक त्रुटिरहित देखिएको थियो ।

तर बियोन्सेका फ्यानले भने बेला एक नम्बरमा परेकोमा चित्त बुझाएका छैनन् । एक ट्वीटर प्रयोगकर्ताले लेखेकी छन्, ‘जसले बेला र बियोन्सेलाई सुन्दरताको आधारमा यसरी तुलना गरिरहेका छन्, तिनले आफ्नो धारणा आफैंसँग राखून् ।’ त्यसो त सुपरमोडल बेलाले सन् २०१६ मा नै वर्षको मोडलको अवार्ड जितिसकेकी थिइन् ।

प्रकाशित : कार्तिक १, २०७६ ०९:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘तेस्रो आयाम बेठिक थिएन’

पर्वत पोर्तेल

(दार्जिलिङ) — सन् साठीको दशकमा दार्जिलिङमा तेस्रो आयाम सुरु भयो । साहित्यप्रतिको फरक बुझाइ र लेखाइका रूपमा इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँलाले साहित्यको नयाँ शैलीका रूपमा यसलाई अघि बढाए । तेस्रो आयाम थालनीको झन्डै ६ दशकपछि बैरागी काइँलालाई लागेको छ, ‘हामीले भनेको बेठिक रहेनछ ।’ तेस्रो आयामका प्रवर्तकमध्येका एक इन्द्रबहादुर राईको स्मृतिग्रन्थ ‘इन्द्राख्यान’ सार्वजनिक गर्न दार्जिलिङ आइपुगेका काइँला भन्दै थिए, ‘हामीले त्यो बेला कल्पना गरेका कुरा अहिलेको साहित्यमा प्रयोग हुन थालेको छ ।’ 

८ सय ८८ पृष्ठको स्मृति ग्रन्थमा करिब असी बढी स्रष्टाका सिर्जना समेटिएका छन् । राईको करिब डेढ वर्षअघि दार्जिलिङमा निधन भएको थियो । काइँलाले दार्जिलिङमा तेस्रो आयामका सुरुवाती दिनहरू सम्झिए । आफ्ना सहयोद्धा र ती दिनहरू सम्झिएर नोस्टाल्जिक पनि बने । उतिबेला प्रवर्तकहरूले ‘तेस्रो आयाम’ पत्रिकासमेत प्रकाशित गरेका थिए । तेस्रो आयाम नामचाहिँ काइँलाले जुराएका थिए । ‘हामी के लेख्नेभन्दा पनि कसरी लेख्ने भनेर गयौं,’ उनले थपे, ‘कसरी लेख्ने भन्ने कुरा नै हाम्रा लागि जीवनको दर्शन बन्यो ।’

उनका अनुसार ‘त्यो बेला खोजेको चिज ‘वस्तुता’ रहेछ । वस्तुको सार–तत्त्वचाहिँ के हो ? त्यो खोज्या रहेछ । लेखिसकेको कविताको आफ्नै अस्तित्व हुन्छ र त्यसलाई वस्तुताभन्दा रहेछौं हामी त्यतिबेला ।’ इन्द्रबहादुर राईले चाहिँ उतिबेला नेपाली साहित्यिक चिन्तनको नेतृत्व गरेको उनले सुनाए । उनका अनुसार राईले नेपाली साहित्यको सैद्धान्तीकरण गर्ने प्रयत्न गरेका थिए । यसलाई आउँदो पिँढीले निरन्तरता दिन जरुरी छ । तेस्रो आयामपछि राईले लीला लेखन नामको नयाँ साहित्यिक आन्दोलन सुरु गरेका थिए । यसलाई कृष्ण धरावासी, कृष्ण बराल, रत्नमणि नेपालले अनुसरण गर्दै आएका छन् । ‘तेस्रो आयामपछि लीला लेखन पनि दार्जिलिङबाटै सुरु भयो,’ काइँलाले सुनाए, ‘दार्जिलिङमा रोपिएको यो बीउ, झापामा उम्रियो ।’

लीला लेखन सुरु भएपछि नेपाल तथा भारतीय नेपाली साहित्यिक वृत्तमा ठूलो तरंग प्रदान भएको स्मरण गर्दै काइँला थपे, ‘खासगरी प्रगतिवादी साहित्यकारहरूले यसलाई एक आँखाले हेर्न सक्दैनन् ।’ सन् १९६३ ताका समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा भेट गराइदिएका थिए, राई, काइँला र ईश्वर वल्लभको । यी तीन हस्तिबीचको भेटबाटै तेस्रो आयाम जन्मियो । साठीको दशकमा यसले नेपाली साहित्यमा एउटा ठूलो आन्दोलनको रूप लियो । तेस्रो आयामको उद्देश्य लेखाइमा लम्बाइ, चौडाइ, मोटाइ र गहनता हुनुपर्छ भन्ने थियो ।

प्रकाशित : कार्तिक १, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×