कठिन दान गर्न लुम्बिनी

मनोज पौडेल

(लुम्बिनी) — श्रीलंकाको कुर्नागलका पियतिलक वण्डार एक दशक पुरानो चाहना पूरा भएपछि दंग देखिन्थे । बुधबार बिहान ५ नबज्दै उनले नुहाइधुहाइ सफा कपडा लगाए । गौतम बुद्धको दाँत रहेको मुलुकबाट बुद्ध जन्मस्थल आउन पाउँदा पुण्य सञ्चय गरेको उनको विश्वास थियो । 

कठिन दान गर्न लुम्बिनी

कोलम्बोबाटै आएकी श्रीकान्ति इदिभिमले पनि लुम्बिनीको बखान गरिन् । उनले पनि यहाँ चिवर दान गरेर शान्ति सञ्चय गर्न पाउँदाको खुसी पनि सुनाइन् । ‘यस्तो दानले मनभित्रैबाट भ्रातृत्व, करुणा र सद्भाव बढाउन उत्प्रेरित गरेको छ,’ उनले भनिन्, ‘दानपछि विगतमा नजानेर गरेको कमजोरीबाट मुक्त हुने हाम्रो विश्वास छ ।’


श्रीलंकाका विभिन्न स्थानबाट आएका ९० उपासक लुम्बिनी आएर यसरी नै दान गरे । बर्सेनि बौद्धमार्गीहरू श्रीलंकाबाट दानका लागि आउँछन् । यसलाई कठिन दान भनिन्छ । श्रीकान्तिका अनुसार श्रीलंकामा बौद्धधर्मावलम्बीको महत्त्वपूर्ण पर्वका रूपमा ‘तीनमहिने वर्षावास’ मनाइन्छ । यसै क्रममा ‘कठिन दान’ गर्नुपर्ने हुन्छ । ‘सात दिनको यात्रा गरेर यहाँ आएँ,’ उनले भनिन्, ‘फेरि सातै दिनको यात्रा गरेरै फर्किन्छौं ।’ कठिन दानकै लागि १० वर्षे बालकदेखि ७५ वर्षे वृद्धसम्म लुम्बिनी आएका छन् । उनीहरूका अनुसार तीन महिना वर्षावासमा भिक्षुहरू अनुशासनमा बस्छन् । भिक्षा मागेर खान्छन् । साँझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् । त्यस बेला धर्म देशना गर्दै पूजाआजा गर्छन् ।


कठिन साथ भिक्षुका नीति–नियम पालना गरेर (विनय कर्म) वर्षावास पूरा गर्नुपर्ने भएकाले कठिन दान भनिएको हो । महाबोधी सोसाइटी अफ भारत लुम्बिनी शाखाद्वारा कठिन दान कार्यक्रम गरिएको हो । उनीहरूले पहिलो दिन मंगलबार दिनभरि पूजाआजा गरेका थिए । साँझ ६ देखि राति १२ बजेसम्म शान्तिका लागि नेपाली, श्रीलंकाली, म्यान्मार र थाई भिक्षुले महापरित्रान पाठ गरे । बुधबार बिहान पूजा गर्न मायादेवी मन्दिर जाँदा श्रीलंकाबाट ल्याइएको कठिन चिवरलाई पवित्र बाकसमा राखी सिँगारेर लगिएको थियो । पवित्र अष्टधातु पनि सिँगारेर मायादेवी मन्दिरमा लगेर पूजाआजा गरिएको थियो । मन्दिर परिसरको अशोकस्तम्भ आसपास चारैतिरबाट फूलले सिँगारेर चिटिक्क बनाइएको थियो । पूजापछि मायादेवी मन्दिरबाट महाबोधी कार्यालयसम्म झाँकीसहित शान्ति पदयात्रा पनि निकालिएको थियो ।


शान्ति पदयात्रापछि कठिन पूजा गरिएको थियो । उक्त अवसरमा शिल प्रदान गरियो । धर्मदेशना दिइयो । यसपछि वर्षावास बसेका भन्ते बी नन्दलाई उनका शिष्यले भिक्षुले लगाउने पहेंलोवस्त्र (चिवर) र भिक्षा पात्र दान गरे । त्यस्तै उपासकले श्रीलंकाबाटै ल्याएको चिवर दान गरे । कसैले अष्टपरिकार दान गरेका थिए । भिक्षुले लगाउने पहेंलो वस्त्र (चिवर) र भिक्षा पात्रलाई चिवर दान भनिन्छ । अष्टपरिकारमा भिक्षुका लागि आवश्यक कपाल र दारी खौरने समान, भित्री बाहिरी कपडा, सियो–धागोलगायत ८ सामग्री हुन्छ । चिवर दानपछि भन्तेलाई भोजन दान गरिएको थियो । कार्यक्रमका मूलगन्ध कोटि विहार वाराणसी भारतका प्रमुख भन्ते धम्मरतन महाथेरो प्रमुख अतिथिका रूपमा थिए ।


प्रकाशित : कार्तिक १, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?