१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पश्चिमी बाजा नेपाली धुन 

कान्तिपुर संवाददाता

काठमाडौँ — गीतको धुन सुनियो, ‘माछी मारन हो दाइ हो, आजलाई चटनी...’ । बुधबार राजधानीको जमलस्थित नाचघरको प्रेक्षालयमा लस्करै बसेका कलाकारहरूले भने पश्चिमी बाजा भ्वाइलिन रेटिरहेका थिए । झन्डै तीन दर्जन भ्वाइलिनवादकले यसरी नै नेपाली लोक र आधुनिक गीतका धुनहरूलाई पस्के ।

पश्चिमी बाजा नेपाली धुन 

दसैं बिदा गरेर उज्यालो पर्व तिहारको पर्खाइ भइरहेको बेला नेपाली र पश्चिमी बाजा फ्युजन गरी ‘अन्नपूर्ण शारदीय वृन्दवादन २०७६’ नामक अकेस्ट्रा संगीत प्रस्तुत गरिएको हो । अन्नपूर्ण चेम्बर र तलेजु धनकुमारी ट्रस्टले गरेको प्रस्तुतिको नेपाली लोकलय ‘माछी मारन...’ बाट घुम्टो खोलिएको थियो । पश्चिमी बाजामा खुलेको नेपाली लोक धुन सुनेर संगीतपारखीहरू मख्ख थिए ।


आधुनिक, लोक, दोहोरी ब्याटलदेखि पपसम्मका सांगीतिक सृजनामा नेपाली संगीतकर्मीहरू क्रियाशील भए पनि अर्केस्ट्रा संगीतमा भने खासै काम भइरहेको देखिँदैन । यस्तोमा नेपाली अर्केस्टा संगीतलाई विकास गर्न करिब एक दशकदेखि निरन्तर साधनारत संगीतकार राजकुमार श्रेष्ठको पहलमा अर्केस्ट्रा प्रस्तुति गरिएको हो । एक महिना अभ्यासबाट सिर्जित लगभग डेढ दर्जन विदेशी तथा स्वदेशी गीतसंगीतका धुन कार्यक्रममा प्रस्तुत गरिएको थियो । अम्बर गुरुङको संगीत तथा राजेन्द्र थापाको शब्द र अरुणा लामाको स्वरमा रहेको ‘पोहोर साल खुसी फाट्दा...’ र शिवशंकरको संगीत तथा स्वरमा प्रेमप्रकाश मल्लको रचना रहेको ‘म मरेपनि मेरो देश बाँचिरहोस्...’ लाई मादल, बाँसुरी, सितार, तबलासँग पश्चिमी बाजा चेलो, डबल बास, भ्वाइलिन, भ्वायला जस्ता बाजा फ्युजन गरि दिइएको प्रस्तुति पनि रोचक थियो ।


नारायण गोपाल, गोपाल योञ्जन, नातिकाजी, नरराज ढकाल, पुष्प नेपाली, दीपक जंगमजस्ता संगीतकर्मीका सिर्जनालाई अर्केस्टा संगीतमा ढालेर प्रस्तुत गर्दा पुराना तथा नयाँ पुस्ताका दर्शक/श्रोताले एकसाथ तालीले साथ दिएका थिए । अम्बर गुरुङकै संगीत तथा स्वर रहेको बैरागी काइँलाको रचना ‘आए सबै याद आए...’ रत्न शमशेरको शब्द प्रेमध्वज प्रधानको स्वर रहेको ‘गोरेटो त्यो गाउँको ..’ गीतका धुनहरूले सिंगो हललाई नोस्टाल्जिक बनायो । राजकुमार श्रेष्ठले नै कन्डक्ट गरेको कालीप्रसाद रिजालको रचना र नारायण गोपालको स्वर–संगीत रहेको ‘केही मीठो बात गर..’, डीबी महेश पाल्पालीको ‘हे आमा नेपाल तिमीलाई..’, योञ्जनको ‘देशले रगत मागे मलाई बलि चढाऊ..’ जंगमको संगीत र नारायण गोपालको स्वर रहेको ‘एउटा मान्छेको मायाले...’ जस्ता धुन पनि रोचक थिए ।


चार दशकअघि नारायण गोपाल र गोपाल योञ्जनजस्ता अग्रजले नेपाली अर्केस्टा संगीतलाई जग बसालेको उल्लेख गर्दै संगीतकार जंगमले ‘पछिल्लो समय राजकुमारजस्ता साधकहरूले यसलाई निकै माथि उठाएको’ बताए । ‘नेपाललाई विश्वमा चिनाउन अर्केस्टा संगीतले अहंभूमिका हुन सक्छ,’ उनले भने, ‘यो प्रयासलाई पछिसम्म निरन्तरता दिनुपर्छ ।’ त्यस्तै पश्चिमी संगीत स्रष्टा एडवर्ड ग्रिज, विथोविन, एन्टोनिओ भिभाल्दीको सिर्जनालाई पनि

अर्केस्ट्रामा सुनाइएको थियो । प्रस्तुतिका लागि अस्ट्रेलियाली संगीतकार मार्कोस डेंगेटले डबलबास बजाएका थिए भने नर्वेली संगीतकार एविन रोसवाकले चेलो, ओले रासमुस, एन्डर्स होलमस् र एनर हेयरले भायला । अमन माली, नवीन महर्जन र सुमन महर्जन, निरञ्जना मानन्धरले बाँसुरीमा आफ्नो कला देखाउँदा तबला, मादल र प्रकर्सनमा पारसमणि सुवेदी, राजेन्द्र महर्जन, सम्भु बानियाँ र सुन्दरकुमार महर्जन जादू देखाएका थिए । सीतारमा भने पद्माहीरा तुलाधर, रिद्धि तुलाधर, सागर तण्डुकार र सवनम श्रेष्ठले कला प्रस्तुत गरेका थिए ।


प्रकाशित : आश्विन ३०, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?