कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पीपल बोटमुनि पानी रङ

मधु शाही

(बाँके) — बूढो पीपलको छहारीमुनि युवकयुवतीको घुइँचो छ । उनीहरू कागजका पाना बिच्छ्याउँदै थरीथरीका रङ भरिरहेका छन् । रूखनजिक पक्की घरकै बीच एउटा झुप्रो छ । आधुनिक घरबीच ठडिएको थारू समुदायको यही झुप्रोको दृश्यमा सबै चित्रकारहरू केन्द्रित छन् ।

पीपल बोटमुनि पानी रङ

मौलिक सभ्यताले कलामा विशेष अर्थ राख्ने हुँदा कोलहपुरस्थित थारू गाउँ ‘चटार’ लाई चित्र कार्यशाला स्थलका रूपमा रोजिएको चित्रकार देवेन्द्र थुम्केलीले बताए । काठमाडौंबाट दसैं मनाउन कोहलपुर आएका उनी पाहुना हुन् । यही मौकामा युवा जमातमा कलाको अनुभव साट्न उनले एकदिने चित्रकला कार्यशाला गरेका हुन् । उनको सोचलाई ‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान’ ले साथ दियो । खासगरी पानी रङका माध्यमबाट चित्र कोर्ने शैली, यसको महत्त्व र दृश्यात्मक चित्रकलाको प्रस्तुतिबारे थुम्केलीले प्रशिक्षण दिए ।


चित्र कोर्दाकोर्दै १५ वर्षीया आयुष्मा ढकालको ब्रस रोकिन् । पानी रङले चित्रमा जुन बहाव देखाउनुपर्ने हो, त्यो सम्भव भइरहेको थिएन । ‘ब्रस नै चलेन,’ अलमल पर्दै उनले चित्रकार थुम्केलीसँग जिज्ञासा राखिन्, ‘पानी फैलिएन, अब के गरौं ?’ यसपछि पानी रङ परिचालन र कागजको गुणस्तरबीचको सम्बन्ध सिकाए थुम्केलीले ।


कार्यशालामा चित्रकार विक्रम शिशिर, सागर क्षत्री, कमल खत्री, आयुष्मा ढकाल, अनुष्का ढकाल, आर्या ढकाल, अंशु चन्द, वंसु चन्द, विशाल मगर, खुश्बु विष्ट, एनआरसी राना, अश्वीन कोइराला, प्रश्ना दियालीलगायत सहभागी थिए । कार्यशालाले चित्रकलाप्रतिको मोफसलको युवा मोहलाई राम्रैसँग प्रस्तुत गरेको थियो । हुन त मोफसलमा चित्रकला र कलाकारको महत्त्व दर्साउन केही महिनादेखि कोहलपुरमा ललितकला पाठशाला नै सञ्चालनमा आएको छ । मुख्य प्रशिक्षक सुरज सुवेदी र निर्देशक विक्रम शिशिर छन् । तर, पाका र अनुभवी चित्रकार बेलाबखत आएर कला, रङ र सिर्जनात्मक शैली सिकाउन सके युवा पुस्ता कलाप्रति छिट्टै प्रभावित हुन सक्ने उनीहरूको विश्वास छ ।


एक दशकदेखि स्वाध्ययन गरेर एक्रेलिक रङमा चित्र बनाउँदै आएका विक्रमले पहिलोपटक कार्यशालामा पानी रङ चलाएको बताए । ‘कलाको यो माध्यम अझै जटिल रहेछ,’ उनले भने, ‘यस्तो अवसर यहाँ कहाँ पाउनू, पहिलो अनुभव गर्दै छु ।’ खुस्बु, अंशु र वंशुले पाठशाला खुलेदेखि चित्रकला सिक्न थालेका हुन् । उनीहरूलाई भविष्यमा कलाकार बन्ने कि नबन्ने भन्ने चिन्ता छैन । तर, क्यानभासमा मनलाग्दी रङ पोत्नमा उनीहरू निकै रमाइलो मान्छन् । पानी रङमा चित्र कोर्न विशेष कागजको आवश्यकता पर्छ । जुन खरिद गर्न पोखरा र काठमाडौं जानुपर्छ ।


कार्यशालाकै लागि कमलले काठमाडौंबाट केही थान पेपर किनेर ल्याएका थिए । त्यसैमा पानी रङ पोत्दा रङले बेग्लै बहाव झल्काएको थियो । अन्य सहभागीले भने कागजकै समस्याले सोचेजस्तो चित्र बनाउन नसकेको बताए । ‘कागज गतिलो परेन भने पानी रङको फ्लो झल्काउन सकिँदैन,’ चित्रकार थुम्केलीले भने । कार्यशालापछि नवराज रानाले तीनवटा महत्त्वपूर्ण ज्ञान पाए । ‘दृश्य चित्रमा आँखाअगाडि थुप्रै वस्तु देखिन्छन् । त्यसमध्ये कुनलाई फ्रेममा उतार्ने र कुन दृश्यलाई केन्द्रमा पार्ने भन्नेबारे चित्रकार चनाखो हुनुपर्ने रहेछ,’ उनले भने, ‘अरूचाहिँ अभ्यासमै भर पर्ने रहेछ ।’


पहिला स्केच गरेर पानीले नै दृश्य पखाल्ने प्रक्रिया पानी रङ चित्रको पहिलो प्रोसेस हो । थुम्केली यसै गर्दै चित्र सिकाउँदै थिए । चित्र पनि पानीले पखालेको देखेर धेरै युवकयुवती अचम्मै परे । १५ वर्षीया प्राश्नाले पानी रङ माध्यमबाट चित्र बनाउने शैली नै नवीन लागेको बताइन् । ‘अझ चित्र तयार भइसकेपछिको सौन्दर्य बेग्लै पाएँ,’ उनले भनिन्, ‘यसै माध्यममा कला सिक्ने चाहना जाग्दै छ ।’

प्रकाशित : आश्विन ३०, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?