फेसनमा छैन सोख

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेत्री राधिका आप्टे अहिले फिल्मका कारणभन्दा पनि वेब सिरिजका कारण बढी चर्चामा छिन् । पछिल्लोपटक ब्याक–टु–ब्याक हिट फिल्महरू ‘कबाली’, ‘प्याडम्यान’, ‘अन्धाधुन’ दिएकी भए पनि ती फिल्मको जस भने फिल्मका अभिनेतालाई बढी गइदियो । 

राधिका छायामा नै परिन् । बरु नेटफ्लिक्सले उत्पादन गरेका सिरिजहरू ‘सेक्रेड गेम्स’ र ‘घोल’ बाट बढी लाइम लाइटमा आएकी छन् । हालै मात्र नेटफ्लिक्सकै ‘लस्ट स्टोरिज’ बाट इन्टरनेसनल एम्मी अवार्डमा समेत उत्कृष्ट अभिनेत्रीको नोमिनेसनमा परेकी थिइन् ।

अभिनयकी खानी राधिका स्वभावले बोल्ड लेडी मानिन्छिन् । प्राय: भूमिका पनि उनका त्यस्तै नै हुने गर्छन् । ग्ल्यामरको दुनियाँमा भए पनि राधिका फेसनको मामिलामा भने चुजी छैनन् । उनले आफूलाई फेसनप्रति खासै ठूलो रुचि नभएको हालैको एक अन्तर्वार्तामा खुलाएकी छन् ।

‘फेन्सी कपडामा मलाई पैसा खर्च गर्न मन लाग्दैन,’ ३४ वर्षीया अभिनेत्रीले भनेकी छन् । उनले यस्तोसम्म खुलासा गरिन् कि विवाहमा हजुरआमाको पुरानो साडी लगाएकी रहिछन् ।

‘एक त मलाई नयाँ कपडामा पैसा खन्याइहालौंजस्तो पनि लाग्दैन । अर्को कुरा, हजुरआमाप्रति मेरो अगाध प्रेम छ । त्यसैले पनि विवाहमा उहाँकै सारी लगाउँदा आफूलाई बढी सहज लाग्यो । मन पर्‍यो ।’ जब कि उनले हजुरआमाको उक्त मराठी सारी पुरानो मात्रै नभई प्वाल नै प्वाल परेको समेत बताइन् ।

सन् २००५ मा ‘वाह, लाइफ हो तोह ऐसा’ मार्फत् बलिउड छिरेकी राधिकाले आफूलाई पैसा जति नयाँ कपडा किनेर सक्ने खालको युवतीमा नपर्ने बताउँदै विवाहका लागि केवल एक जोर कपडा किनेको जिकिर गर्दै त्यो पनि रिसेप्सन पार्टीका लागि रहेको बताइन् । भनिन्, ‘त्यसको मूल्य पनि १० हजार भारुभन्दा बढी थिएन ।’ – एजेन्सी

प्रकाशित : आश्विन २९, २०७६ ०९:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बन्द ग्यालरीको कथा

दीपक परियार

(पोखरा) — दसैंअघि सामूहिक चित्रकला प्रदर्शनी गर्न पोखराको बुद्धिज एट्लियरले ठाउँ खोज्यो । ७ महिला कलाकारको चित्र प्रदर्शनीमा राख्न ग्यालरी भेटिएन । महेन्द्रपुलमा भएको एकमात्र सार्वजनिक ग्यालरीमा विगत एक वर्षदेखि ताला लागेपछि पृथ्वीचोकको एक सपिङ मलमा असोज १२ र १३ मा चित्रकला प्रदर्शनी भयो ।

‘भएको एउटा ग्यालरी पनि सञ्चालनमा नहुँदा प्रदर्शनी स्थलको अभाव भएको छ,’ बुद्धिज एट्लियरकी कला संयोजक हेमकान्ति गुरुङले भनिन्, ‘ग्यालरीकै अभावले गतिविधि शून्य छ ।’

सिर्जनशील कलाकार समूहले व्यवस्थान गरिरहेको ग्यालरी पोखरा महानगरपालिकाले हाल भइरहेको ठाउँबाट सार्ने निर्णय गरेपछि बन्द छ । गत वर्षको चैतमा महानगरपालिकाको कार्यपालिका बैठकले भवन जीर्ण भएको, पार्किङको सुविधा नभएको लगायत कारण देखाउँदै ग्यालरी र महेन्द्रपुलमै रहेको सार्वजनिक पुस्तकालय सार्ने निर्णय गरेको थियो । नयाँबजारमा रहेको प्रदेश संग्रहालय परिसरमा भवन बनाएर ग्यालरी र पुस्तकालय राख्ने महानगरको योजना छ । तर ग्यालरी र पुस्तकालय राख्ने जग्गा महानगरलाई उपलब्ध गराउने सम्बन्धमा प्रदेश सरकारले हालसम्म कुनै निर्णय गरेको छैन । संग्रहालय व्यवस्थापनले आफू मातहत आए मात्रै ग्यालरी र पुस्तकालय राख्न दिने अडान लिएको छ ।

लामो समयदेखि सिर्जनशील कलाकार समूहको दर्ता नवीकरण भएको छैन । पछिल्लोपल्ट समूहका अध्यक्ष सूर्य बराइलीले राजीनामा बुझाएर विदेश गएपछि नगेनसिंह ठकुरीको संयोजकत्वमा बनेको समितिले समेत संस्था नवीकरण गरेन । उक्त समिति भंग भएर पुन: दुर्गा बराल ‘वात्स्यायन’ को संयोजकत्वमा तदर्थ समिति बनिसकेको छ । हाल ग्यालरीमा गतिविधि गर्न मिल्ने भए पनि संस्था निष्क्रियजस्तै छ ।

संस्थाको गतिविधि ठप्प भएकाले पनि ग्यालरी सञ्चालनमा नआएको कलाकार झवीन्द्र गुरुङ बताउँछन् । ‘नगरपालिकाले पुरानो भवन भत्काउने भनेर खाली छोडियो,’ उनले भने, ‘न त अहिलेसम्म भवन भत्कियो, न त अरू गतिविधि नै भए ।’ भवन बन्द हुँदा एकल र सामूहिक चित्रकला प्रदर्शनी हुन नपाएको गुनासो उनले गरे । ‘संस्थाले हरेक ३/३ महिनामा गर्ने कला कार्यशाला पनि हुन सकेको छैन,’ उनले भने, ‘संस्थामा कलाकारभन्दा अरू हाबी भए ।’ उनका अनुसार पोखराका सहित काठमाडौं र विदेशबाट आउने कलाकारले चित्रकला प्रदर्शनी गर्ने ग्यालरी त्यहीं एउटा हो ।

२०२८ मा नेपाल ललित कला संस्थानको गण्डकी अञ्चल शाखा पोखरामा खुल्यो । विधानअनुसार तत्कालीन अञ्चलाधीश शंकरराज पाठक स्वत: शाखाको अध्यक्ष भए । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ सचिव बने । हरेक कुरा सोध्नुपर्ने, स्वीकृति लिनुपर्ने भएपछि त्यतिखेर काम गर्न अप्ठेरो भएको वात्स्यायन सुनाउँछन् । ०३५ तिर संस्थान विगठन भयो । वात्स्यायनको अध्यक्षतामा शिल्पी कलाकार समूह गठन भयो । तर संस्था दर्ता हुन सकेन । ०४६ पछि संस्थालाई पोखरा कलाकार समूहको नाम दिइयो । कलाकार बुद्धि गुरुङ अध्यक्ष भए । त्यति बेला पनि संस्था दर्ता हुन सकेन । ०५६ मा उक्त संस्थाको नाम परिवर्तन भई सिर्जनशील कलाकार समूह बन्यो । पुन: वात्स्यायन अध्यक्ष भए । संस्था दर्ता भयो । त्यहीं वर्ष तत्कालीन पोखरा उपमहानगरपालिकाले महेन्द्रपुलमा रहेको भवनको माथिल्लो तल्लामा सार्वजनिक ग्यालरी स्थापना गर्‍यो । समूहले ग्यालरीको व्यवस्थान गर्‍यो ।

जीर्ण भइसकेको भवनमा त्यसअघि सार्वजनिक पुस्ताकालय थियो । पुस्तकालयलाई पारिपट्टि अर्को भवनमा सारेर ग्यालरीका लागि उपलब्ध गराइएको थियो । समूहले जीर्णोद्वार गरी भवन प्रयोग गरेको हो । ग्यालरी निर्माणपछि कलासम्बन्धी गतिविधि ह्वात्तै बढे । कलाकारको सामूहिक र एकल चित्रकला प्रदर्शनी हुन थाले । बेलाबेलामा कला कार्यशाला हुन थाल्यो । वात्स्यायनपछि किरण रञ्जित, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, पदम घले र सूर्य बराइलीले समूहको नेतृत्व सम्हाले ।

पुरानो भवन जीर्ण भएपछि ५ वर्षअघि त्यहीं भवनको अर्कोपट्टि छतमा समूहले ग्यालरी बनायो । ललितकला प्रज्ञा प्रतिष्ठानको ८ लाख रुपैयाँ र विभिन्न संघसंस्था, कलाकारसँग सहयोग संकलन गरेर नयाँ ग्यालरी बन्यो । १५ लाख रुपैयाँको लागतमा ग्यालरी निर्माण सकियो । पुरानो ग्यालरी स्टोरको रूपमा प्रयोग भयो । नयाँमा प्रदर्शनी र कार्यशाला हुन थाल्यो । महानगरले वार्षिक ५० हजार रुपैयाँ ग्यालरी सञ्चालनको लागि समूहलाई उपलब्ध गराउँछ । एकल चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनीको भाडा र कलाकारको चित्र बिक्रीबाट आउने २० प्रतिशत रकमबाट ग्यालरी चल्दै आएको थियो ।

बराइली विदेश गएपछि नगेनसिंह ठकुरीको संयोजकत्वमा तदर्थ समिति बन्यो । समितिले जम्मा ४ महिना काम गर्‍यो । पछि समिति भंग भयो । पुन: वात्स्यायनकै संयोजकत्वमा तदर्थ समिति बनेको छ । समितिमा कवि तीर्थ श्रेष्ठ, कलाकार मिलन शेरचन, किरण रञ्जित र विश्व पराजुली सदस्य छन् ।

संयोजक वात्स्यायन ५ वर्षअघि मिहिनेत गरेर बनाएको भवन भत्किने भनेपछि कलाकारमा नैराश्यता छाएको बताउँछन् । संस्था नवीकरण नभएको र कलाकार सुस्ताएकोले गतिविधि हुन नसकेको उनी स्विकार्छन् । कसैले चाहेको खण्डमा भने अहिले पनि ग्यालरीमा कार्यक्रम गर्न सक्ने उनले बताए । ‘सहरको बीच भागमा थोत्रो संरचना नराख्ने भन्ने महानगरले निर्णय गर्‍यो,’ उनी भन्छन्, ‘पार्किङ पनि छैन । दर्शक पसल काटेर हेर्न आउनुपर्छ । ग्यालरीको लागि यो ठाउँ अनुपयुक्त भयो । अर्को राम्रो विकल्प पाए ठीक छ भनेर भनियो तर अहिलेसम्म केही सुरसार छैन । महानगरले हुँदै छ भनिरहेको छ ।’ संस्थाका सम्बन्धमा भने जरिवाना तिरेर नवीकरण गर्ने वा नाम परिर्वतन गरेर नयाँ बनाउने भन्नेमा छलफल चलिरहेको उनले सुनाए ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले ग्यालरी र पुस्तकालय सार्ने भनिएको संग्रहालयको जग्गा प्रदेश मातहत भएकोले संवाद चलिरहेको दाबी गरे । ‘संग्रहालय, पुस्तकालय र आर्ट ग्यालरी एउटै पर्खालभित्र हुँदा पर्यटकीय आकर्षण पनि हुन्छ,’ उनले भने, ‘एक–दुई हप्ताभित्र यसरी जान सकिन्छ भन्ने परिस्थिति बन्छ ।’ संग्रहालय परिसरमा २३ रोपनी जग्गा छ । उक्त जग्गाभित्रै पुस्तकालय र ग्यालरीको भवन बनाउने महानगरको योजना छ । संग्रहालयमा बहुसांस्कृतिक ग्राम बनाउन महानगरले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने निर्णय गरेको प्रवक्ता नेपालीले बताए ।

प्रकाशित : आश्विन २९, २०७६ ०९:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×