कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कचहरीमा पीडै–पीडा

कान्तिपुर संवाददाता

काठमाडौँ — केही कमाउने आशामा विवाहलगत्तै नव दुलहीलाई बाबुआमाको काखमा छोडेर प्रवास छिरेका कैयौं नेपालीहरू भेटिन्छन् । पराई भूमिमा फुर्सद मिल्नेबित्तिकै श्रीमतीसँग च्याट अथवा भिडियो कल गर्न प्रविधिले निकै सहज बनाई दिएको पक्कै छ ।

तर, घरधन्दा र अन्य कामको चटारोमा श्रीमान्सँग फोनमा नबोल्दा श्रीमतीमाथि हुने शंकाले घर जलेका कैयौं घटना हाम्रै वरिपरि छन् । छोरीलाई पढाउनु हुन्न भन्ने बाबुआमाको पुरानो मानसिकता र बाल्यकालमा आफूखुसी विवाह गरेर दुःख पाएका धेरै चेलीहरूको कथा पनि हाम्रै समाजमा भेटिन्छन् । यिनै कथाव्यथा बुनेर रंगकर्मी घिमिरे युवराजले फरक ढंगबाट कचहरी नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ तयार पारेका छन् ।


रंगमञ्चकै माध्यमबाट समाज र युवापुस्ताका समस्या पस्कँदै आएका रंगकर्मी घिमिरेले यस पटक कल्पना र उर्मिला जस्ता पात्रलाई लिएर कचहरी शैलीबाट समाजकै कथा भनेका छन् । विशेषगरी महिलाले भोगिरहेको पीडा र संघर्षमा नाटक केन्द्रित छ ।


कल्पनाको श्रीमान् हर्कबहादुर विगत दुई/तीन वर्षदेखि प्रवासमा छन् । घरधन्दा र मेलापातले उनलाई एकैछिन पनि फुर्सद छैन । उनको व्यस्ततालाई श्रीमान्ले आफू नभएको मौका छोपी अरूसँग नै हिमचिम बढाएको शंका गर्छ ।


कल्पनाकी नन्द उर्मिलालाई बाबुआमाले पढाइभन्दा काममा नै बढी लगाउँछन् । स्कुल जान नदिने, सधैं किचलो भएर उर्मिलाले आफ्नै सहपाठी गोपुसँग भागी विवाह गर्छिन् । केही समयपछि नै गर्भवती हुन्छिन् । विवाहपछि गोपुले उर्मिलालाई माया गर्दैनन् । सानो उमेर र कामको बोझले उनको बच्चा खेर जान्छ ।


नाटकमा यी दुवै पात्रले कसरी दुःख पाएका छन् ? दुःखबाट कसरी छुटकारा पाउन सक्छन् ? पुरुषले चाहिँ घरधन्दा हेर्नुपर्दैन ? नाटकले प्रश्न गर्छ । त्यस्तै श्रीमान् र सासुससुराको हेपाइलाई कल्पनाले प्रतिकार गर्न पाउँछिन् कि पाउँदिनन् ? बच्चा खेर गएर माइत नै फर्केकी उर्मिलाले अब कुन बाटो रोज्दा उत्तम हुन्छ ? बाल विवाह गर्दा के असर पर्छ ? लगायतका प्रश्न नाटकले गर्छ । जवाफ भने दर्शकबाट नै खोतल्ने घिमिरेले बताए ।


बत्तिसपुत्तलीस्थित शिल्पी थियटरको गोठाले नाटकघरमा घिमिरेकै परिकल्पना तथा निर्देशनमा सोमबार यो नाटक मञ्चन गरिएको थियो । यही नाटक मंगलबारदेखि एक महिनासम्म देश दौहाडामा निस्किँदै छ । नाट्य यात्रा सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा, बर्दिया, कञ्चनपुर, सुनसरी हुँदै मोरङसम्म पुग्ने घिमिरेले बताए । मञ्जु श्रेष्ठ, पवित्रा खड्का, संगीता उराँव, स्मारिका फुँयाल, नम्रता अर्याल, सविन कट्टेल, झकेन्द्र बिसी, मानहाङ लावती, रविन परियार, गोविन्द वली, ज्याक बराल, हिमाल भुजेलले अभिनय गरेका छन् ।

प्रकाशित : आश्विन २८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?