१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

“जोकर” को त्रास

कान्तिपुर संवाददाता

काठमाडौँ — हलिउडमा सुपरहिरो फिल्मको जगजगी छ । तर तिनै सुपरहिरोबाट सुपर भिलेनले पनि आफ्नो बेग्लै स्थान बनाउन थालेका छन् । अथवा, भिलेनहरू बलिया बन्दै गइरहेका मात्रै छैनन्, दर्शकका प्रिय पनि हुन थालेका छन् ।

“जोकर” को त्रास

नकारात्मक चरित्रलाई समाजले रुचाउन थाल्नु र त्यस्तै चरित्रका हर्कत समाजमा यदाकदा देखिन थाल्नु प्रशासनका लागि तनावको विषय बन्न थालेको छ । त्यस्तै खतरनाक भिलेनको चरित्रमा बनेको फिल्म ‘जोकर’ यतिबेला अमेरिकाका लागि टाउको दुखाइ बनिरहेको छ ।


एकातर्फ फिल्मले बक्सअफिसमा झन्डै २५ करोड डलरको कमाइ गरिसकेको छ र केही फिल्म फेस्टिभलमा अवार्डसमेत जितिसकेको छ भने अर्कातर्फ फिल्मले नकरात्मकता पेस गरेको भन्दै व्यापक विरोध पनि भइरहेको छ । सुपरहिरो ब्याटम्यानको कट्टर दुश्मन जोकर कसरी बन्यो भन्ने कहानीमा आधारित ‘जोकर’ को रिलिज नै अमेरिकी सुरक्षा संयन्त्रका लागि चुनौती बनिदियो । अमेरिकी सेनाले उक्त फिल्म रिलिजको दिन बन्दुकधारीले गोली चलाउन सक्ने भन्दै सजग रहन आग्रह नै गर्नुपर्‍यो भने गुप्तचर विभाग सक्रिय रह्यो । धन्न, त्यस्तो अप्रिय घटना त केही भएन तर डर अझै टरेको भने छैन । किनकि ‘जोकर’ अझै पनि प्रदर्शनरत नै छ ।


अमेरिकी सेना ‘जोकर’ सँग डराउनुको खास कारण सात वर्षअघिको घटनामा आधारित छ । जुन समय ब्याटम्यान सिरिजको अन्तिम फिल्म ‘द डार्क नाइट राइजेज’ को एक सोको दौरान कोलोराडोको अरोरामा एक व्यक्तिले गोली चलाउँदा १२ जना मारिएका थिए भने ७० घाइते भएका थिए । उक्त व्यक्तिले फिल्मको भिलेन चरित्रबाट प्रभावित भई गोली चलाएको थियो । ‘जोकर’ पनि एक मानसिक रोगी कमेडियन अर्थर फ्लेकको कहानीमा आधारित छ जो अनाहकमा मान्छे मार्दै हिँड्ने गर्छ । यसपटक ‘जोकर’ अरोरामा रिलिज नै भएन । मतृकका आफन्तले फिल्म निर्माता कम्पनी वार्नर ब्रदर्सलाई चिठी नै लेखेर आफ्नो ठाउँमा ‘जोकर’ नचलाउन आग्रह गरेको थियो । ती परिवारले जोकरले बन्दुकधारीको सम्झना दिलाएको भन्दै त्यस्तो आग्रह गरेपछि निर्माताहरू फिल्म नलगाउन सहमत भएका थिए । अति हिंसात्मक र भयावह दृश्य समेटिएको ‘जोकर’ लाई लिएर कतिपय समीक्षकले समेत कटु आलोचना गरेका छन् । उनीहरू फिल्मले खराब चरित्रको महिमा गान गरेको आरोप लगाउँदै ‘जोकर’ युनिट बेमतलवी र गैरजिम्मेवार बनेको तर्क गरेका हुन् । भ्यानिटी फेयर म्यागाजिनका फिल्म समीक्षक रिचर्ड लसन लेख्छन्, ‘जोकर उत्सव मनाउन लायक हो वा डरलाग्दो हो ? के यी दुई बीचमा केही फरक छैन ?’ कतिपयले त फिल्मलाई ब्यान्ड गर्नुपर्नेसम्मको पनि धारणा राखेका छन् ।


तर फिल्मका निर्देशक टोड फिलिप्स भने यसमा सहमत छैनन् । भलै, जोकरको भूमिकामा रहेका अभिनेता जोक्विन फोनिक्सलाई पनि फिल्मले हिंसालाई सहानुभूति दिएको भन्ने टिप्पणी वाहियात मान्छन् । निर्देशक फिलिप्सले भनेका छन्, ‘खासमा फिल्म मायाको अभाव, खराब बालापनका कारण समाजमा आफ्ना लागि सहानुभूति नै पाउन नसकेको एक चरित्रको कथा हो । मलाई त मान्छेहरूले यति सन्देशलाई सही अर्थमा बुझ्लान भन्ने थियो । यदि फिल्मलाई कला मान्ने हो भने यसको अर्थ वा सन्देशलाई पनि अलिक गहिरिएर बुझ्नु आवश्यक हुन्छ । सबै कुरा सतहमा मात्रै बुझ्ने हो भने फिल्मलाई किन कला मान्नु ?’


उता, तीन पटक ओस्कार अवार्डका लागि मनोनयनमा परेका अभिनेता फोनिक्सले त एक साक्षात्कार कार्यक्रममा जिम्मेवार अभिनेता भएर पनि हिंसालाई बढावा दिने यस्तो चरित्रमा किन खेलेको भन्ने प्रश्न उठेपछि त्यसको उत्तर दिनै आवश्यक नठानी कार्यक्रम छोडेर हिँडिदिएका थिए । अझ उनले त यसरी विवाद सृजना गर्नुमा वामपन्थीहरूको हात हुन सक्ने आरोपसमेत लगाइदिए । ‘यो फिल्मलाई लिएर भइरहेको टिप्पणीले मलाई हैरान पारेको छ । कोही किन आफ्नो एजेन्डाको पछि लागेर सजिलै वामपन्थी, दक्षिणपन्थीले जसरी बोल्न थाल्छन् ? यो मेरा लागि आँखा खोल्ने घटना पनि हो । मान्छेहरू अर्थको अनर्थ लगाउन बढी उद्यत हुँदा रहेछन्,’ अभिनेता फोनिक्सले भने । त्यसो त फोनिक्सले फिल्मकै कारण असहज परिस्थिति उत्पन्न हुँदा वा मान्छेहरू त्यसको विषयमा माथापच्ची गर्न थाल्दा आफूलाई भने निकै खुसी लाग्ने तर्क गर्दै भने, ‘त्यही भएर पनि मैले जोकर खेल्न सहमत भएको हुँ । किनकि यो मेरा लागि पनि चुनौतीपूर्ण हुनेवाला छ भन्ने छनक पाएको थिएँ ।’– एजेन्सी

प्रकाशित : आश्विन २८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?