पन्त र सायनलाई पद्मश्री

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली इतिहासको खोज अनुसन्धान, संशोधन र पुनर्लेखनमा महेशराज पन्तको ठूलो भूमिका छ । विसं २००९ मा उनकै बुबा गुरु नयराज पन्तले सुरु गरेको संशोधन मण्डलसित आबद्ध रहेर उनी खोज र लेखनकार्यमा निरन्तर क्रियाशील छन् । आइतबार यस वर्षको ‘पद्मश्री साधना सम्मान’ ग्रहण गरिरहँदा संस्कृतिविद् तथा इतिहासविद् पन्तको अनुहारको आभा भिन्न थियो । 

पन्त र सायनलाई पद्मश्री

पन्तले आफ्नो जीवनकालमा आर्थिक प्रलोभनबाट टाढा रहँदै ज्ञानलाई साधनका रूपमा प्रयोग गरेर नेपाली संस्कृति र इतिहासको निरन्तर अन्वेषण गर्दै आएको बताए । भने, ‘मैले पैसाको अफर सँधै अस्वीकार गरेँ । आफ्नै खर्चमा मेरो सन्तुष्टिका लागि र समाजको तल्लो तहसम्म ज्ञान फैलाउने चिन्तनमा लागिरहेँ ।’


खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष दिँदै आएको पद्मश्री सम्मान यस वर्ष पन्तलाई दिइएको थियो । यस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ भने संस्मरणात्मक कृति ‘छुटेका अनुहार’ का लागि स्रष्टा रमेश सायनलाई दिइयो । प्रतिष्ठानका तर्फबाट अध्यक्ष एवं लेखक जीबा लामिछानेले दुबैलाई जनही दुई लाख रुपैयाँ र सम्मानपत्र हस्तान्तरण गरे ।


प्रतिष्ठानले नेपाली कला, साहित्य, संस्कृतिलगायतको क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई २०६७ देखि र वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एकलाई २०६३ देखि पुरस्कृत गर्दै आएको अध्यक्ष लामिछानेले जनाए । पुरस्कृत सायनले चाहिँ पुस्तकमार्फत् आफूले ‘हजारौं सपनाहरू देखेर पनि छुटाउँदै गएका किसान, मजदुर र आफ्नै खुसीका कुरालाई उठाउन खोजेको’ बताउँदै पुरस्कारले साहित्य सिर्जनामा थप ऊर्जा दिलाएको बताए । कार्यक्रममा प्रमुख वक्ताको रूपमा हरि शर्मा थिए ।


उनले साहित्यमा पाठक र लेखकको सम्बन्ध हुने भए पनि पाठकको दायरा भिन्न हुने उल्लेख गरे । अहिलेको बजारमा जुध्नु नै पाठक र लेखकको प्रमुख चुनौती रहेको उनको जिकिर थियो । सायनको कृतिमाथि समीक्षा गर्दै उनले कृतिले तल्लो सिमान्तकृत वर्गलाई समेटिएको बताए ।


प्रतिष्ठानले यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, अग्रज साहित्यकार मदनमणि दीक्षित, बैरागी काइला, संस्कृतविद् तथा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, हास्य कलाकारद्वय मनदकृष्ण श्रेष्ठ/हरिवंश आचार्य र पाका साहित्यकार तारानाथ शर्मा लगायतका व्यक्तित्वलाई पद्मश्री साधना सम्मान दिइसहेको छ ।


पद्मश्री साहित्य पुरस्कारबाट भने गणेश रसिक, अमर न्यौपाने, झमक घिमिरे पुरस्कृत भइसकेका छन् ।

प्रकाशित : आश्विन २७, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?