तामाङ सेलो हराउँदै मौलिकता 

सुशीला तामा‌ङ

काठमाडौँ — कुनै समय तामाङ समुदायमा चन्द्रकुमार मोक्तानका मौलिक सेलो गीतहरू चर्चित थिए । रेडियो नेपालको फूलबारी कार्यक्रममार्फत् तीसको दशकमा उनैले तामाङ सेलोलाई पहिलोपटक श्रोतामाझ घन्काएका थिए । त्यसयता उनले निकालेका अधिकांश एल्बमहरू तामाङ मौलिकतामा आधारित रहे । पछिल्लो समय सेलो संगीतमा आधुनिक प्रयोगहरू भित्रिएपछि उनी गीति साधनाबाटै अलग भएका छन् । 

तामाङ सेलो हराउँदै मौलिकता 

केही वर्षअघि सेलो गायक चन्द्रकुमार दोङको रचना तथा संगीतमा सेलो तथा लोक गायिका इन्दिरा गोले र दोङकै स्वरमा आएको गीत ‘आपा त गाङ्दान, मावली स्याङ्तान...’ गीत नेपाली भाषामा भए पनि तामाङ जातिको संस्कृति, परम्पराको आभाससँगै डम्फूको ताल सुन्न सकिन्थ्यो । गोपीलाल बमजनको शब्द तथा सोनाम बज्युको संगीतमा दोङ र गोलेकै स्वर रहेको अर्को गीत ‘तोर्सेला ला स्योङ...’ मा पनि तामाङ मौलिक भाषा, परिवेश, रहनसहनलाई समेटिनुका साथै उत्तिकै मौलिकपनको मिठास पाइन्छ ।


अचेल भने तामाङ सेलोमा मौलिकता हराउँदै गएको गुनासा सुन्न सकिन्छ । गीतहरू मौलिकतालाई बिर्सिंदै नेपाली लोकदोहोरी र आधुनिक गीतको प्रभावमा रंगिन थालेका छन् । कतिपय गीतहरूमा गजलको प्रभाव पनि भित्रिएको छ । प्रदेश नम्बर ३ को पहिलो जनसंख्याको रूपमा रहेको तामाङ समुदायको सांगीतिक/सांस्कृतिक पहिचान बोकेको सेलोले मौलिकता गुमाउँदै गएकोप्रति चिन्तित छिन् गायिका इन्दिरा गोले । तामाङ सेलो भन्नेबित्तिकै यसमा आफ्नै मौलिक धार र पन रहेको गोलेको धारणा छ । ‘डम्फू र टुङ्नाको तालमा नै तामाङ जातिको मौलिक धुन जोडिएको छ,’ उनी भन्छिन्, ‘तर, अचेल मौलिकता नै संकटमा पर्दै गइरहेको देख्छु ।’


तामाङ समुदायसँग जोडिएको भए पनि सिंगो नेपाली सांगीतिक क्षेत्रमा सेलोको योगदान छ । तीसको दशकभन्दा अघिदेखि नै तामाङ सेलो नेपाली भाषामा समेत आएको देखिन्छ, यो क्रम अहिलेसम्म निरन्तरता छ । लोकभाकालाई आधुनिक संगीतमा ढाल्न माहिर शम्भुजित बाँस्कोटाले समेत आफ्नो सांगीतिक करिअरको सुरुवाततिर ‘सिन्धुपाल्चोककी मैंच्याङ...’ बोलको सेलो गीत नेपालीमा ल्याएका थिए । केहीअघि टीभी रियालिटी सो लोक स्टारमा विशेष निर्णायक भएर प्रस्तुत भएका उनले यही गीतको टुक्रासमेत गाउन भ्याए । लोकगायक कुमार बस्नेतका थुप्रै गीतहरू तामाङ सेलो आधारित छन् । तामाङ सेलोलाई नेपाली भाषामा प्रवर्द्धन गर्न उनले ठूलो योगदान दिएका मानिन्छ । गोपाल योञ्जनका पनि केही गीत सेलो आधारित छन् । केही वर्षअघि मात्रै अभिनेता निखिल उप्रेतीले आफ्नो पछिल्लो फिल्म ‘पिँजडा ब्याक अगेन’ मा आफैंले संगीत भरेर नेपालीमा तामाङ सेलो गीत राखेका थिए भने दीपेन्द्र लामाको फिल्म ‘घामपानी’ मा पनि नेपाली भाषामै सेलो गीत प्रयोग गरिएको छ ।


नेपाली भाषाको सांगीतिक दुनियाँमा समेत सेलोको लोभलाग्दो प्रयोग भइरहेको बेला स्वयं तामाङ समुदायको गायक–गायिकाले भने मौलिकता भुल्दै जानु आफैंमा दुर्भाग्यपूर्ण रहेको तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबा बताउँछन् । उनका अनुसार लामो समयदेखि तामाङ कलाकारहरूका साझा संस्थाको रूपमा संघ क्रियाशील रहे पनि उचित नीति नियम नभएको हुनाले अहिले तामाङ सेलो भन्दै ‘जे पायो त्यही गीतहरू’ आइरहेका छन् । युट्युबमा सर्च गर्दा पनि त्यस्तै देखिन्छ । थुप्रै गीतहरू मौलिकताभन्दा पनि भ्युज बढाउने प्रकृतिका मात्रै भेटिन्छन् । गीतका शब्दहरू पनि सेलोको भलाद्मीपनभन्दा उटपट्याङ प्रवृत्तिलाई बढावा दिने प्रकृतिका भेटिन्छन् । केही गीतहरू त काँठको लोकदोहोरीबाट समेत प्रभावित छन्, भाषामात्रै तामाङ ।


अध्यक्ष वाइबाका अनुसार नेपाली भाषामा गाइने सेलो गीत होस् या तामाङ समुदायमा प्रचलित ताम्बा (रीतिरिवाज) या फापरे (प्रणयपरक) गीत होस्, त्यस्ता संगीतसित तामाङ जातिको संस्कृति, इतिहास, परम्परा र जीवनशैली अभिन्न रूपमा जोडिएका हुन्छन् । ‘तर, त्यसो हुन सकिरहेको छैन,’ उनी भन्छन्, ‘भाषा तामाङ भएर मात्रै सेलो गीत हुँदैन ।’ प्रविधिको सहज पहुँच र गीत हेर्ने माध्यम फेरिएकाले पनि अहिले मौलिकताभन्दा पनि दर्शक/श्रोतामुखी बजारिया गीत संगीतको बाढी आएको अनुमान गर्न सकिन्छ । आधुनिक शैलीमा बनेका थुप्रै तामाङ सेलो गीतहरूले युट्युबमा राम्रै भ्युज पनि पाएका छन् । रोज मोक्तान, विश्व दोङ, विशाल काल्तान, शशिकला मोक्तान, निर्मला घिसिङ, कृष्ण वाइबा, जितु लोप्चन, केबी लामा, मिंग्स लामा, हीरा लामालगायत गायक–गायिकाहरूको सेलो गीतहरूलाई अहिलेका नयाँ पुस्ताले रुचाएको देखिन्छ ।


रुचाइएका धेरैजसो गीतहरू आधुनिक शैलीका छन्, जसमा डम्फूको सट्टा मादल, किबोर्ड, सारंगीदेखि गिटारसम्म प्रयोग गरिएका छन् । कतिपय गीत सुन्दा र भिडियो हेर्दा भाषा मात्र तामाङ भेटिन्छ । भाषा झिकिदिनेबित्तिकै अरू नै गीत बन्न जान्छ । लामो समयदेखि सेलो संगीतमा क्रियाशील गायिका गोले तामाङ सेलोमा आधुनिकता भित्रिए पनि भाका तथा ताल मिलाउँदा मौलिकतालाई भुल्न नहुने बताउँछिन् । ‘डम्फूको तालसँगै शब्दमा तामाङ चिनारी छैन भने त्यसलाई कसरी तामाङ सेलो भन्ने ?’ उनी भन्छिन्, ‘हुँदाहुँदा अहिले त गीतबाट डम्फू नै हराउन थाल्यो ।’ समय, परिवेश र रुचिअनुसार लोकगीतलाई परिमार्जन गर्ने परम्परा रहेको भए पनि ‘आफ्नो र अरूको गीतबीचको भिन्नता के छ भन्नेबारे नयाँ पुस्ताले केलाउनुपर्ने’ उनी सुझाउँछिन् । गायनमा करिअर बनाउँदै गरेका केबी लामाको भने फरक विचार छ । उनी समयअनुसार गीतहरूमा नयाँपन ल्याउनुपर्ने दाबी गर्छन् ।


सेलो संगीतमा दुई दशक लामो अनुभव बोकेका गायक विश्व दोङ ‘पहिलेको तुलनामा अहिले बढी नै बजारकेन्द्रित बन्दै गइरहेको कारणले सेलो संगीतमा विकृति आइरहेको’ स्विकार्छन् । उनका अनुसार तामाङ सेलोमा डम्फूको तालले अन्य गीतसंगीतभन्दा भिन्नै मिठास र जोस दिन्छ । हालै मात्र सेलो भाकामै पूर्वेली तामाङ समुदायको गाउँ–ठाउँको बयान समेटेर ‘घुम्दै फिर्दै’ गीत ल्याएका दोङ भन्छन्, ‘बजारमा के बिक्छ भनेर सेलो गीतको मौलिकता नै परिवर्तन गर्नचाहिँ हुँदैन ।’ तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबाको मत पनि यही छ । उनी ‘कस्तो गीत सेलो हुने कस्तो नहुने’ भन्नेबारे संस्थागत रूपमै नियमन गर्नुपर्ने बेला आएको बताउँछन् ।

प्रकाशित : आश्विन २६, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?