पर्दामा तालुखुइले भिडन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — मसलेदार सूत्रबद्ध फिल्मका लागि कुख्यात बलिउड पछिल्ला वर्षमा विषयवस्तुको खोजमा लागेको छ । नवीन विषयमा बनेका साना बजेटका मध्यम कलाकारका फिल्मले नै पनि बक्सअफिसमा राम्रो कमाइ र समीक्षा गतिलो बटुल्न थालेका छन् । यस्ता फिल्मको बागडोर नवाजुद्दिन सिद्दिकीदेखि आयुष्मान खुराना, राजकुमार रावहरूले सम्हालिरहेका छन् । 

पर्दामा तालुखुइले भिडन्त

पछिल्लो पटक महिला भेषमा फिल्म ‘ड्रिमगर्ल’ मा देखिएका अभिनेता खुराना अब फेरि नयाँ कथावस्तु र भेषसहित फिल्म ‘बाला’ मा देखिँदै छन् । वयस्कमा नै तालुखुइले हुँदा समस्या भोग्नुपरेको एक युवकको भूमिकामा रहेका खुरानालाई यतिबेला अर्को तनाव थपिएको छ । तालुखुइले युवककै समस्यालाई मुख्य विषयवस्तु बनाइएको अर्को फिल्म ‘उजडा चमन’ पनि सँगसँगै रिलिज हुने भएको छ । ‘कात्तिक ८ मा ‘उडता चमन’ रिलिज हुने तय भएपछि ‘बाला’ ले पूर्ववत् आफ्नो रिलिज मिति मंसिर ६ बाट एक महिनाअघि सारिएको हो । उस्तै कथावस्तुको ‘उजडा चमन’ अघि नै आउने भएपछि ‘बाला’ का निर्माताले पनि फिल्मलाई अपरझट अघि सारेका हुन् ।


‘बाला’ ले रिलिज मिति हठात् रूपमा अघि सार्दै आफ्नो फिल्मभन्दा एक दिनअघि रिलिज गर्न लागेपछि ‘उडता चमन’ निर्देशक अभिषेक पाठकले रोष व्यक्त गरेका छन् । पाठकले अन्तिम समयमा आएर यसरी रिलिज मिति सार्नुलाई गैरकानुनी भन्दै ‘बाला’ निर्माताविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । ‘हाम्रो फिल्मको रिलिजभन्दा एक दिनअघि नै एकाएक ‘बाला’ ल्याउनु यो एकदमै गैरकानुनी हर्कत हो,’ पाठकले भनेका छन्, ‘के उनीहरू हामीदेखि तर्सिएका हुन् ? जब कि उनीहरूको फिल्ममा त आयुष्मानजस्ता ठूला कलाकार पनि छन् । यसै पनि रिलिज अगावै उनीहरूको हात हाम्रो भन्दा माथि नै छ । तैपनि उनीहरू दलदलमाथि उभिएको जस्तो अनुभव किन गरिरहेका छन् ?’ मलायालम फिल्म ‘ओन्डु मोत्तेया काते’ को आधिकारिक रिमेक ‘उडता चमन’ को शीर्ष भूमिकामा सनी सिंह अभिनीत छन् ।


‘उडता चमन’ को ट्रेलर सार्वजनिक भएपछि समान कथावस्तु भएकोले झस्किएका ‘बाला’ निर्मातालाई त्यसको ट्रेलर प्रतिक्रियाले तर्साएपछि रातारात रिलिज मिति अघि सारिएको अड्कल काटिएको छ । तर यतिबेला यी दुई फिल्मको रिलिज लडाइँको चपेटामा भने अर्को फिल्म ‘मरजावा’ पनि परेको छ । सिद्धार्थ मल्होत्रा, रितेश देशमुख स्टारर ‘मरजावा’ पहिले मंसिर ६ मा नै रिलिज हुने तय थियो । तर सोही मितिमा ‘बाला’ आउने भएपछि अघि सर्दै कात्तिक ८ लाई निश्चित गर्‍यो । अब फेरि ‘बाला’ पनि सरेर एक दिनअघि नै रिलिज हुने भएपछि ‘मरजावा’ बिलखबन्दमा परेको हो । अन्तत: उक्त फिल्मले सम्भावित भिडन्तलाई टार्दै नयाँ मिति कात्तिक २९ लाई नयाँ मिति तय गरेको छ ।

– एजेन्सी


प्रकाशित : आश्विन २६, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?