मगर समुदायको दसैं

काशीराम डाँगी

(रोल्पा) — दसैं जारी छ । टाढाका आफन्तलाई पूर्णिमासम्म भेटेर दसैंको टीका लगाउनेको आवातजावत गाउँघरतिर चहिरहन्छ । मगर समुदायको बाहुल्य रहेको रोल्पामा भने मिश्रित प्रकृतिको दसैं मनाइन्छ । कतिपय मगर गाउँमा दसैंका बेला जमराका साथमा सेतो टीका लगाउने चलन छ । कतै भने रातो लगाइन्छ । कतै टीका नै लगाइँदैन ।

‘पश्चिमी रोल्पामा कतिपय गाउँमा रातो टीका लगाएर दसैं मनाउँछन् भने कहीं सेतो टीका लगाएको पनि देखिन्छ,’ नेपाल मगर संघका जिल्ला सचिव जोखबहादुर पुन भन्छन् ।


उनका अनुसार मगर समुदायमा टीकाभन्दा पनि चेलीबेटी माइतीमा जाने, नाचगान गर्ने, भेटघाट गर्ने र मीठो खाने कुरा खाने चलन छ । मगर चेलीले माइतीमा पुग्दा र चाडपर्वका बेला जाँदा रक्सी, रोटी, मासुलगायत घरमै तयार पारिएको कोसेली लैजाने गर्छन् । मगर अध्येता खेम बुढाका अनुसार दसैं, तिहारलगायत कतिपय चाडपर्व मनाउने चलन परम्परादेखि नभए पनि परिवारका सदस्य एकै स्थानमा भेला हुने र रमाइलो गर्ने चलन भने छ । ‘टीका मात्रै नलाउने हो । खानपिन, नाचगान र भेटघाट भने गर्ने चलन छ,’ उनले भने ।’


यस्तै मगर समुदायमा नवरात्रका बेला नियमित पूजाआजा गर्ने चलन नभए पनि महाअष्टमीका दिन देवीलाई बलि दिने चलन छ । त्यसैले उनीहरू महाअष्टमीको दिनलाई ‘मार हान्ने दिन’ भनेर चिन्छन् । मगर समुदायमा टाढा रहेका परिवारका सदस्य त्यस दिन घरमा पुग्नैपर्ने हुन्छ । संस्कृतिकर्मी एवं मगर अध्येता बमकुमारी बुढामगरका अनुसार मगर समुदायमा साउने संक्रान्ति, माघे संक्रान्ति, भूम्या पर्व, जेठ पुन्नी (जेठ पूर्णिमा)लगायत पर्व प्रचलित छन् । ‘फागुने पुन्नीमा जौंको बाला, ऋषि पुन्नीमा मकैको घोगा, सरादे पुन्नी (सोह्र श्राद्ध) मा धानको बाला कुलदेउता र पितृलाई चढाइन्छ,’ उनले भनिन्, ‘वैशाखे–जेठ पुन्नीमा मकैको जाँड र मंसिरे पुन्नीमा चामलको जाँड पितृलाई चढाउने चलन छ । नयाँ अन्नको जाँड झाँक्री र पुजारीले कुलदेवता र पितृलाई चढाएपछि मात्रै अरूले खान मिल्छ ।’


चाडपर्वका बेला नाचिने आफ्नै लोकप्रिय नाच पनि छन् । पैसेरु, सारंगे, बजौरे, सिङारु, धोता, जुगी, भूम्यालगायतका नाच मगर समुदायमा प्रचलित छन् । अध्येता बुढाले तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको अवधिमा ती नाचलगायत सिंगो मगर संस्कृतिमाथि नकारात्मक प्रभाव परेको बताइन् । माओवादीले ती नाच नाचेर जनमत तान्ने प्रयास गरे पनि मौलिकता गुमेको उनको तर्क छ । तत्कालीन राज्य र मगर अगुवाले मगर समुदायको सांस्कृतिक र धार्मिक पहिचान गुमाइदिएको आरोप मगर अध्येता एवं पत्रकार खेम बुढाको छ । ‘मगर समुदायलाई चौबाटोमा अड्याइयो,’ उनले भने, ‘त्यसैले धार्मिक र सांस्कृतिक रूपमा मगरहरूबीच एकरूपता र ठोस संस्कृति निर्माण हुनै सकेन ।’


प्रकाशित : आश्विन २६, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?