नेपाली फिल्ममा ओइरिए दर्शक

‘छ माया छपक्कै’ ले तोड्यो ओपनिङ रेकर्ड 
कान्तिपुर संवाददाता

काठमाडौँ — वर्ष २०७६ को सुरुवात नेपाली फिल्मका लागि सुखद हुन सकेन । जेठ ३ मा आएको प्रदीप भट्टराई निर्देशित ‘जात्रैजात्रा’ ले गतिलो व्यापार मात्रै गरेन, प्रतिक्रिया पनि सुखद पायो । तर त्यसपछिका चार महिना नेपाली फिल्मका बक्सअफिसमा खडेरी चल्यो । 

नेपाली फिल्ममा ओइरिए दर्शक

बीचबीचमा आएका ‘दालभात तरकारी’ र ‘घर’ ले भरथेग गर्न त खोजे, तर सकेनन् । असोज ३ मा रिलिज रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले भने आक्रामक सुरुवात गर्‍यो । दयाहाङ राई स्टारर उक्त फिल्मले पहिलो दिन नै १ करोड ४७ लाख रुपैयाँको ग्रस व्यापार गर्न सफल भयो । यतिबेला चौथो सातामा पनि प्रदर्शनरत फिल्मले तीन सातामा देशभरबाट १३ करोड २५ लाख रुपैयाँ बराबरको टिकट बेच्न सफल भएको वितरकको दाबी छ । हिन्दी फिल्म ‘साहो’ र नेपाली फिल्म ‘रातो टीका निधारमा’ रिलिजले पनि ‘कबड्डी कबड्डी कबड्डी’ को व्यापारलाई खासै असर पारेन । फिल्मका निर्देशक गुरुङले ‘कबड्डी’ का यसअघिका सिरिजभन्दा ‘कबड्डी कबड्डी कबड्डी’ लाई दर्शकले बढी हेरेको र रुचाइदिएकोमा प्रशन्नता व्यक्त गरे । उनले फिल्मलाई इमानदार भई राम्रो बनाउने प्रयास गर्दा दर्शकले साथ दिने प्रस्ट भएको बताएका छन् ।


‘छक्का पन्जा’ सिरिजबाट हलमा दर्शकको भीड बढाउन सफल दीपकराज गिरी समूह यसपटक ‘छ माया छपक्कै’ सहित आए । गत शुक्रबारदेखि प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित उक्त फिल्मले यतिबेला रेकर्डतोड ओपनिङ गरेको छ । वितरकका अनुसार, ‘छ माया छपक्कै’ ले रिलिजको पहिलो दिन शुक्रबार देशभरबाट १ करोड ५० लाख रुपैयाँ हाराहारीको ग्रस कलेक्सन गरेको छ । काठमाडौं उपत्यकाबाहिर मात्रै उक्त फिल्मले झन्डै ७७ लाख रुपैयाँको व्यापार गरेको दाबी छ । यसअघि यही समूहका दुई फिल्म ‘छक्का पन्जा २’ ले फूलपातीको बिदामा उपत्यकाबाहिर ७३ लाख रुपैयाँ र ‘छक्का पन्जा ३’ ले बिदारहित पहिलो दिन ५९ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माता तथा अभिनेता दीपकराज गिरीले बताए । बिदा रहित दिनमा रिलिज ‘छ माया छपक्कै’ ले भने दुवै रेकर्डलाई तोडिदिएको छ । ‘छक्का पन्जा ३’ ले १९ करोड ६ लाख रुपैयाँको व्यापार गर्दै लाइफ टाइम ग्रस कलेक्सनको रेकर्ड राखेको छ ।


यसपटक राजनीति र पानी संकटलाई मूल विषयमा राखी बनाएको ‘छ माया छपक्कै’ लाई लिएर निर्माता तथा अभिनेता गिरी व्यापारलाई लिएर केही डराएका रहेछन् । ‘हो, मलाई यसपटक कतै पूरै राजनीतिक फिल्म त बनाइन भन्ने डर थियो,’ डराउनुको कारण प्रस्ट्याउँदै उनले थपे, ‘जति नै राम्रो भए पनि यसअघिका राजनीतिक विषयमा केन्द्रित फिल्मको व्यापारिक इतिहास गतिलो छैन । तर हामीले जोखिम मोलेकै हौं ।’ उक्त जोखिमलाई भने फिल्मको जबरजस्त ओपनिङले खारेज गरिदियो । शुक्रबार फिल्मको बिहानी सो केही सुस्त भए पनि त्यसपछि अधिकांश स्टेसनका हलमा हाउसफुल व्यापार गर्‍यो ।


आइतबारको सरकारी बिदाले पनि ‘छ माया छपक्कै’ को व्यापारलाई सघाउने देखिन्छ । ‘कतिपय फिल्मको एकदमै राम्रो ओपनिङ हुन्छ तर दर्शक प्रतिक्रिया गतिलो हुँदैन । तर हाम्रो फिल्म हेरेर निस्किएका दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका थिए,’ अभिनेता गिरीले भने, ‘अझै पनि सिंगल स्क्रिनका दर्शक चाँडै घट्छन् कि भन्ने डर विद्यमान नै छ । किनभने यसपटक हामीले विषयवस्तुमा बसेर मात्रै हसाएका छौं ।’ उनले फिल्मले १० देखि १२ करोड रुपैयाँको ग्रस कलेक्सन गर्ने अनुमान सुरुवाती व्यापार हेर्दा केही बढ्न सक्ने अनुमान गरे । भने, ‘राजनीतिप्रति वितृष्णा जागेकाले फिल्म हेरेर बढी ताली पिटिरहेका छन् । तर पनि सिंगल स्क्रिनका दर्शकले फिल्म दोहोर्‍याएर हेरे वा मल्टिप्लेक्समा नयाँ दर्शक तानिएको खण्डमा मात्र हलमा दर्शक चाप रहिरहनेछ ।’

प्रकाशित : आश्विन २६, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?