‘कबिर सिंह’ मा छैन विश्वास

कान्तिपुर संवाददाता

काठमाडौँ — झन्डै चार महिनाअघि रिलिज बलिउड फिल्म ‘कबिर सिंह’ ले तहल्का नै मच्चायो । घरेलु बक्सअफिसमा तीन सय करोड भारुभन्दा बढीको व्यापार गरेर व्यावसायिक सफल त बन्यो नै, धेरैभन्दा धेरै दर्शकले यसलाई हेरे । फिल्म हेरिसकेपछि दर्शक दुई भागमा बाँडिए ।

एकथरीले फिल्म अत्यधिक रुचाए भने अर्काथरीले शाहिद कपुर स्टारर फिल्मले नकारात्मकताको बढावा दिएको आरोप लगाउँदै फिल्म र निर्देशकको जमेरै विरोध पनि गरे । फिल्ममा कविर सिंह बनेका शाहिद एक युवतीको प्रेममा एकोहोरो लाग्छन् । युवतीलाई पाउनका लागि अनेकन हर्कत गर्छन् । नपाएपछि लागूऔषधको सहारा लिन्छन् । फिल्ममा शाहिदकै अभिनयलाई जति तारिफ गरियो उति नै विरोध कविर सिंहको हिंस्रक र झगडालु चरित्रलाई लिएर भयो । आरोप, प्रत्यारोप र तारिफले त फिल्मको व्यापारलाई त झन् बढावा दियो । बलिउडका अधिकांश सेलिब्रेटी पनि फिल्मलाई लिएर दुई खेमामा बाँडिए ।

करिना कपुरले सैफअलि खानसँग विवाह गर्नुअघि शाहिदकै प्रेममा थिइन् । दुईको लामो समयको प्रेम असफल भएपछि करिना खानतिर लागिन् भने शाहिदले पनि मीरा राजपूतसँग विवाह गरे । करिनालाई हालै कबिर सिंह र शाहिदको भूमिकाबारेमा प्रतिक्रिया दिन गरिएको आग्रहमा सुरुमा त उनले आफूले फिल्म नहेरेको भनेर पन्छिन खोजिन् । तर फिल्मका बारेमा यति धेरै चर्चा भयो कि, फिल्म नहेर्नेले पनि यसबारेमा पर्याप्त मेसो पाइसकेका छन् । यस्तोमा करिनाले उम्किन पाउने कुरै थिएन । त्यसमाथि पूर्वप्रेमीको विवादित फिल्मबारे बोल्न करै लाग्यो ।

‘मैले फिल्म त हेर्न पाएकी छैन । तर यसले कुनै असर पार्नेवाला छैन किनभने फिल्मले तीन सय करोडभन्दा बढी कमाइसकेको छ । ठीक ढंगले बनेको नहुँदो हो त यतिको सफलता सायद सम्भव थिएन,’ करिनाले भनेकी छन्,‘यदि मेरो व्यक्तिगत कुरा गर्ने हो भने, मलाई कबिर सिंहजस्तो चरित्रप्रति विश्वास छैन । किनभने म व्यक्तिगत रूपमा त्यस्तो खालको छैन ।’

करिनाले आफूलाई बचाउँदै फिल्मबारेको टिप्पणीमा भनेकी छन्, ‘र, अन्त्यमा त यो फिल्म हो भन्ने बुझ्न जरुरी छ । त्यसका लागि कलाकारले दिइएको भूमिका निर्वाह गर्ने हो ।’

प्रकाशित : आश्विन २५, २०७६ ०९:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फ्लास ब्याक : यसरी सुरु भयो टिकटमा मुक्तक

कान्तिपुर संवाददाता

काठमाडौँ — अचेल जताततै टिकटमा साहित्यिक सिर्जना वाचन हुन थालेका छन् । यसको इतिहास भने पोखरासित जोडिन्छ । २०३५ माघ २० गते पोखरास्थित उद्योग वाणिज्य संघको परिसरमा निकै ठूलो घुइँचो थियो । चौरको छेउमा स्टेज बनाइएको थियो र मानिस बडो उत्सुकताका साथ अघिल्तिर लस्करै बसेका थिए ।

ती सबैजना दुई रुपैयाँ तिरेर मुक्तक सुन्न आएका अनुरागी थिए । त्यति बेलाको दुई रुपैयाँ अहिलेको दुई सयभन्दा पनि बढी हो । मुक्तक सुनाउनचाहिँ काठमाडौंदेखि हरिभक्त कटुवाल, रत्नशमशेर थापादेखि पाल्पाबाट भगिरथी श्रेष्ठ, शुभ श्रेष्ठ अनि पूर्वबाट कृष्णभूषण बलसम्मको ठूलो समूह पोखरा आइपुगेको थियो ।
यो ऐतिहासिक घटनासित रमाइलो प्रसंगहरू जोडिएका छन् । म त्यतिबेला पीएन क्याम्पस पढ्थे पोखरामा । अहिलेको सरुभक्त जन्मिसकेकै थिएन, भक्त श्रेष्ठको रूपमा लेख्नुहुन्थ्यो उहाँ । गायक सरोज गोपाल, भक्त श्रेष्ठ, कवि नवराज कार्की, विजय बजिमयलगायत मिलेर तीसको दशकको सुरुवातमै पोखरेली युवा सांस्कृतिक परिवार नामक साहित्यिक संस्था बनाइसकेको रहेछ । मलाई केही थाहा थिएन । एक दिन क्याम्पसमा भक्तले भन्नुभयो, ‘हामीले एउटा संस्था बनाएका थियौं, त्यसै सुस्तायो । अब यसलाई मिलेर नयाँ ज्यान दिऊँ न ।’

संस्था पुनर्गठनको योजना बन्यो । पोखराको मोहरिया टोलस्थित मेरो ठुलीआमाको घरमा दुर्गा बराल दाइको आर्ट स्टुडियो थियो । त्यतिबेला दुर्गा दाइ बात्सायनको छविमा आइसक्नुभएको थिएन । हामी त्यहाँ बरोबर जान्थ्यौं र कला, साहित्य अनि सिर्जनाका कुरा गर्थ्यौं । त्यही स्टुडियोमा पोखरा युवा सांस्कृतिक परिवारको पुनर्गठन भयो, दुर्गा दाइ अध्यक्ष हुनुभयो, म उपाध्यक्ष भएँ । सचिवचाहिँ तीर्थ श्रेष्ठ हुनुभयो । टिममा पहिलेका संस्थापक भक्त श्रेष्ठ, विजय बजिमय, प्रकट पंगेनी ‘शिव’, बद्री विनोद प्रतीकलगायतका साथीहरू पनि रहनुभयो । त्यति बेलासम्म मलाई साहित्यिक संस्था हुन्छ भन्ने थाहै थिएन । संस्थामा चुनिएपछि केही समय त्यत्तिकै बितेर गयो ।

भक्त, तीर्थ, प्रकट र म क्याप्पस सकेपछि हरेक दिनजसो नै विजय बजिमयको घर जान्थ्यौं । दुर्गा दाइको स्टुडियोकै अघिल्तिर थियो बजिमयको घर । त्यहाँ उहाँको आमाले हृवीलचेयरमा वरपर गर्नुपर्ने बजिमयका लागि सानो लाइब्रेरी बनाइदिनुभएको थियो । हामी त्यहीँ लाइब्रेरीमा गएर घन्टौं साहित्यक बहस गर्थ्यौं, पढेका किताबबारे चर्चा गर्थ्यौं । कहिले एउटै शीर्षकमा कविता लेखेर लान्थ्यौं र मिनी कविगोष्ठी गर्थ्यौं । एक दिन बजिमयले कुरैकुरामा भन्नुभयो– ‘बानिरा गिरीहरू रूसमा जानुभएको रहेछ, त्यहाँ त टिकटमा कविता वाचन हुने रहेछ नि ।’ सुनेर हामी पनि छक्क पर्‍यौं । भर्खरै मुक्तकको माहोल बन्दै थियो पोखरामा । अब हामीले पनि संस्थाका तर्फबाट टिकटमा मुक्तक सुनाउने महत्त्वाकांक्षी योजना बनायौं ।

त्यो ख्यालख्यालमै बनेको योजना थियो । अप्रत्याशित । तयारी थाल्यौं । पोखरा उद्योग वाणिज्यको अमृत कक्ष बनिसकेको थिएन । खुला चौरमै कार्यक्रम गर्ने निधो भयो । प्रमुख अतिथिको रूपमा काठमाडौंबाट अग्रज साहित्यकार हरिभक्त कटुवाललाई निम्त्याउने भयौं । अन्तत : कार्यक्रम भएरै छाड्यो । पैसा कति उठेको थियो भन्नेचाहिँ भुलें, तर त्यो कार्यक्रमको मुलुकभर ठूलो चर्चा भयो । काठमाडौंको साहित्यिक वृत्तलाई पनि यो कार्यक्रमले प्रभाव पार्‍यो । तैपनि पोखरा बाहेक लामो समय यस्तो कार्यक्रम अन्त कहीँ हुन सकेन । हामीले भने बर्सेनि गर्न थाल्यौं । दोस्रो संस्करणदेखिका कार्यक्रम डाँफे कला मन्दिरमा हुन थाले । अहिलेसम्म पनि यो कार्यक्रमले निरन्तरता पाउँदै आएको छ ।

कार्यक्रममा सबै अञ्चलको सहभागिता थियो । अलि मियाँ, धर्मराज थापा, केशवराज पिँडाली, बद्री गुरुङ, भीम बजिमय, जैनेन्द्र जीवन, कुलमणि देवकोटा, रामकाजी श्रेष्ठ, मुकुन्दशरण उपाध्याय, सोम बज्राचार्य, गोकर्ण खड्का, कृष्णप्रसाद दाहाल, शिव गौतम, तेजनाथ घिमिरे, भवानी घिमिरे, हेम हमाल, ओमकुमार झा, रगेन्द्र राणा, समरबहादुर बजिमय, विक्रम गुरुङ, विश्वविमोहन श्रेष्ठ, कृष्णराज भण्डारी, कणाद महर्षि, दुर्गा शेरचन, ध्रुवकृष्ण दीप, लक्ष्मण पराजुली, विश्व शाक्य, गगन विरहीलगायतका स्रष्टाहरू उक्त कार्यक्रमको ऐतिहासिक प्रस्तोता थिए ।

त्यतिबेला पोखरा नेपाली साहित्यको एउटा केन्द्रजस्तै भए पनि टिकटमा मुक्तक सुनाउने नारी स्रष्टाचाहिँ म एक्ली थिएँ । मैले पहिलोपटक हरिभक्त कटुवाल दाइलाई त्यही कार्यक्रममा भेटेकी हुँ । हाम्रो साहित्यिक सक्रियता देखेर उहाँ निकै खुसी हुनुभएको थियो । मलाई उहाँले मायाले धाप मार्नुभयो । त्यतिबेला धेरैले उहाँलाई अधिक रक्सी पिउने साहित्यकारका रूपमा लिन्थे, तर पोखरामा भने मैले उहाँलाई निकै भलादमी पाएकी थिएँ । पोखरा बसुन्जेल उहाँले रक्सी पिएको कहीँ कतै देखिनँ ।

प्रकाशित : आश्विन २५, २०७६ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×