१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चित्रकार के कोरिरहेछन् ?

‘पछिल्लो समय नेपाली चित्रकलामा असामाजिक बन्दै गइरहेको जीवनशैलीदेखि विनाश हुँदै गइरहेको सांस्कृतिक सम्पदा, दिनानुदिन बढ्दै गइरहेको महिला हिंसा, तीव्र सहरीकरणजस्ता पक्ष प्रतिविम्बित हुँदै आएका छन् ।
सुशीला तामा‌ङ

काठमाडौँ — सानो छँदा पाटन–मंगलबजारतिर परम्परागत सारी/फरियामा सजिएका महिलाहरू धारा र पँधेरो धाउँदै गरेको दृश्यमा खुब रमाउँथिन् चित्रकार प्रमिला वज्राचार्य । त्यतैतिरको रैथाने चित्रकार वज्राचार्यले त्यो लोभलाग्दो दृश्यलाई पछि आफ्नो चित्रमा उतारिन् ।

चित्रकार के कोरिरहेछन् ?

करिब दुई दशक लामो उनको चित्रकलाको सुरुवात त्यस्तै महिला विषयवस्तु र फिगर आधारित रहेरै भएको थियो । उनका अधिकांश चित्रहरू महिला विषयवस्तुमै केन्द्रित छन् । चित्रकार बज्राचार्य मात्र हैन, अहिले प्राय: चित्रकारहरूका सिर्जना आफ्नै वरपरको प्रकृति, समाज र संस्कृतिमा आधारित बन्दै गइरहेका छन् ।


परम्परागत हुँदै समसामयिक र आधुनिकतातिर मोडिएको नेपाली चित्रकलामा अहिले सामाजिक, सांस्कृतिक, राजनीतिकदेखि आर्थिक र धार्मिकसम्मका विषयहरू हावी छन् । आफूले वरिपरि देखेका र भोगेका पक्षहरू अहिले चित्रमा देख्न पाइन्छ । महिलाकेन्द्रित र ल्यान्डस्केप हुँदै फेरि महिलाकै विषयतिर फर्किएकी बज्राचार्य कोरा कल्पनाभन्दा पनि आफ्नो मनलाई छुने र आफूले प्रत्यक्ष देखिरहेको विषयवस्तु र आकृतिलाई चित्रमा उतार्दा बेग्लै सन्तुष्टि मिल्ने बताउँछिन् । केही समयअघि ठमेलस्थित दलाई ला–आर्ट स्पेसमा उनले महिला फिगरसहित कमलको फूलसँगै सूर्यलाई विम्बात्मक रूपमा प्रयोग गरेर महिलाको संघर्ष र कठिनाइलाई प्रस्तुत गरेकी थिइन् । कलामा समय र परिस्थिति अनुसारका परिवेशलाई फराकिलो बनाउँदै लैजानुपर्ने उनको मत छ ।


हुन त स्रष्टाहरू जहाँ पुग्छन्, जे अवलोकन गर्छन्, त्यसैको प्रभाव आफ्नो सिर्जनामा समेट्छन् । केही समयअघि दलाई ला–आर्ट स्पेसमै चित्रकार विधाता केसीले मुस्ताङको भ्रमणको प्रभाव समेटिएको चित्रकला प्रदर्शनी गरेकी थिइन् । परम्परागत मुस्ताङी घर र भित्ताहरूलाई उनले नोस्टाल्जिक रंगसहित उतारेकी थिइन् । चित्रकार सुन्दर लामाले बौद्धस्थित तारागाउँ म्युजियममा केही अघि गरेको प्रदर्शनीमा जीवनका संघर्ष, कठिनाइ र आशातिर रूपान्तरण भएको भावलाई चित्रण गरेका थिए, जुन चित्रहरू उनकै भोगाइमा आधारित थिए ।


पछिल्लो समय चित्रहरूमा असामाजिक बन्दै गइरहेको जीवनशैलीदेखि, असंगत सामाजिक क्रियाकलाप, विनाश हुँदै गइरहेको सांस्कृतिक सम्पदा, दिनानुदिन बढ्दै गइरहेको महिला हिंसा, तीव्र सहरीकरण जस्ता पक्षहरू चित्रमा प्रतिविम्बित हुँदै आएका छन् । कतिपय चित्रकारहरूले नयाँ पुस्ताले भुल्दै गएको सांस्कृतिक धरोहर र भूकम्पपछि क्षतिग्रस्त सम्पदालाई चित्रमा व्यक्त गरेर तिनको संरक्षणका लागि चित्रबाट नै आवाज उठाइरहेका छन् । चित्रकार विनोद प्रधान, इसान परियार लगायतका चित्रकारहरूले सम्पदा महिमा र संरक्षणको आवाज बलियोसित अभिव्यक्त गर्दै आइरहेका छन् ।


चित्रकार विपिन घिमिरे अधिकांश चित्रहरूमा कहिले राजनीति त कहिले सामाजिक विषयवस्तुहरू पस्किरहन्छन् । चित्रमा लोक र लोकका कुराहरू आउनुपर्ने धारणा उनको छ । ‘कविता पढेर अर्थ बुझिए जस्तै चित्र हेरेर त्यसको भाव खुलाउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘समसामयिकतासँगै फराकिलो विषयतिर गएको चित्रले व्यक्त गर्न खोजेको भाव आफैं बोल्नुपर्छ ।’ चित्रमा नयाँपन र स्वतन्त्र अभिव्यक्ति हुनुपर्छ भन्ने मत राख्ने अर्का चित्रकार जस्मिन राजभण्डारी कला नै समय र परिस्थितिको प्रभावबाट सिर्जित हुने बताउँछिन् । उनका अनुसार फराकिलो विषयले चित्रकलामा पनि नयाँ सिर्जनाका साथ आम मानिसको सामान्य जीवनयापन प्रस्तुत हुने मौका पाउँछ ।


अहिले नेपालमा चित्रकलाहरू विविध विषयमा आधारित भएर विचारप्रधान र स्वतन्त्र अभिव्यक्तितिर उन्मुख भइरहेको कला समीक्षक तथा पाका चित्रकार रमेश खनाल स्विकार्छन् । उनी भन्छन्, ‘सबैले आफ्नो विचारअनुसार भित्रमा भाव पोखिरहेका छन् ।’ उनका अनुसार स्वतन्त्र प्रवृत्ति र चिन्तनबाट सिर्जना भएका सबै चित्रहरूले केही न केही नयाँपन दिइरहेको छ ।


प्रकाशित : आश्विन २५, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?