दैलैमा देही कला
(काँकडभिट्टा) — काँकडभिट्टा विगतमा ‘तस्करीको सहर’ को नामले बदनाम थियो । अहिले त्यो बदनामीलाई देही आर्टले क्रमश: मेट्ने काम मात्रै गरिरहेको छैन, नयाँ पहिचान पनि स्थापित गर्दै छ । नेपाल प्रवेशद्वार पुग्ने जो–कोहीले सहरका भित्ताभित्तामा अनेकौं चित्र देख्न सक्छन् ।
त्यो देही आर्टका कलाकारको मिहिनेत हो । मुलुक छिर्ने यो दैलोलाई देही आर्टले कलामार्फत् कायापलट गरिरहेको छ । ‘काँकडभिट्टालाई कला, साहित्यसँगै नाटकको सहर बनाउने अभियान हो हाम्रो,’ देही आर्टका संस्थापक छितेन शेर्पाले सुनाए, ‘काँकडभिट्टाले अब बदनामी होइन, स्याबासी कमाउँछ ।’
हुन त काँकडभिट्टाका रैथाने छितेन शेर्पाको पेसा चित्र बनाउने थिएन । उनी आईटी क्षेत्रमै दक्ष थिए । कमाइ पनि मनग्गे नै थियो । तर, चित्रकार बन्ने सानैदेखिको हुटहुटीले यिनलाई अरू पेसामा अल्झनै दिएन । आईटी छाडेर चित्र कोर्न थाले । छितेन चित्रकारितामा लहसिन थालेको दशक नाघ्यो । सागर मगर, विष्णु लिम्बू, पिंकी श्रेष्ठ, विनोद राजवंशी, रिना राई, सविन मुखिया, रोशन सुब्बा आदिको दह्रो साथ छ छितेनलाई । अनि नाटक क्षेत्रमा सक्रिय परिवर्तन थिएटर र पढन्ते युवाहरूको समूह रिडर्स झापाको पनि आडभरोसा छ ।
देही कहिल्यै चुप बस्दैन । केही न केही गरिनै रहन्छ । स्थानीय सरकार र सम्बद्ध निकायको बाटो कहिल्यै हेर्दैन । निरन्तर काम मात्रै गरिरहन्छ । ‘निरन्तर यसैगरी काम गरिरहने हो भने देहीको सफलता निकट छ,’ देहीको कलालाई नजिकबाट नियालिरहेका थिएटर कलाकार गणेश बस्नेतले भने, ‘निरन्तरता नै सफलताको कडी हो ।’
खासगरी देही आर्टले यो सीमा सहरको पुरानो परिचयलाई विस्तारै फेर्दै लगेको छ । देहीलाई हौस्याएका छ, रिडर्स झापा र परिवर्तन थिएटरले । कुनै समय यो सुदूरपूर्वी सहरको परिचय ‘तस्करीको सहर’ मात्रै थियो । यो परिचय बदल्ने यत्नमा देही आर्ट कटिबद्ध भएर लागेको छ । ‘समाजको सांस्कृतिक रूपान्तरणमा यस्ता कार्यक्रमहरूको महत्त्व ज्यादै धेरै हुन्छ,’ रिडर्स झापाका सदस्य सागर शिवाकोटीले भने, ‘यस्ता गतिविधिमा राज्यले हौसला दिनुपर्छ, तर सधैं उपेक्षा मात्रै गरेको पाइन्छ ।’ देही आर्टले आफ्नो कलालाई नेपालमा मात्रै सीमित राखेको छैन । भारतमा पनि समय समयमा प्रदर्शनी गर्छ । गत वर्ष दिल्लीमा देहीको कला प्रदर्शनीमा राखिएको थियो । देहीले सबै किसिमका चित्र कोर्छ । टिसर्ट र जुत्ता पेन्टिङमा यसको ख्याति अग्लिँदै गएको छ । नेपालमा मात्रै नभएर भारतको दार्जिलिङ, कालिम्पोङसम्मका तन्नेरी टिसर्ट र जुत्ता, पेन्टका चित्र कोरिमाग्न आउँछन् ।
पूर्वमा देही आर्टजस्ता धेरै कला केन्द्रहरू छन् । तर, देहीको जस्तो सक्रियता कमैको छ । धरान, विराटनगर, मोरङ आदि क्षेत्रका कलाकार मात्रै सक्रिय छन् । धरानका कलाकार प्रणव दत्तले कलाकारिताले मात्रै गुजारा चलाउन गाह्रो पर्नेर् गरेको तीतो पोखे । ‘कलाकार धेरै छौं, चित्र पनि धेरै राम्रा राम्रा बन्छन् तर चित्रको बजार छैन,’ धरानका अग्रज चित्रकार दत्तले भने, ‘चित्र नबिकेपछि बनाएर मात्रै के गर्नु, खान मिल्दैन ।’