कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाली फिल्मको दसैं मोह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फिल्मका निर्माताका लागि दसैं रिलिजको मोह नयाँ हैन । पहिलेका दसैं निर्माता छविराज ओझाको पेवा जस्तै मानिन्थ्यो । उनले बर्सेनि दसैंकै छेको पारेर फिल्म प्रदर्शनमा ल्याउने गर्थे । अझ त्यस समय छविका फिल्ममा रेखा थापा नायिका हुने हुँदा हलमा दर्शकको ओइरो उस्तै लाग्थ्यो । छविको फिल्म दसैंमा आउने भएपछि अरु निर्माताले फिल्म रिलिज गर्ने हिम्मतसमेत गर्दैन थिए ।

नेपाली फिल्मको दसैं मोह

पालो लगाएर फिल्म रिलिज गर्नुपर्ने नियम छँदा पनि छविले आफ्नो फिल्मको निर्माणभन्दा अघि रिलिज मिति निश्चित गर्थे ।

अहिले फिल्म प्रदर्शनमा पहिलेजस्तो पालो प्रणाली छैन । निर्माताले आफ्नो फिल्मलाई जुनसुकै मितिमा रिलिज गर्न पाउँछ । पालो प्रणालीको अन्त्यपछि नियमित फिल्म बनाएर बजार कब्जा गर्ने निर्माताहरू विस्तारै पाखा लागे भने दर्शकलाई आकर्षित गर्न सक्ने ल्याकत भएका फिल्म ब्यानर, सिरिज, निर्माता, निर्देशक वा कलाकारहरू शक्तिमा देखिए । बजार खुला भएपछि अहिले फिल्म प्रदर्शनका लागि उत्तम मानिने दसैंमा भिडन्त चर्किएर जान थालेको छ ।


यस वर्ष भने अप्रत्याशित रूपमा दसैंकै पूर्वसन्ध्या पारेर ठूला ब्यानरका फिल्म रिलिज भएनन् । जब कि गतवर्षको दसैंकै मितिका लागि मरिहत्ते गरेका निर्माताद्वय दीपकराज गिरी र अशोक शर्मा नै यसपटक दसैं छोडेर अघि र पछि लागे । शर्माले ‘रातो टीका निधारमा’ लाई घटस्थापनाअघि नै रिलिज गरे भने गिरीले ‘छ माया छपक्कै’ को रिलिजलाई टीकाको तीन दिनपछि सारे ।


दसैंको खास हप्ता मानिने फूलपातीपछिको बिदा भने विदेशी फिल्मका लागि चिठ्ठाजस्तै पर्‍यो । त्यसो त हिन्दी एक्सन फिल्म ‘वार’ आउने भएकै कारणले पनि नेपाली फिल्म निर्माताहरू हच्किएको बताइन्छ । अभिनेता तथा निर्माता गिरी भन्छन्, ‘ठूला ब्यानरका ठूलो बजेटका फिल्मलाई अब ठूलै संख्यामा हल र स्क्रिन चाहिने भइसक्यो । नत्र लगानी उठाउन कठिन छ । नत्र त हात्ती ल्याएर ढोकाबाट छिराउन खोजेको जस्तो मात्रै हुन्छ ।’


अघिल्लो दसैंमा दीपकराज र अशोकको नै रिलिज मितिलाई लिएर हानाथाप चलेको थियो । दीपकले ‘छक्का पन्जा ३’ र अशोकले ‘जय भोले’ लाई दसैंमा नै लगाउन हललाई दबाब दिनेदेखि आफ्नो पक्षमा माहोल जुटाउन न्वारनदेखिको बल लगाए । ‘छक्का पन्जा ३’ त ब्लकबस्टर्स हिट नै भइदियो । ‘जय भोले’ ले पनि राम्रै पैसा कमायो ।


कतिपयले त जय भोलेले छक्का पन्जा ३ को ओभरफ्लो (हल भरिएपछिको बाँकी दर्शक) खान पाएको समेत टिप्पणी गरे । त्यसैले पनि होला, यसपालि पनि यिनै दुई दसैंलाई लिएर फेरि भिड्न चाहे । तर बीचमा हिन्दी फिल्म वारको प्रवेशले दुईको भिडन्त छिन्नभिन्न पारिदियो ।


हुन त दीपकराजले कुनै बेला भनेका पनि थिए, हामीलाई फिल्म चलाउन दसैं नै पर्खिरहनु पर्दैन । फिल्म राम्रो छ भने जुनसुकै मितिमा रिलिज गरे पनि दर्शकले हेर्छन् नै । दर्शकले हेरेपछि स्वत:हिट हुन्छ । त्यही भएर पनि हो कि यसपालि दीपकराजले दसैं बिदाको खासै लोभ गरेनन् । यसपटक उनले प्रयोग नै गरेर जोखिम मोलिरहेका छन् ।


दसैंको बिदा खाने मोह नेपाली फिल्ममा यति धेरै छ कि आगामी वर्षको दसैं रिलिज अहिलेदेखि ओगट्न सुरु भइसकेको छ । अग्रपंक्तिमा फेरि देखिए, अशोक शर्मा नै । उनले ‘रातो टीका निधारमा’ फिल्मकै अन्त्यमा क्रेडिट लाइनसँगै २०७७ को दसैंमा ‘अल्लारे २’ लिएर आउने घोषणा नै गरिदिए ।


अशोक दसैं नै किन ताकिरहन्छन् त ? उनी यसका फाइदासहित भन्छन्, ‘मुख्यत:छुट्टी हुन्छ । छुट्टीमा सामान्य दिनमा भन्दा व्यवसाय एकदमै फरक पर्छ । त्यसमाथि दसैंमा दर्शकमा फेस्टिभ मुड हुन्छ । खुसियालीको माहोल हुन्छ । अरू बेला एक्लै एक्लै हलमा आउने दर्शक पनि यो बेला परिवारसहित आइरहेको हुन्छ ।’


कथा, पटकथा के हुने ? कलाकार कसलाई राख्ने ? छायांकनमा कहिले गएर सम्पादन कहिले सक्ने ? आदिइत्यादि थुप्रै प्रश्नको हल खोज्नु अगावै फिल्मको रिलिज मिति खोज्न मरिहत्ते चलाउनेमा यति बेला अशोक मात्रै छैनन् । बरु यो पंक्तिमा छड्के २ लिएर निगम श्रेष्ठ र जात्रा फेम निर्देशक प्रदीप भट्टराई पनि सामेल भएका छन् । निगमले राम्रो हाइप पाएर पनि चल्न नसकेको छड्केलाई सिक्वेलमार्फत् पुन:ब्युँताउन खोजेका छन् भने प्रदीपले महजोडी उर्फ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर बनाउने फिल्मलाई दसैंमा नै ल्याउने घोषणा गरिसकेका छन् ।


तर गिरी दसैं भन्दैमा कमजोर फिल्म ल्याउँदैमा नचल्ने टिप्पणी गर्दै थप्छन्, ‘हामी धेरै फिल्मकर्मीमा दसैंले गर्दा फिल्म चलेको भन्ने ठूलो भ्रम छ । तर गलत फिल्म आयो भने फिल्म त फ्लप हुन्छ नै, त्यसले दर्शकको फेस्टिभ मुड पनि समाप्त पार्छ अनि फिल्म हेर्ने संस्कृतिलाई पनि असर पुर्‍याउँछ ।’ उनले यसपालि जोखिम मोलेरै दसैंपछि फिल्म रिलिज गर्न लागेको जिकिर गरे ।

प्रकाशित : आश्विन १७, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?