कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मादीमा डान्स आइडल

कान्तिपुर संवाददाता

कास्की — विभिन्न समुदायको कला संस्कृतिको खोज अनुसन्धान गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजनासाथ मादी गाउँपालिकामा मादी डान्स आइडल सुरु भएको छ । यसका लागि गाउँपालिकाका १२ वडाबाट पहिलो अडिसनबाट एक सय जना प्रतिभा छनोट भएका थिए । आइडलको दोस्रो चरणबाट बुधबार ४० कलाकार छनोट भएका छन् ।

मादीमा डान्स आइडल

कला संस्कृतिको दस्तावेज निर्माण गरी नृत्यलाई पाठ्यक्रम प्रणालीमा विकास गर्नका लागि आदिम कला मञ्च पोखरा सिमलचौरले आइडल गरेको हो । आइडल भदौदेखि गाउँपालिकाका वडावडामा थालिएको थियो । लोप हुन लागेको संस्कृतिको संरक्षणमा साथ मिल्ने आइडलमा सहभागी मादी–१ सिक्लेसका टोकबहादुर गुरुङ सुनाउँछन् ।


गाउँमै हुर्के बढेका २१ वर्षीय गुरुङको कलाकार बन्ने लक्ष्य छ । कलाकार बन्ने रहर त कल्पना सुनारको पनि छ । उनलाई नाच्न रहर सानैदेखिको हो । उनी कहाँ कसरी नाचलाई देखाउने अन्योलमा रहेका बेला आइडलले उनको कला प्रस्फुटनमा सहयोग पुर्‍याउँदा उनी खुसी छिन् । ‘अहिले गाउँदेखि प्रतिस्पर्धा गरेर ४० भित्र पर्न सफल हुँदा धेरै खुसी लागेको छ, सकेसम्म पहिलो हुने सपना छ,’ उनले भनिन् ।


कलाकार बन्ने ठूलो सपना रहेकाले नाच्न रहर लागे पनि बोल्न नसकेर त्यत्तिकै बसेको बेला आइडल भएको मादी–१० की अस्मि गुरुङ बताउँछिन् । ‘सुरुमा लागेको डर अहिले हराएको छ,’ गुरुङ भन्छिन्, ‘आइडलले नृत्य मात्र नभएर बोल्ने शैली, अनुशासन, आत्मबलसमेत दिने रहेछ ।’ यस्तो कार्यक्रम समय–समयमा हुनुपर्ने उनको भनाइ छ ।


नृत्य निर्देशकत्रय कृष्णकुमार गुरुङ, जसु गुरुङ र राजु गुरुङको निर्णयबाट ४० प्रतिभा छनोट भएका हुन् । अब तेस्रो चरणको छनोट मादी गाउँपालिका–१ सिक्लेसमा तिहारलगत्तै हुने निर्देशक लप्सन गुरुङले बताए । त्यसमा २० जना छनोट हुने छन् । त्यसपछि अन्तिम चरणको आइडल पोखराको सभागृहमा हुने छ ।


प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश:१ लाख, ५० हजार र २५ हजार रुपैंया रहेको छ भने, उत्कृष्ट भेषभूषा, प्रोत्साहनलगायतलाई समेत पुरस्कार रहेको बताइएको छ ।

प्रकाशित : आश्विन १७, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?