खाँडी र अल्लोमा नयाँ पुस्ता

सुशीला तामा‌ङ

काठमाडौँ — खाँडीको कपडालाई सम्झिनुपर्दा धेरैको मस्तिष्कमा अहिंसावादी भारतीय नेता महत्मा गान्धीको तस्बिर आउन सक्छ । स्वदेशी उत्पादनलाई उत्प्रेरित गर्ने अभियानअन्तर्गत भारतमा गान्धीले चर्खा आन्दोलन नै चलाएका थिए । नेपालमा पनि त्यसको प्रभाव पर्‍यो, तुलसीमेहर श्रेष्ठलगायतले अभियान नै थाले ।

खाँडी र अल्लोमा नयाँ पुस्ता

मंगलबार राजधानीको लैनचौरस्थित भारतीय दूतावास परिसरमा यिनै चर्खा अभियन्ताहरूको सम्मानमा मोडलहरूले फेसन सो गरे । रोचक के भने, सोमा खाँडी, ढाका, अल्लोजस्ता स्वदेशी कपडाबाट बनेको डिजाइन प्रस्तुत गरिएको थियो ।


फेसन सो हुनुअघि नै भारतीय राजदूत मन्जीवसिंह पुरीले खाँडीको सन्दर्भसँग गान्धी र तुलसी मेहरको योगदान जोडेका थिए । भारतमा गान्धीले स्वदेशी उद्योगलाई माथि उठाउन विदेशी कपडा बहिष्कार गरी खाँडीलाई आत्मसात गरेको उल्लेख गर्दै राजदूत पुरीले ‘गान्धीकै संगतबाट तुलसी मेहरले कपडा बुन्ने सीपसमेत सिकेको’ बताए । त्यति बेला राणाहरूले तुलसी मेहरलाई देश निकाला गरेका थिए । गान्धीबाट प्रभावित भएपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी नामक संस्था नै बनाएर तुलसी मेहर अघि बढे ।


खाँडीका आधुनिक पहिरन लाएर मोडलहरूले क्याटवाक गरिरहेको बेला दर्शकले ताली बजाएर स्वागत गरेका थिए । गान्धीको १ सय ५० औं जयन्तीको अवसरमा खाँडी लगायतका नेपालमै उत्पादित कपडालाई प्रोत्साहन गर्ने उद्देश्यले भारतीय दूतावास र साउथ एसिया फाउन्डेसन गरेको सोको नाम थियो ‘खाँडी नेपाल फेसन सो, जहाँ नेपाली तथा भारतीय डिजाइनहरूले खाँडी, ढाका, अल्लो कपडामा आ–आफ्ना सिर्जना तयार पारेर मोडलमार्फत् प्रस्तुत गरेका थिए । मोडलहरूले ढाका टोपीदेखि खाँडीबाट बनाइएको महिला पुरुषका विभिन्न पहिरन लाएका थिए । ज्वारी कोटको डिजाइनलाई फ्युजन गरिएको पहिरन, लबेदा छोट्याएर बनाइएको दौरा र परिमार्जित सुरुवालजस्ता प्रस्तुतिमा सिर्जनशीलता झल्किन्त्थ्यो ।


त्यस्तै मोडर्न गाउन र वन पिसमा पनि खाँडी र अल्लोजस्ता कपडा प्रयोग गरिएको थियो । भारतीय फेसन डिजाइनर चारु परासरको सिर्जना प्रशंसायोग्य लाग्थ्यो । उनले अल्लो तथा खाँडी कपडाबाट नै विभिन्न प्रविधिले उत्पादन गरिएको सांस्कृतिक पहिरनहरू झल्काउने विभिन्न डिजाइनका लेहेंगा, फुल गाउन, कुर्ता–सुरुवाल, सल, सेरवानी सेट डिजाइन गरेकी थिइन् । त्यस्तै डिजाइनर तारा भुयियानले नयाँ पुस्तालाई नै लक्षित गरेर बनाएकी अल्लो तथा खाँडीका रोमान्टिक, कामुक र सुन्दर देखिने लेहेंगा, खुला गाउन, आधुनिक डिजाइनका सारीहरूलाई दर्शकले प्रशंसा गरे ।


त्यस्तै, समा र मीरा मुजाफर अलिले तयार गरेका खाँडी र अल्लोका साधारण तर आधुनिक डिजाइनलाई पछ्याएका लङ टप्स, मुलायम देखिने टप्स र गाउनहरू, पुरुषले लगाउने साधारण पाइजामा, सुरुवाल, सलका डिजाइन पनि आकर्षक थिए । करिब दुई घण्टाको सोमा झन्डै डेढ दर्जन मोडलहरूले विभिन्न डिजाइनरका सिर्जना पस्केका थिए । भारतीय राजदूत पुरीले चर्खा प्रचारक महागुठीका संस्थापक तुलसीमेहरको स्मरण गर्दै खाँडी, नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको बताउँदै यस्ता खाले कार्यक्रमबाट दुई देशबीच पारस्पारिक सम्बन्ध अझ मजुबत हुने बताए । खाँडीले गान्धीको साधारण र अहिंसावादी नीतिका साथै जीवन दर्शन, आत्मनिर्भरता र दिगो आर्थिक विकासलाई समेत संकेत गर्ने उनले जनाए ।



प्रकाशित : आश्विन १६, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?