कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मुस्कानलाई अमिताभको सन्देश

कान्तिपुर संवाददाता

काठमाडौँ — गत भदौ २० गते एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् । हाल कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको स्वास्थ्यलाभको कामना गर्दै अमिताभले उनलाई ‘हिम्मतवाली बालिका’ का रूपमा चित्रण गरेका छन् ।

मुस्कानलाई अमिताभको सन्देश

अमिताभको भिडियो सन्देशका लागि खातुनको उपचारमा सघाइरहेका उज्ज्वल विक्रम थापाले भूमिका खेलेका हुन् । उनले बुधबार अपराह्न अस्पतालमा मुस्कानलाई सन्देश सुनाइरहेको भिडियो आफ्नो फेसबुकमा अपलोड गरेका छन् ।


भिडियोमा अमिताभले मुस्कानमाथि भएको घटना थापामार्फत् थाए पाएको र त्यसले आफूलाई दु:खी तुल्याएको बताएका छन् । ‘तपाईंलाई जे भयो, त्यो निकै दर्दनाक भयो,’ उनले भिडियोमा भनेका छन्, ‘यस्तो घटना थाहा पाएर निकै दु:ख लाग्यो ।’ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अमिताभले नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने आशासहित अन्य बालबालिका पनि त्यस्तो नहोस् भन्ने कामना गरेका छन् । उनले मुस्कानको नामको समेत प्रशंसा गर्दै हौसला दिएका छन्, ‘तपार्इंको मुहारमा सँधै मुस्कान छाइरहोस् ।’


खातुनलाई तीन साताअघि वीरगन्जमा दुई जना युवाले पानी भनेर झुक्याउँदै एसिड पिलाउने प्रयास गरेका थिए । उनले पिउन नमानेपछि उनीहरूले अनुहारमा छ्यापेका थिए । नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि उनको थप उपचार अहिले कीर्तिपुर अस्पतालमा भइरहेको छ ।


प्रकाशित : आश्विन १६, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?