कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

तारागाउँमा “सुसेलिरहेको मान्छे”

कान्तिपुर संवाददाता

काठमाडौँ — भनिन्छ, स्रष्टाले सिर्जनामा आफ्नै अनुभूति अभिव्यक्त गरिरहेको हुन्छ । चित्रकाहरू सुन्दर लामाले यसै गरेका छन् । राजधानीको बौद्धस्थित तारागाउँ म्युजियममा जारी एकल चित्रकला प्रदर्शनीमा उनले विगत र वर्तमानका अनुभूति मात्र कलामा प्रस्तुत गरेका छैनन्, भविष्यप्रति पनि उनले सकारात्मक र आशावादी दृष्टिकोण दिएका छन् । 

तारागाउँमा “सुसेलिरहेको मान्छे”

उनको यो तेस्रो एकल प्रदर्शनी हो । अघिल्लाभन्दा फरक के छ भने यसपटक उनले प्रतिस्थापन, कवितादेखि पर्फमेन्स आर्टसम्मको माध्यमबाट पनि कला अभिव्यक्ति दिएका छन् । चित्रलाई शब्दमा उतारेका छन्, शब्दलाई चित्रमा । आफ्नै कवितामा आफैंले यति धेरै कला सिर्जना गरेको सम्भवत: नेपाली चित्रकलामा पहिलोपटक हुन सक्छ । चित्रकला प्रदर्शनीको शीर्षक ‘सुसेलिरहेको मान्छे’ बाटै उनले आफ्नो कविता कृतिको नाम जुराएका छन् । ‘आफ्ना अनेक भोगाइ सँगसँगै मानिस भविष्यप्रति आशावादी हुँदै निरन्तर लम्किरहन्छन् नि,’ उनले भने, ‘कला र कविताको माध्यमबाट यही प्रस्तुत गर्न खोजेको हुँ ।’


लामाका चित्रमा अधिकांशत: काग, घोडा र महिला चित्रित छन् । राक्षस, भगवान्, फूलहरू पनि चित्रमा भेटिन्छन् । प्रत्येक महिलालाई उनले प्रकृति र आमाको रूपमा चित्रित गरेका छन् । कागलाई भने जीवनको सन्देशबाहक चराको रुपमा लिएका छन् । प्रकृति, आमा र मान्छेको जीवनमा चराजस्तै स्वतन्त्रता रहनुपर्ने धारणा उनका चित्रहरूमा पाइन्छ । घोडाको प्रयोगमार्फत् उनले मानिसले गर्ने जीवनको यात्रालाई इंगित गरेका छन् । प्राय: कलाकृति संघर्ष, कठिन परिस्थिति र वियोगान्त कथाका पीडा, छट्टपट्टी र त्यसबाट उम्कन गरेका प्रयासहरू भेटिन्छन् । मानिसले अघि बढ्न खोज्दा गर्ने संघर्षका अनिवार्य चरण जस्तै लाग्छ उनका चित्रहरू । राक्षसको मुखौटा, औंलाहरूमा कमलको फूल, मानवको ढाडको आकृति नजिकै उभिएको कागलगायतका चित्रहरू अर्थपूर्ण छन् ।


कागले ल्याएका जस्तै अरूका सन्देश सुनी राम्रो–नराम्रो विश्लेषण गर्दै काम हेरेर जिम्मेवारी निभाउनुपर्छ र घोडामा रूपान्तरणका लागि निरन्तर यात्रा जारी राख्नुपर्छ ।’ सरस्वती, लक्ष्मी, दुर्गाका चित्र, कमल फूल, खुला ढोका, भर्‍याङ, सूर्य, हिमाल, कुकुर चित्रित उनका चित्रहरूमा आशावादी भाव प्रस्ट झल्कन्छ । ‘जीवनको यात्रा हिमालजस्तै अटल हुनुपर्छ,’ उनी भन्छन्, ‘केही आशा मरे पनि सपनाको ढोका खोलेर भर्‍याङमा चढेजस्तै अघि बढ्न सिक्नुपर्छ ।’ उनले कला र कविता दुवैमा जीवनका निराशा/आशा र रूपान्तरणका हरेक पक्षहरू प्रतिविम्बित गरेका छन् । सेन्टर फर नेप्लिज कल्चरले छापेको कविता संग्रह उनले आमा लक्ष्मीमायाबाट लोकार्पण गरिएका थिए । संग्रहमा ७५ वटा कवितामा छन् ।


प्रदर्शनी शुभारम्भकै दिन उनले जीवन र मरणको अर्थ खुलाउँदै ‘बायोजिकल क्लक’ शीर्षकमा गरिएको पर्फमेन्स आर्ट पनि उनले प्रस्तुत गरेका थिए । ढुंगा निर्जीव वस्तु भए तापनि सजीव वस्तुका रूपमा लिँदै कोरसमा उनले प्रस्तुति दिएका हुन् । प्रतिस्थापन कलामा भुइँभरि छरपस्ट छरिरहेको पहेँलो रंगका घोडाहरू थिए । जीवन यात्राकै क्रममा मानिसमा हुने विचलन र छट्टपट्टीलाई देखाइएको उनले बताए । प्रदर्शनी आगामी शुक्रबारसम्म जारी रहने छ ।




प्रकाशित : आश्विन १६, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?