मिस्टर र मिस थारुमा ३२ प्रतिस्पर्धी

कान्तिपुर संवाददाता

(मोरङ) — मिस्टर र मिस थारू आइकन २०१९ को फाइनल राउन्डमा ३२ जना तय भएका छन् । थारू कला केन्द्रले आयोजना गरेको प्रदेश स्तरीय सौन्दर्य प्रतियोगिता मिस्टर थारू आइकनमा ११ र मिस थारू आइकनमा २१ जना अन्तिम प्रतिस्पर्धीको रूपमा छानिएका हुन् । 

थारू कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले थारू समुदायका युवा र युवतीमार्फत् मौलिक कला, संस्कृति, भेषभूषा र भाषाको प्रवर्द्धन गर्न प्रतियोगिताको दोस्रो सिजन सुरु गरेको बताए । सुनसरीको झुम्का, दुहबी, उदयपुरको गाईघाट, झापाको बिर्तामोड र मोरङको विराटनगर र नेताचोकमा भएको अडिसनमा छनोट भएकामध्ये ३२ जना फाइनलमा पुगेको उनले जनाएका हुन् । ‘प्रतियोगीहरूलाई एक महिनाको बन्द प्रशिक्षणमा थारू भाषा, संस्कृति, थारू परिकार, कला, सौन्दर्य, कानुनलगायतका विषयमा विज्ञहरूद्वारा सिकायौं,’ उनले भने ।


विराटनगरको वीरेन्द्रसभा गृहमा हुने अन्तिम प्रतियोगितामा मिस्टर थारू र मिस थारूलाई ५०/५० हजार रुपैयाँ, फस्टरनरअप लाई ३०/३० हजार र सेकेन्ड रनरअपलाई २०/२० हजार रुपैयाँ प्रदान गरिने उनले बताए । प्रतियोगीमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा स्टाफ नर्स पढाउने पनि उनले बताए । मिस्टर र मिस थारूलाई एक हप्ताको दुवै भ्रमण र दुई जना प्रतिस्पर्धीलाई स्वरसंगम संगीतालय विराटनगरमा तीन वर्षको शास्त्रीय संगीत पढ्न छात्रवृत्ति पनि उपलब्ध गराउने उनले खुलाए ।


मिस र मिसेस कोसीका प्रतिभा

मिस र मिसेस कोसीका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । जय मिडिया म्यानेजमेन्टले गरेको मिस कोसीका ७ र मिसेस कोसीका फाइनलमा पुगेका ११ जना प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा देखाएका हुन् ।


पाँचौं संस्करणको मिस र तेस्रो संस्करणको मिसेस कोसीका ट्यालेन्ट राउन्डअन्तर्गत आफ्ना रूचिअनुसारका प्रतिभा देखाएको जय मिडियाका निर्देशक जयराज रायले बताए । प्रतियोगीहरूले नृत्य, गायन, कविता विधामा आ–आफ्ना प्रतिभा देखाएका थिए । प्रतिभा प्रस्तुत गर्नेमध्येका उत्कृष्टलाई मिस र मिसेस ट्यालेन्ट अवार्ड शुक्रबार हुने फाइनलका दिन प्रदान गरिने उनले बताए ।


मिस ट्यालेन्टको निर्णायकहरूमा मेरिल्यान्ड कलेजका निर्देशक भेषराज पोखरेल, नृत्य निर्देशक मनोज राजवंशी, जय मिडियाका निर्देशक राय, मिसेस कोसीको गत वर्षको विजेता सूचना श्रेष्ठलगायत रहेका थिए ।


पाँचौं संस्करणको मिस कोसीको फाइनलमा इटहरीकी ईश्वरी चुङवाङ, धरानकी सुस्मिता मगर, तेह्रथुमकी रेखा कार्की, इनरुवाकी विपना प्रसाईं, बेलबारीकी अनु निरौला, धनकुटाकी झरना बराइली र अनिसा मगर पुगेका छन् । टप टेनमा पुगेका १८ जना प्रतियोगीबाट १० जना फाइनलमा छनोट गरिएको प्रशिक्षक निशा खतिवडाले बताइन् ।


यस्तै, तेस्रो संस्करणको मिसेस कोसीको फाइनलमा धरानकी सविता ढकाल, विपना लिम्बू, दीपा सेञ्चुरी, सुनसरी तरहराकी दीपा लगुन विश्वकर्मा, इटहरीकी अम्बिका कार्की, मोरङ विराटचौककी पूजा सुनवार, केराबारीकी रेनुका लिम्बू, बेलबारीकी पवित्रा रायमाझी, विराटनगरकी वातावरण लामिछाने र सनुरीको झुम्काकी अस्मिता परियार र ईश्वरा निरौला छन् । मिसेस कोसीको विजेताले नगद ५० हजार, चाँदीको क्राउन र विभिन्न गिफ्ट हृयाम्पर प्राप्त गर्ने आयोजकले जनायो ।



प्रकाशित : आश्विन १६, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?