पाँच दशकपछि “मुकुन्द–इन्दिरा”

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली नाटकको इतिहास १५ सय, १६ सय वर्षअघिदेखि नै सुरु भए पनि भारतीय पारसी थिएटरको ठूलो प्रभाव थियो । त्यसलाई चिर्दै रंगमञ्चलाई नेपालीपन दिलाउन बालकृष्ण समको ठुलो भूमिका छ । नाट्य सम्राट मानिने समले लेखेको नाटक ‘मुकुन्द–इन्दिरा’ लाई विसं १९९५ सालमा काठमाडौंको दरबार हाई स्कुलमा मञ्चन गरिएको थियो ।

तत्कालीन समयमा यस नाटकले नेपाली नाटकमा आफ्नै मौलिकता र विशेषता समेत बोकेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी त्यसताक दरबार हाई स्कुलमा नै अष्टम श्रेणीका विद्यार्थी थिए । ‘मुकुन्द–इन्दिरा’ हेर्नेमा उनी पनि एक थिए ।
उनै जोशीले मंगलबार दरबार हाई स्कुलकै नजिकमा रहेको राष्ट्रिय नाचघरको मञ्चमा ‘मुकुन्द–इन्दिरा’ लाई आफ्नै निर्देशनमा देखाए । ‘त्यो बेला पारसी थिएटरको प्रत्यक्ष प्रभावले गर्दा नेपाली नाटक मौलिक थिएनन् । समको यो नाटकले पारसी थिएटरको प्रभावलाई रोक्न ठूलो मद्दत गर्‍यो,’ मंगलबार नाटक मञ्चनभन्दा पहिले निर्देशक जोशीले भने, ‘यस नाटकका संवाद कवितात्मक शैलीमा छ ।’

समले लेखेको नाटकमा जोशीले समकै कविता ‘इच्छा’ र भानुभक्त आचार्यको ‘कान्तिपुरी नगरी’ र लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ कविताको पूर्ण पाठलाई नाट्य भावअनुसार प्रयोग गरेका छन् । पाँच दशकपछि यो नाटक पुन ः मञ्चनमा आएको हो । अन्तिमपटक सम स्वयंको निर्देशनमा विसं २०२१ मा प्रज्ञा प्रतिष्ठानमा ‘मुकुन्द इन्दिरा’ मञ्चन गरिएको थियो ।

उतिबेलाको समाजको कथा उधिनिएको नाटकमा पाटनका साहु रुपनारायणका छोरा मुकुन्द पढाइमा होनाहार हुन्छ । उसको रुपमती र असल स्वभावकी इन्दिरासँग विवाह हुन्छ । विवाहपछि थप अध्ययनका लागि भारतको कोलकाता पुगेको मुकुन्द लामो समयसम्म पनि घर फर्किएर नआएपछि परिवारमा चिन्ता छाउँछ । एक दिन छद्म भेषमा मुकुन्द फर्किएर कोठामा एकान्त बसेकी इन्दिरासामु पुगेपछि पति नचिनेकी इन्दिराले आत्मरक्षाका लागि मुकुन्दमाथि खुकुरी चलाउँछिन् । सेक्सपियरको शैलीबाट प्रभाविता नाटकले पछि भने सुखद अन्त्य लिन्छ ।

एक सय वर्ष पुगिसकेका संस्कृतिविद् जोशीको निर्देशनमा नाटक मञ्चन हुनु दुर्लभ उदाहरण हो । शिल्पी थिएटरको प्रस्तुतिमा मञ्चन गरिएको ‘मुकुन्द–इन्दिरा’ को रिहर्सलमा समेत जोशीको सक्रियता बाक्लो थियो । शिल्पीका घिमिरे युवराज भन्छन्, ‘सय वर्षको उमेरमा रंगमञ्चमा हरेक दिन आएर कलाकारहरूलाई निर्देशन गर्नु नेपालमा मात्रै होइन, संसारकै रंगमञ्चमा नौलो इतिहास हो भन्ने हामीलाई लागेको छ ।’ नाटकलाई राजनीतिज्ञ सुन्दरराज चालिसेको शतवार्षिक जन्मजयन्तीका अवसरमा मञ्चन गरिएको हो ।

समको निर्देशनमा दरबार हाइस्कुलमा पहिलो मंचन भएको बेला उनै चालिसेले ‘मुकुन्द–इन्दिरा’ मा बिमानचाको भूमिकामा अभिनय गरेका थिए । निर्देशक जोशीले चालिसेसँगको सम्बन्ध सम्झँदै भने, ‘म दरबार हाई स्कुलमा अष्टम श्रेणीमा छँदा सुन्दरराज दशम श्रेणीमा पढ्नुहुन्थ्यो । आज उहाँको शतवार्षिकीमा उहाँले नै अभिनय गरेको नाटक मञ्चन गर्नु उपयुक्त लागेर निर्देशन गरेको हुँ ।’

जोशी निर्देशित ‘मुकुन्द–इन्दिरा’ मा बिमानचाको भूमिकामा मानहाङ लावतीले अभिनय गरेका छन् भने मुकुन्द र इन्दिराको भूमिकामा क्रमशः दिवेन कार्की र पवित्रा खड्काले अभिनय गरेका थिए । त्यसबाहेक नाटकमा मातृका घिमिरे, सीता घिमिरे, हेमन तण्डुकार, रविन परियार, सुमित भण्डारी, स्मारिका फुँयाल, मञ्जु श्रेष्ठको अभिनय रहेको छ । जोशीले नाटकलाई काव्यात्मक अभिव्यक्तिकै शैलीमा पस्किएका थिए । नाटकले आठ दशकअघिको नेपाली परिवेशको छनक दिएको थियो ।


प्रकाशित : आश्विन १५, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्

दसैं गीतमा परदेश पीडा

सुशीला तामा‌ङ

काठमाडौँ — दसैं सुरु भइसकेको छ । रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यमहरूमा दसैंमा बज्ने मालश्री धुनले सबैलाई शरद ऋतुको आभास दिलाइरहेको छ । दसैं लक्षित विभिन्न गीत घरघरमा घन्किन थालिसकेका छन् । युट्युबदेखि सामाजिक सञ्जालसम्म पनि दसैंगीतकै चर्चा छ । तर यी सिर्जनाहरू शरद ऋतुमा प्रचलित मालश्रीबाट प्रभावित भने छैनन् । अधिकांश कमर्सियल लोकलयमा आधारित छन् । 

यो वर्ष पनि लोक गायक पशुपति शर्मा, सम्झना भण्डारी, खुमन अधिकारी, पूर्णकला बिसी, टीका प्रसाईं, लोक पौडेल, गायत्री थापा, देवी घर्तीमगर, अर्जुन कुँवर, शान्तिश्री परियार, विष्णु माझी, विष्णु खत्रीलगायतका लोक गायकगायिकाहरूले दसैंगीत दर्शक/श्रोतालाई पस्केका छन् ।

जति नै टाढा भए पनि दसैंमा घर फर्किने र सँगै बसेर रमाइलो गर्ने परम्परा छ । तर धेरैजसो ग्रामीण भेकका तन्नेरी परिवारको सुख र जीविकोपार्जनका लागि प्रवासमा छन्, जसले चाहेर पनि परिवारसँग बसेर दसैं मनाउन पाउँदैनन् । घरमा उमेर ढल्केका बुबाआमा, श्रीमती र छोराछोरीलाई सम्झनामा नै राखेर बस्न उनीहरू बाध्य छन् । लोक तथा समाजको कथालाई प्रतिनिधित्व गर्ने हरेक दसैं गीतहरूमा यस्ता कथाहरू प्रस्तुत हुँदै आइरहेका छन् । हरेक साल बजारमा आउने अधिकांश गीतहरूमा टीका, जमराका साथै परदेशीको दुःख र परिवारको विछोडका पीडा समेटिएका हुन्छन् । दसैं छेको पारेर आएका पछिल्ला गीतहरूमध्ये थुप्रैले यही परम्परालाई पछ्याएको भए पनि केही गीतमा भने नयाँ विषयवस्तु समेटिएको देखिन्छ ।

विष्णु खत्री र विष्णु माझीको स्वर रहेको ‘दसैंमा आउ प्यारा...’, पूर्णकला बिसी, तिलक वलीलगायतका स्वर रहेको ‘मेरी सानु...’, सन्तोष केसी र शर्मिला गरुङको ‘गाउँको खबर...’, गायक केसी र प्रतीक्षा वाग्लेको अर्को गीत ‘दसैं मान्न आउँदै छु घर...’ लयायतका गीतले परदेशी जीवनकै कथा र पीडालाई पोखेका छन् । टीका प्रसाईं, लोक पौडेलको गीत ‘दसैं आयो...’, खुमन अधिकारी र शान्तिश्री परियारको स्वरमा रहेको ‘आफ्नै गाउँ रमाइलो...’, शान्ति श्री र नन्दु परियारको ‘दसैं तिहारमा रातै रमाइलो...’, जस्ता गीतहरूले भने दसैंको रौनक र रमझमको झल्को दिन्छ । त्यस्तै पशुपति शर्माले उनकै शब्द, संगीत तथा स्वरमा ल्याएका दुई गीत ‘कान्छी बुहारी...’ र ‘मामाघर जाम...’ ले पनि नयाँपन पस्केको छ ।

सम्झना भण्डारीको समेत स्वर रहेको ‘कान्छी बुहारी...’ मा छोराले आमालाई दसैंको कोसेलीको रूपमा बुहारी ल्याइदिएका छन् । प्रेम विवाहबारे चर्चा गरिएको गीतमा लाखौं खर्च गरेर विवाह गर्नुभन्दा केटाकेटी दुई जनाबीच मन मिल्छ भने सुटुक्क लगनगाँठोमा कस्दा हुन्छ भन्ने सन्देश पनि समेटिएको छ । ‘आर्थिक रूपमा खर्चिलो पनि भएन, आमालाई दसैंको कोसेली पनि भयो,’ गायक शर्माले भने, ‘प्रेम छ भने कि लुकाउनु ?’ । नौलो प्रस्तुतिकै रूपमा उनले अर्को दसैं गीत ‘मामाघर जाम...’ मा दशमीको टीकामा ठूलाबडाको आशीर्वाद भन्दा दक्षिणालाई प्राथमिकतामा राख्ने प्रवृत्तिमाथि व्यंग्य कस्दै ठूलाको आशिषमा नै टीकाको महत्त्व लुकेको खुलाएका छन् । गीतमा टीका पुनले पनि स्वर दिएकी छन् । दसैंमा दक्षिणाकै लागि टीका लगाउने विकृति बढेपछि गीतमा समेटिएको शर्माले बताए ।

दसैंमा प्रायःजसो एकै किसिमका गीत चलिरहेको अवस्थामा आफ्ना दुवै गीतमा नयाँपन भेटिने शर्माको दाबी छ । ‘सिर्जनामा नयाँपन त हुनै पर्छ,’ उनको मत छ, ‘अहिले परदेशीको कथा र रुवाइलाई मात्रै समेटेर गीतहरू आइरहेका छन् । यस्तोमा कुन गीत कसको भनेर छुट्याउनै गार्‍हो भइरहेको अवस्था छ ।’ केही फरकपन र परिवर्तनका हिसाबले पनि दसैंमा गरिने रमाइलो र दसैंका विविध पक्षलाई पनि समेटेर गीतहरू आउनुपर्ने उनी सुझाउँछन् । उनकै विचारमा सही थप्दै लोक गायिका भण्डारीले पनि रमाइलो र केही सन्देश दिने गीतहरू आउनुपर्ने बताउँछिन् ।

अझै पनि अधिकांश नेपालीहरू परदेशमा नै रहेकोले दसैंमा त्यस्तै कथा व्यथा समेटिएको गीतहरू आउने लोक गायिका पूर्णकला बिसी तर्क गर्छिन् । उनका अनुसार दसैं गीत रचना गर्ने प्रायः सर्जक पनि प्रवासकै हुन्छन् अचेल । ‘सबैले आ–आफ्नै अनुभूति भन्ने हुन्,’ उनले भने, ‘अहिले देसै रेमिट्यान्सले चलिरहेको बेला परदेशको कथा गीतमा आउनु स्वाभाविकै छ ।’ अर्का गायक तिलक वलीका अनुसार दसैंमा सबै परदेशीहरू घर आउन पाउँदैनन् । समाजमा रहेको वास्तविकता टिप्दा नै श्रोता/दर्शकप्रति न्याय हुने उनको तर्क छ । दसैं गीत उस्तै लागे पनि सबैको आफ्नै
कथा र सिर्जन गर्ने शैली फरक रहेको उनी बताउँछन् ।

प्रकाशित : आश्विन १५, २०७६ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्