१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मिसेलका आँखामा नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्रान्सका फोटोग्राफर मिसेल मेले विगत १५ वर्षदेखि नेपालबारे खिचेका फोटोहरूको प्रदर्शनी यतिबेला पाटन संग्रहालयको ग्यालरीमा जारी छ । शुक्रबारदेखि चलेको प्रदर्शनीमा हिमाल, पहाड, तराईदेखि उपत्यकाका दरबार संग्रहालयसम्मका फोटो छन् ।

मिसेलका आँखामा नेपाल

मिसेल मेले १५ वर्षको अवधिमा विभिन्न हिमाल चढेसँगै उनले स्थानीयसँग आत्मीयता साट्दै खिचेका फोटो योङ पिकासो फाइन आर्ट स्कुलले प्रदर्शनमा ल्याएको हो । उनले मनाङ, मुस्ताङदेखि हेलम्बुसम्म र राजधानीमा बाहुल्य नेवारहरूको दैनिकीलाई समेत फोटोमा उतारेका छन् । उपत्यकाका साँघुरा गल्ली, साधुसन्तको जीवनी, मन्दिरका पेटीमा बसेर गफिँदै गरेका दृश्य, तामाङ बालबालिका र तिब्बती लामा, साइकलमा फलफूल बेच्नेदेखि तामाङ रिक्सा चालकसम्मको फोटो प्रदर्शनीमा देख्न सकिन्छ । महाभारत पर्वत शृंखलाको तामाङ जनजीवनसँगै काभ्रेको तेमाल क्षेत्रको दैनिकी पनि प्रदर्शनीले समेटेको छ ।


हिमाल चढ्ने उद्देश्य लिएर २०६२ मा नेपाल आएका मेलाई नेपालको मनमोहक दृश्यले छोडेनन् । फ्रान्सका विभिन्न हिमाल चढेका मे नेपाल आएर पनि विभिन्न हिमाल चढे । नेपालका संस्कृति, अग्ला–होचा शिखर, पर्वत, नदीनाला, वनजंगल देखेर उनी मोहित भए । एक सय ८ फोटो प्रदर्शनीमा राखिएको छ । मेले प्रदर्शनीमा राख्य योग्य ३० हजारभन्दा बढी फोटा खिचेको बताए । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विश्व पर्यटन दिवसका अवसरमा फोटो प्रदर्शनमा राखिएको उनले बताए ।


उनलाई उपत्यकामा सबैभन्दा राम्रो ठाउँ पाटन संग्रहालय लाग्दो रहेछ । त्यसैले पनि पाटन संग्रहालयमा नै फोटो प्रदर्शनी गर्न पाउँदा दङ्ग छन्, उनी । ‘मैले नेपालको पर्यटन बोर्डद्वारा संकलित अधिकांश तस्बिर हेरेको छु, राम्रा छन्,’ फ्रेन्च फोटोग्राफर मेले भने, ‘तर, मैले खिचेका केही तस्बिर यस्ता छन् जो अहिलेसम्म कसैका क्यामेरामा कैद भएका छैनन् र पर्यटन बोर्डमा पनि छैनन् ।’


नेपालमा प्रदर्शन गरेपश्चात् क्रमिक रूपमा ग्रिस र फ्रान्समा पनि फोटो प्रदर्शन गर्ने उनको योजना छ । प्रदर्शनीमा ‘फिप्टिन इयर्स इन नेपाल’ शीर्षकमा ६७ वर्षीय फ्रान्सेली फोटो पत्रकार मिसेल मेले सन् २००५

देखि २०१९ सम्म नेपालका हिमाल, पहाड र तराईमा पुगेर ती फोटा खिचेका हुन् ।


प्रकाशित : आश्विन १५, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?