कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

“काँडामा हाँसेको जिन्दगी”

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली गीत र कवितामा कालीप्रसाद रिजालको भिन्न नाम छ । थुप्रै कालजयी गीतका यी स्रष्टाका कविता पनि उत्तिकै दमदार छन् । यिनै पाका स्रष्टा संस्मरणात्मक कृतिसहित आएका छन् । उनको ‘काँडामा हाँसेको जिन्दगी’ जीवनीकथालाई नेपालयले आफ्नो नियमित सांगीतिक शृंखला ‘पलेंटी’ मा सार्वजनिक गर्‍यो ।

“काँडामा हाँसेको जिन्दगी”

लामो समय कालीप्रसाद सरकारी सेवामा रहे । विराटनगरमा जन्मेका ७९ वर्षीय रिजालले कृतिमा उसबेलाको विकट नेपालदेखि आफ्नो व्यक्तिगत जीवनयात्रासम्मलाई समेटेका छन् । पलेंटीको दोस्रो दिन रिजालले रचना गरेका आठवटा गीत प्रस्तुत थिए भने उनले भोगेको त्यही समय र उनको गीति तथा कविता यात्राको चर्चा गरिएको थियो । रिजालको शब्दमा नारायण गोपालले गाएको ‘केही मीठो बात गर...’ बाट सुरु भएको कार्यक्रममा नारायणगोपालको गीत सुनेर हुर्केकी गायिका मीना निरौलाले गाएकी थिइन् । यसपछि नारायणगोपालकै स्वर रहेको ‘यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी...’ लाई योगेन्द्र उपाध्यायले सुनाएका थिए ।


‘म सूचना विभागमा हुँदा, नारायणगोपालसँग नियमित भेटघाट हुन्थ्यो,’ रिजालले पुरानो समयको अनुभूति सुनाए, ‘गीतका स्थायी, अन्तरा र भावजस्ता सन्दर्भमा छलफल गथ्यौं हामी ।’ उनले एकै दिन ‘आँखा छोपी नरोऊ भनी’ र ‘झरेको पातझैं भयो’ दुई गीत लेख्दाको अनभूति पनि सुनाए । पलेंटीमा यी गीत भने मीनाले नै गाइन् । दोस्रो चरणमा कविता वाचन गरियो । कालीप्रसादले आफू सरकारी ओहोदामा हुँदा नेपालको पश्चिमी बादीबस्तीमा पुगेको कारुणिक सस्मरणसँगै ‘हामरी बिटियाको नत्था तोडिदिनुहोस्’ सुनाउँदा माहोल भावुक बन्यो । देह व्यापारको विवश दृश्य अंकित उनको कविताले दर्शकका आँखा रसाइरहेका देखिन्थे ।


कवितापछि कृति ‘काँडामा हाँसेको जिन्दगी’ र उनको काव्यिक व्यक्तित्वमाथि रजनी ढकालले समीक्षात्मक टिप्पणी गरिन् । ‘यो पुस्तक पढेपछि सफलता प्राप्त गर्न मान्छेले कसरी संघर्ष गर्दो रहेछ भन्ने पाटो खुल्छ,’ उनले भनिन्, ‘संघर्षबाट उचाइमा पुगेको व्यक्तिको कथाबाहेक त्यसबेलाको परिवार र समाज बुझ्न पनि कृति लाभकारी छ ।’ कृति भने रिजालले आफ्नी नातिनी अपूर्वालाई उपहार दिएर सार्वजनिक गरेका थिए । उनले नातिनीमार्फत् नयाँ पुस्तामा आफ्नो कथा पुगोस् भन्ने ध्येयले यसो गरिएको बताए । पुस्तक नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको हो ।


अंग्रेजी महिनाको अन्तिम हप्ता हुँदै आएको पलेंटीमा आइतबार भने कवि मञ्जुलका गीतहरू प्रस्तुति साथै उनको गीति–यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरियो ।


प्रकाशित : आश्विन १४, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?