तिलोत्तमाको आफ्नै नगर गान

अमृता अनमोल

(बुटवल) — मुलुकमा पहिलो पटक तिलोत्तमाले आफ्नै नगर गान बनाएको छ ।

यो माटो छुँदा गर्व होस्
समृद्धिको सधैं पर्व होस्
हाम्रै सत्कर्मले बन्छ स्वर्ग यो तिलोत्तमा
स्वच्छ सफा हराभरा नगर तिलोत्तमा


तिलोत्तमा नगरपालिकाले बिहीबार लगानी सम्मेलन आयोजना गर्‍यो । सम्मेलनको सुरुवातमा राष्ट्रगान बज्यो । सबै उठे । राष्ट्रगान सकिएपछि बस्न लागेका सहभागीलाई कार्यक्रम सञ्चालकले एकछिन उभिराख्न भनिन् । ‘मुलुकमा पहिलो पटक तिलोत्तमाले आफ्नै नगर गान बनाएको छ,’ उनले उभाइरहनुको कारण खुलाइन्, ‘अहिले नै सार्वजनिक गर्न चाहन्छौं ।’ त्यसपछि स्थानीय सर्जकले तयार गरेको गीत बज्यो । नगर गान सुनेर सभाहलमा उपस्थित दंग परे ।

नगरपालिकाले आफ्नो नगरप्रति प्रेम र सद्भाव बढाउन नगर गीत तयार गरेको हो । यसलाई नगरभित्रका हरेक सार्वजनिक कार्यक्रममा राष्ट्रगानपछि बजाउने योजना छ । नगरप्रमुख वासुदेव घिमिरेले नगर गानका माध्यमबाट राष्ट्रियता र नगरको पहिचान झल्किने बताए । ‘नयाँ पुस्तामा जन्मभूमिप्रतिको अपनत्व र राष्ट्रिय भाव हराउँदै गएको छ,’ उनले भने, ‘नगर गानले यस्तो रिक्तता भर्ने विश्वास छ ।’

तिनाउ र रोहिणी नदीको बीच भागमा रहेको सुन्दर नगर हो, तिलोत्तमा । प्रदेश मुकाम बुटवल, बेलहिया नाका भएको सिद्धार्थनगरको मध्यभागमा रहेको नगर बुद्धजन्मस्थल लुम्बिनी र मावली देवदह जोड्ने नगर पनि हो । यसले विकास र समृद्धिका थुप्रै सम्भावना बोकेको छ । नगर गान ६० शब्दको छ । यति थोरै शब्दमा पनि नगरपालिकाभित्र रहेका प्राकृतिक सुन्दरता र सम्भावनालाई प्रस्ट्याइएका छन् । वर्तमानको अवस्था र भावी सम्भावनासमेत बताइएको छ । गीत सुन्नेलाई पनि नगरपालिका जाऊँ जाऊँ लाग्ने छ । लगानी सम्मेलनमा आएका अग्रज पत्रकार तथा लेखक नारायण वाग्लेले फेसबुकमै नगर गान सेयर गरेर प्रशंसा गरे । उनीलगायत धेरै साहित्यकारले गीत सेयर गरेर स्थानीय तहलाई चिनाउने माध्यम भएको बताए । नगर गान सुनेपछि विराटनगरबाट लगानी सम्मेलनमा सहभागी हुन आएकी मोनिका खतिवडाले नगर गीतले धेरै भावुक बनाएको बताइन् ।


सोह्र छत्तीस ऊर्वर भूमि बुद्ध डुल्ने ग्राम
प्रकृतिका उपवन मन्दिर, गुम्बा, धाम
उद्योग, व्यापार, पर्यटन गरी उन्नत खेती
लगानीका क्षेत्र धेरै बढ्दो समुन्नति


खतिवडाले भनिन्, ‘यी पंक्ति मलाई असाध्यै मन पर्‍यो ।’ नगर गानको रचयिता तेजप्रसाद पाण्डेय हुन् । संगीत सुरेश सेञ्चुरीले भरेका हुन् । त्यसमा सुजता पाण्डे, सुरेश सेञ्चुरी र भानुभक्त ढकालले स्वर दिएका छन् । भानुभक्तबाहेक तीन जना तिलोत्तमा नगरकै बासिन्दा हुन् । नेपाल आइडल पहिलो सिजनमा उत्कृष्ट पाँचमा पर्न सफल हुन्, सुजता । सेञ्चुरीले बागेश्वरी संगीतालयबाट धेरै सफल कलाकार उत्पादन गरेका छन् । पाण्डेय यस क्षेत्रका स्थापित गीतकार मानिन्छन् । ‘व्यवस्था फेरियो तर नागरिकको अवस्था र संस्कार फेरिएको छैन,’ गीतकार पाण्डेयले भने, ‘नागरिकको अवस्था र संस्कार बदल्न उत्प्रेरणा होस् भन्ने सोचका साथ गीत रचेको हुँ ।’

पाण्डेलाई गीत रच्न करिब ५ दिन लाग्यो । ‘हामी आफ्नो पहिचान होस् तर पहिचान खोज्दा राष्ट्रियता नमरोस् भन्ने चाहन्छौं,’ उनले भने, ‘नगर गानमा त्यसलाई ख्याल गरेको छु ।’ गीतको अन्तिम हरफमा एकता र मिहिनेतका कुरा गरेर युवाहरूलाई सहकार्यमा काम गर्ने भावनाको विकास गर्न खोजेको उनले बताए ।

भाषा, धर्म, भेष अनेक सनातन रीति
हिमाल, पहाड, तराईका थरीथरी जाति
स्वाभिमानी छाती हाम्रो जाँगर पाखुरीमा
जीवनधारा चलाउँछन् रोहिणी तिलोत्तमा
जय होस् तिलोत्तमा...।

स्थानीय तहले छुट्टाछुट्टै गान बनाउने या नबनाउने यो छुट्टै बहसको विषय हुन सक्छ । संस्कृतिविज्ञ डा. गितुराज गिरीले नगरको पहिचान, विकास र समृद्धिका लागि नगर गानले धेरैमा सकारात्मक भाव पैदा गर्ने बताए ।

प्रकाशित : आश्विन १०, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?