टेक्सचर विधिमा अमूर्त कला

सुशीला तामा‌ङ

(काठमाडौं) — घरको माथिल्लो तलामा रहेको कोठामा पुग्नेबित्तिकै भित्ताभरि अरुपण अर्थात् रूप नभएका थुप्रै टेक्सचर विधि (खस्रो सतह) प्रयोग गरेर बनाइएका अमूर्त कलाहरू छन्  । विभिन्न रंगहरूको संयोजन गरी तयार पारिएका कतै पहाड, कतै बादल, कतै चरा उडेजस्तो देखिने चित्रहरू मनमोहक देखिन्छन्  ।

नेपालमा किरण मानन्धर, मुकेश श्रेष्ठ, शंकरराज सुवालजस्ता चित्रकारहरूले टेक्सचर विधि प्रयोग गरी बनाएका चित्रहरू फाट्टफुट्ट कहीँकतै देखिए पनि यसै विधिलाई मात्र अनुसरण गर्दै गरिएका एकल चित्रकला प्रदर्शनी भने विरलै छन् । चित्रकार एवं कला समीक्षक रमेश खनालले भने सबै अमूर्त चित्रहरूमा टेक्सचर विधि नै अपनाएर एकल प्रदर्शनी गरेका छन् ।

विभिन्न टेक्सचरहरू प्रयोग गरी बनाएका खनालका २८ वटा चित्रहरू भाद्र २८ गतेदेखि लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । झन्डै पाँच दशक चित्रकलामा नै आफ्नो समय बिताइसकेका खनालले सबै चित्रहरूमा टेक्सचरलाई प्रयोग गरिएको एकल प्रदर्शनी सम्भवतः पहिलो नै रहेको दाबी गर्छन् ।

करिब दुई वर्षअघि अमेरिका जाँदा खनालले त्यहाँ यस विधिलाई प्रयोग गरी आयोजित पाँच/छ दिनको कार्यशालाबाट प्रभावित भएर नै आफ्नो सिर्जनाहरूमा टेक्सचर विधिलाई पनि सँगसँगै लिएर जान थालेको बताउँछन् । उनका अनुसार चित्रकलालाई गुणात्मक र सौन्दर्य प्रदान गर्न आधुनिक समयमा प्रयोगमा आएको यो नौलो विधि हो । जसमा चित्रकलाको भुइँ (सतह) खस्रो वा चिल्लो बनाई सुन्दर बनाइन्छ । यस्ता चित्रहरूले अवलोकन कर्ताहरूलाई मोहित पार्न सक्छ । खनालले अमूर्त कलामा बालुवा, फेबिकल लगायतका वस्तुहरू प्रयोग गरी विभिन्न आकार र रंगमा आकर्षक देखिने गरी टेक्सचर विधिमा ढालेका छन् । प्रायः सुनौला रंगहरू प्रयोग गरिएका चित्रहरूमा राउन्ड, स्ट्राइबजस्ता टेक्सचरहरू छन् ।

चित्रहरूमा खनालले नीलो, सेतो, खैरो, पहेँलो, कालो, रातो रंगहरूलाई पनि सन्तुलित ढंगले प्रयोगमा ल्याएका छन् । चित्रकलाको सतहमा होस् या चित्रमाथि नै टाँसिएका टेक्सचर विधिका चित्रहरू निकै नै आकर्षक छन् । स्वतन्त्र अभिव्यक्ति, रंगको सन्तुलन, सौन्दर्यगत हिसाबले अमूर्त चित्रकलाको आफ्नै महिमा र अस्तित्व छ ।

अमूर्त चित्रको महत्त्व दर्साउँदै उनी भन्छन्, ‘चित्रलाई सिंगारयुक्त बनाई सौन्दर्य दिन र हेर्नेहरूलाई मनोवैज्ञानिक रूपमा नै सकारात्मक भाव पैदा गर्न टेक्सचर विधि अत्यन्तै आवश्यक छ ।’ अमूर्त कलासँगै यस किसिमको प्रयोगले चित्रकलाको क्षेत्रमा चित्रकारको स्तरसमेत निर्धारण हुने भएकोले यसै विधामा केही नयाँ गर्ने सोच बनाएका सबै चित्रकारहरूलाई यस विधि उपयोगी हुने उनको मत छ ।

चित्रमा प्रयोग भएको सुनौला रंगलाई खुसी र प्रफुल्ल मुद्राका रूपमा विम्ब बनाउँदै अनेक रंगहरूसँग आफूलाई तुलना गरेर चित्रमा रोमान्टिक मुडलाई उनले प्रस्तुत गरे पनि यस्ता खाले चित्रमा सबैको आ–आफ्नो अवधारणाहरू रहने खनालको धारणा छ । ‘चित्र हेरेर मलाई लागेको विचार अरूलाई नलाग्न सक्छ,’ उनी भन्छन्, ‘यसमा कुनै देखिने यथार्थपरक वस्तुको दृश्य छैनन् ।’

अमूर्त चित्र अवलोकन गरेको आधारमा नै सबैले आफ्नै अभिव्यक्ति दिन सक्छन् । यसबाट चित्रकला बनाउने व्यक्तिको अलवा हेर्नेलाई पनि चित्रबारे अर्थ्याउँदै जाँदा मानसिक अभ्यास हुन्छ । भावनात्मक रूपमा नै कुनै वस्तुप्रति प्रत्येक व्यक्तिको छुट्टाछुट्टै धारणाहरू निर्माण गरी चित्रमा स्वच्छन्दतावादी शैली, सकारात्मक भावको विकासका लागि पनि यथार्तवादी चित्रभन्दा अमूर्त चित्रकला सिर्जनामा जोड दिनुपर्ने विचार खनाल व्यक्त गर्छन् । उनको ३४ औं एकल प्रदर्शनी आगामी असोज २८ गतेसम्म जारी रहने छ ।

प्रकाशित : आश्विन ९, २०७६ ०८:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मिथिला कलामा समसामयिकता

सुशीला तामा‌ङ

काठमाडौँ — मिथिला चित्र भन्नेबित्तिकै रामारायण, महाभारतजस्ता धार्मिक प्रसंगका पक्षहरूको सचित्र वर्णनको झल्को दिन्छ । तर अहिलेका मिथिला चित्रहरूमा भने विषयगत दायरा बढ्दै जान थालेको छ । विषयसँगै भौगोलिक पक्षलाई मैथली र मिथिला समाजभन्दा टाढाका कुरा पनि चित्रमा समावेश भइरहेका छन् । अहिले मुलुकभरि नै बढ्दै गइरहेका बलात्कार, दाइजो प्रथा, छोराछोरीबीचको भेदभाव, आत्मनिर्भर बन्दै गइरहेका महिलाका विषयदेखि कसरी मानिसले आधुनिकताको लोभमा प्रकृतिलाई विनाशतिर धकेलिरहेका छन् भन्ने विविध पक्ष मिथिला चित्रमा देख्न थालिएको छ ।


मिथिला कलाकै अग्रज चित्रकार एससी सुमनले चित्रहरूमा अव्यवस्थित र घना बन्दै गइरहेको काठमाडौं उपत्यकाको अवस्था, प्रकृतिमाथि मान्छेको हस्तक्षेपलाई विषय बनाई मिथिला चित्र बनाउँदै आएका छन् । मिथिला कलाकै शैलीमा उनले पहिलेको र अहिलेको कीर्तिपुर, पाशुपत क्षेत्रलाई चित्रमा व्यक्त गर्दै सावधानी हुन संकेत दिइरहेका छन् । मिथिलाकै चित्रकार भए पनि काठमाडौंमा भइरहेको सम्पदामाथिको हाबी, वन अतिक्रमणले उनको मनलाई छोएको बताउँछन् ।

‘काठमाडौंमा मेरो बसाइ धेरै नभए पनि बाल्यकालदेखि नै बेला बखतमा आइरहने भएकाले यहाँको परिवर्तन देखिरहेको छु,’ सुमन भन्छन्, ‘घना जंगलबाट कंक्रिट सहर बन्दै गएको कीर्तिपुर क्षेत्र, रूखविहीन अवस्थामा पुगेको पाशुपत क्षेत्रले मनमा पीडा हुन्छ । त्यसलाई चित्रमा उतार्ने कोसिस गर्दै छु ।’ रूखलाई नै विम्ब बनाएर प्रतीकात्मक रूपमा प्रकृतिको प्रेम प्रस्तुत गर्ने सुमनका अनुसार मिथिला कलाले परम्पराका धार्मिक कुराहरूभन्दा अहिले समसामयिक कुरालाई बढी उठान गरिरहेका छन् । ‘देशका सबै महिलालाई प्रतिनिधित्व हुने गरी मिथिला कलामा अहिले उठाइएका महिलाका विषय गम्भीर छन् । जसले महिला चेतना र सशक्तीकरणलाई जोड दिइरहेको छ ।’समयको माग अनुसार मिथिला कलाले विषयवस्तुहरू परिवर्तन र फराकिलो गर्दै लगेको मिथिला कलाकारहरू स्विकार्छन् । ४० को दशकदेखि यस कलामा व्यावसायिक रूपमा नै लागिरहेकी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान प्राज्ञ तथा लोककला विभाग प्रमुख मिथिलादेवी यादवले ६० को दशकपछि नै महिला हिंसाका विषयमा चित्र कोर्न थालको बताउँछिन् । घुम्टोभित्र रहेकी महिलाले एकैचोटि समाजको विकृतिबारे चित्रमा उतार्न त्यति सहज नभएको उनको अनुभव छ । सामाजिक विकृतिकै रूपमा हिंसा, दाइजो प्रथा, छोरीको भ्रूण हत्याजस्ता पक्षले तराईमा विकराल रूप लिँदै गइरहेको छ । कलामा यी सबै कुरा आए भने केही त कम होला कि भन्ने आशाले नै यादवले यसलाई चित्रमा व्यक्त गरिरहेको बताइन् ।

‘सबै महिलामा चेतना आएको थिएन र कलामा पनि यस्ता कुराहरू अटाएका थिएनन् । कसैले केही भन्ला कि भन्ने समाजको डर मानेर नै चित्र बनाएकी थिएँ,’ यादवले सुरुवाती दिनहरू सम्झन्छिन् । त्यसपछि भने उनले महिला बलात्कार, छुवाछुत, दाइजो प्रथा, बोक्सीका नाममा महिलामाथि हुने हिंसालाई मिथिला चित्रहरूमा देखाउन थालेकी हुन् । हालसालै मात्र संविधान दिवसका अवसरमा नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको सामूहिक पाँचदिने चित्रकला प्रदर्शनीमा पनि उनले बुद्धको जीवनीलाई मिथिला चित्रमा नै प्रस्तुत गरेकी थिइन् । यसैबाट पनि धार्मिक पक्षमा पनि मिथिला कलाले दायरा फराकिलो पार्न जमर्को गरिरहेको प्रस्ट हुन्छ । मिथिलाका महिलाहरू चित्रकलाबाट नै आर्थिक रूपमा सबल, चेतनशील, स्वरोजगार हुन थालेपछि मनमा लागेका विषयमा चित्र बनाउन थालेको चित्रकार सुमन उल्लेख गर्छन् । ‘मिथिलाका महिला कलालाई लिएर देशविदेशतिर भ्रमणमा छन् ।’ उनी भन्छन्, ‘चेतनाको स्तर बढेसँगै महिलामाथि हुने परम्परागत थिचोमिचो, विभेदलाई सहन उनीहरू तयार छैनन् र यसलाई हटाउन चाहन्छन् ।’

प्रदर्शनीमा भेटिने अहिलेका अधिकांश मिथिला कलाहरूमा मिथिला क्षेत्रको जनजीवनभन्दा महिला अधिकार, महिला सशक्तीकरणका विषयलाई केन्द्रमा राखेर चित्रण गरेको पाइन्छ । बेला–बेलामा भइरहने प्रदर्शनीतिर देखिने चित्रकार रञ्जु यादवका चित्रकलामा पनि महिला सशक्तीकरण र हिंसाविरुद्धकै विषयले प्राथमिकता पाएको देखिन्छ । अहिले महिला पनि सक्षम छन् ।

महिला र छोरीमाथि हुने विभेदको अन्त्य हुनुपर्छ भन्ने भाव उनले कोरेका चित्रमा व्यक्त छन् । मिथिला चित्रको मर्म र शैलीलाई नमासिने गरी कलाबाट नै मिथिलाका चित्रकारहरू विकृतिविरुद्ध फराकिलो बन्दै विद्रोही भाव पोखिरहेका छन् । तराई मात्र नभएर मुलुकमा नै व्याप्त समस्यालाई निर्मूल पार्न खोजिरहेका अर्का मिथिला कलाकै चित्रकार सरीता मण्डल बताउँछिन् । ‘अझै पनि धेरै महिला हिंसा भोगिरहेका छन् । यिनै कुरा हाम्रो चित्रमा आइरहेका छन्,’ उनी उल्लेख गर्छिन् ।

मिथिलाकै धर्म, रहनसहनको अलवा अन्य कुराहरू पनि समेटेर कलाले भाव सँगसँगै चेतनालाई पनि उजागर गर्दै जानुपर्ने मिथिलाका चित्रकार लक्ष्मण मण्डलको सुझाव छ । ‘समाजमा घटिरहेका थुप्रै पक्षले चित्रकारलाई पनि प्रत्यक्ष प्रभाव त पर्छ,’ उनी भन्छन्, ‘महिला, समाजका नराम्रा पक्षबारे थाहा हुँदै गएपछि प्रकृति र धर्मका विषयभन्दा मिथिला कलामा फरक विषय आउन थाले र आउने क्रम जारी छ ।’मिथिलाका चित्रकारहरू, चित्रमा आएको यो परिवर्तनलाई मिथिलाका महिलामा आएको चेतना र जागरणलाई नै मान्छन् ।

प्रकाशित : आश्विन ८, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT