१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दसैंको रौनक सुरु : थारु गाउँमा सखिया र हुर्दङ्गा

ठाकुरसिंह थारू

(बर्दिया) — ढिक्रीका लागि चामलको पिठो तयार छ  । सुकेको माछा (सिद्रा) डलियामा छँदै छन्  । कुल देउतालाई चढाउन र नाचगान गर्दा माला लगाउन देउना बेबुरी घरको आँगनमा मगमगाइरहेको छ । मासुको परिकारका लागि (जिता) खानेहरू लेखाइसके ।

दसैंको रौनक सुरु : थारु गाउँमा सखिया र हुर्दङ्गा

कुल देउतालाई चढाउने (छाकी) रक्सी गोलरा (माटोको भाँडो) मा छ । युवायुवतीले परम्परागत पोसाक र गहना खोजेर राखिसकेका छन् ।

एक साता बिराएर सखिया, हुर्दङ्गा नाच हुन थालेको छ । विभिन्न गाउँमा दसैंलाई लक्षित गरी सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ । फरक संस्कृति र कलामा रमाउने पश्चिम तराईका थारू समुदायमा दसैंको तयारी सुरु भएको हो । अघिपछि परम्परामा रमाउन नचाहने थारू किशोरहरू चाडपर्वका बेलामा मजाले रमाउँछन् । सशस्त्र द्वन्द्वका क्रममा दसंैं मनाउने परम्परा तोडिएको थियो । शान्ति स्थापनायता फेरि पहिलेझै निरन्तरता पाएको छ । ‘हाम्रो गाउँमा दसैं लागिसक्यो । नाचगान हुन थालेको छ ।

ढिक्रहवा (अष्टमी) देखि फूलपाती (पिट्रवा) सम्म मजाले नाचगान गरेर रमाउने हो,’ बर्दिया ठाकुरबाबा नगरपालिका भुरीगाउँका राजकुमार चौधरीले भने, ‘दसैंका लागि आवश्यक पर्ने सरसमान तयारी गरिसकेका छौं ।’ चाडपर्वअगावै थारू गाउँमा रौनक र खुसीको माहोल छाउनु उक्त समुदायको अर्को विशेषता हो । यति बेला गाउँमा दसैंको चहलपहल सुरु भएको छ । एक महिनादेखि चहलपहल सुरु हुन्छ । वर्षापछि धानबाली हरियाली भएपछि थारू गाउँमा हरेरी पूजा हुन्छ । त्यस दिनदेखि थारू गाउँमा मादल बज्न थाल्छ । पूजा नहुँदासम्म मादल बजाउन निषेध गरिएको हुन्छ ।

बालीनालीमा किरा नलगोस् भनेर गरिने हरेरी पूजाले दसैं आउन थालेको संकेत गर्छ । हरेरीको दिन नाचगान गरिन्छ । त्यही दिनदेखि थारू समुदायले दसैंको अगामनलाई स्वागत गर्ने चलन छ । ‘हरेरी पूजापछि दसैं सुरु हुन्छ । पहिले दिनभरि घाँस काट्ने र साँझ रमाइलोका लागि नाच गर्थ्यौं । अहिले नाचगानमा केही कमी आएको छ,’ थारू नाचगान गर्दै आएका पतिराम चौधरीले भने, ‘पुरानो पुस्ताले जस्तो रमाइलो गरी दसैं नमनाए पनि परम्परा भने जोगिएको छ ।’
युवाहरूले पनि आफ्नै परम्परा र मौलिक गीत, नृत्य र वाद्यवादन सिक्न थालेका छन् । उनीहरू पाकासँगसँगै गीत गाउन थालेका छन् । जसले गर्दा सयौं वर्ष पुराना गीतको सँगालोका अक्षर युवा पुस्ताले पनि चिन्न थालेका हुन् । त्यस्तै महिलाले नाचमात्रै हेर्न पाउने परम्परागत मान्यतामा पनि परिवर्तन आएको छ ।

युवा पुस्तासँगै महिलाले पनि पुरुषसँगै गीत गाउन, मादल बजाउन र नाच्न पाउने अधिकारलाई समाजले विस्तारै खुकुलो पार्दै गएको छ । दसैंको नवमीका दिनमा महिलालाई पूर्ण रूपमा नाच्ने स्वतन्त्रता हुन्छ । सयौं वर्ष पुराना थारू गीत समयपिच्छे फरक छ । साँझ करनउटी, जन्माउटी, फूलबार गीत र मध्यरातबाट बिहानसम्म बिहेगरा, दिउँसो दिननचवा र कहरा गीत गाउने परम्परा छ । थारू समुदायमा जुनैसुकै बेला जुनसुकै गीत गाउन पाइँदैन ।

घटस्थापनादेखि जमरा राखेर थारू समुदायले आफ्ना कुलदेउतालाई पूजा गर्छन् । त्यसपछि घर सफासुग्घर गरिन्छ । थारूहरूले त्यस दिनलाई झलझोर्न भन्छन् । भोलिपल्ट घर लिपपोत गरिन्छ । दसैंको नवमीका दिन (ढिक्रहवा) कुलदेवतालाई ढिक्री, जमरा र बाँबरी फूलले पूजा गरिन्छ । अर्को दिन महिलाहरू नदी वा ताल छेउमा पितृलाई पिण्ड दिएर मासु र रक्सी खानपिन गरी नाचगान गर्ने चलन रहेको अगुवाहरू बताउँछन् ।

प्रकाशित : आश्विन ९, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?