कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कबड्डी कबड्डी कबड्डी : मन जित्यो, खेल जितेन

सुशील पौडेल

काठमाडौँ — ‘मलाई मार । मलाई यही खोलामा फाल्दे । बरु म मर्छु, तँसँग जान्नँ । लान्छस् भने मेरो लास लैजा तर म तँसँग जान्नँ ।’ चार वर्षअघि रिलिज फिल्म ‘कबड्डी कबड्डी’ मा बमकाजी (सौगात मल्ल) सँग भागेर सहर जान लाग्दा वीरकाजी (दयाहाङ) ले मुस्ताङको खोलामा बलपूर्वक रोक्न खोजेपछि आफ्नै सोल्टिनी मैयाँ (रिश्मा) ले मुटु चुँडाउने गरी भनेकी थिई । त्यसपछि वीरकाजीले मैयाँ छोडेर गाउँ फर्कियो ।

कबड्डी कबड्डी कबड्डी : मन जित्यो, खेल जितेन

निर्देशक : रामबाबु गुरुङ

कलाकार : दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सनविक्रम राई, कर्मा, विजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, रिश्मा गुरुङ, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले


‘मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टै ठीक छ’ भने पनि वीरकाजीले मैयाँलाई आफ्नो बनाउन यसअघिका दुई भागमा निकै मिहिनेत गर्‍यो । थकाली समुदायमा हकैले पाउने मामा चेली भए पनि वीरकाजी मैयाँलाई प्रेम गरेरै आफ्नो बनाउन चाहन्छ । पहिलो भागमा वीरकाजीको प्रेममा कबड्डी खेल्न सहरिया केटो विवेक आइपुग्छ र मैयाँलाई टप्काएर लैजान्छ ।


जसोतसो विवेकको पन्जाबाट उम्काएर पुनः गाउँ फर्काउन सफल वीरकाजीका लागि त्यसपछि आफ्नै ठूलोबुबाको छोरो बमकाजी भिलेन बनिदिन्छ । मैयाँका नजरमा वीरकाजीलाई नै भिलेन बनाएर । पैसाले पैसा ताने जस्तै आफ्नो मायाले पनि मैयाँको माया पलाउने एकोहोरो सोचमा प्रेम गरिरहेको वीरकाजी ‘कबड्डी’ शृंखलाको मुख्य खेलाडी हुन् ।


दोस्रो भागमा मैयाँले वीरकाजीको मायाको मैदान छोडेर हिँडेपछि यसपटक ‘कबड्डी कबड्डी कबड्डी’ खेल्न नयाँ खेलाडी भित्रिएकी छन्, नयाँ सोल्टिनी काशी (उपासना) । आमाको करकापमा आफ्नो अनिच्छित विवाह छल्न पोखरादेखि मुस्ताङको नौरिकोट नै भागेर पुगेकी सोल्टिनीको जम्काभेट काजीकै बारीको स्याउ खाने क्रममा हुन्छ ।


सुरुवातमा काजीसँग केही बिच्किने दृश्य खेप्न परे पनि काशी विस्तारै ऊप्रति आकर्षित हुन्छे । कारण, काजीको मैयाँप्रतिको एकोहोरो आदर्श प्रेम देखेर । उल्टो काजीलाई नै प्रश्न गर्छे, ‘अहिलेको जमानामा पनि तपाईंजस्तो प्रेमी हुन्छ ?’ मैयाँकै फोटो हेरेर जीवन बिताउने बताइरहेको काजी विस्तारै सोल्टिनीका मायारूपी वाणमा घायल बन्दै जान्छ । त्यसमा मलजल गर्ने बीके (विजय) त छँदै छ ।


‘कबड्डी’ फिल्मलाई निर्देशक रामबाबु गुरुङले कबड्डी खेल नै र संरचना मैदानकै शैलीमा प्रस्तुत गर्दै आएका छन् । रामबाबुको ‘कबड्डी’ को मैदान यसअघि काठमाडौंदेखि मुस्ताङको नौरीकोटसम्म झन्डै चार सय किलोमिटर फैलिएको थियो भने यसपालि मैदान केही खुम्चिएर नौरीकोटदेखि पोखरा र घान्द्रुकसम्म छ ।


तर खेलको मध्य लाइन भने निर्देशकले मुस्ताङकै उही खोलालाई नै बनाउँदै आएका छन् । मैयाँ बाहिरिएर काशी नयाँ खेलाडीका रूपमा काजीको कोर्टमा आएपछि नयाँ कबड्डी सम्भव भएको हो । जसरी कबड्डी खेल र नियम उही भए पनि खेलाडी नयाँ र खेल्ने तरिका फरक हुन सक्छ, त्यसरी नै लेखकद्वय रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पनि ‘कबड्डी’ शृंखलालाई त्यही शैलीमा तन्काएर तेस्रो संस्करण पुर्‍याएका छन् । काजीको प्रेमको कबड्डीमा यसपालि केही नयाँ खेलाडी धनकाजी (विल्सन) र सोल्टिनीको सहरिया प्रेमी म्याकी (कर्मा) थपिएका छन् ।


‘कबड्डी’ शृखंला काजी र मैयाँको आदर्श प्रेमकथा हैन । बरु काजीको निश्चल, सोझो र एकोहोरो प्रेमको कथा हो । मैयाँले निरन्तर तिरस्कार गरिरहँदा पनि काजी आफ्नो मायाप्रति बफादारी बनिरह्यो ।


त्यसैले पनि यो शृंखलाका दर्शकका लागि मैयाँ प्रिय पात्र हैनन् तर काजीको प्रेमले सार्थकता पाइदेओस् भन्ने चाहना तीव्र छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा लेखकसमेत रहेका निर्देशक रामबाबु यही दुई अवस्थाको साङ्गोपाङ्गो लगाउन चुकेका पो हुन् कि भन्ने लाग्न सक्छ । उनले खेलाएको खेल र दिएको नतिजा ‘म्याच फिक्सिङ’ शैलीमा तयार पारिएको छ ।


फिल्मको मध्यरेखा रहेको खोलामा मैयाँको फोटो बगाइदिएपछि काजी थप बलियो मनस्थितिमा पुगेको भान हुन्छ र नयाँ प्रेममा प्रवेश गरेको बलियो संकेत फिल्मले दिन्छ । मैयाँप्रति आदर्श प्रेमीको ट्याग भिरेर बसेको काजीलाई अर्को प्रेममा प्रवेश गराउनु सजिलो थिएन, तर थोरै दृश्य र छोटो समयमै काजीलाई काशीप्रति स्वाभाविक रूपमा नजिक्याउन निर्देशक सफल देखिएका छन् ।


काजीको मायालु मनदेखि प्रभावित काशी पनि दर्शकका लागि प्रिय लाग्छे । फिल्मको पहिलो भागले सृजना गरेको यस मुडलाई दोस्रो भागले भने अन्याय गरेको भान हुन सक्छ । काशीको चरित्र र मनस्थितिलाई जसरी बुन्दै लगिएको थियो, त्यसअनुरूप अवतरण नगराइँदा दर्शकमा खिन्न लाग्न सक्छ ।


तेस्रो संस्करणसम्म आइपुग्दा रामबाबुले तुलनात्मक रूपमा परिपक्वता देखाएका छन् । निर्देशनदेखि पटकथा सलल बगाउन सफल भएका छन् । फेरि एकपटक शैलेद्र डी कार्कीले छायांकनमा आफूलाई अब्बल सावित गरिदिएका छन् । दृश्यको पात्र, परिस्थिति र गतिमा राम्रो तारतम्य देखिएको छ । यसपटक ‘कबड्डी कबड्डी कबड्डी’ मूलतः प्रेमकै खिचातानीमा बढी रुमल्लिए ।


उपकथाहरु पहिलेका भागमा जस्तो रोचक ढंगबाट पस्कन सकेनन् । जसरी पहिलो भागमा वैदेशिक रोजगार र दोस्रोमा संसदीय चुनावको उपकथाहरु मूलकथामा अन्तरघुलित थिए । यसपटक वैवाहिक सम्बन्ध र पारपाचुकेसम्मको परिस्थितिलाई उधिन्न खोजेको भए पनि पूर्ण लाग्दैन । त्यसबाहेक स्वजातीय र अन्तरजातीय विवाहमा फिल्मलाई सन्देशात्मक बनाउन खोज्दा चरित्र र फिल्मको मुडलाई समात्न सकेको लाग्दैन ।


अभिनय पक्ष ‘कबड्डी कबड्डी कबड्डी’ को अर्को सुन्दर पक्ष हो । दयाहाङ, विजय, माओत्से विस्फोटक ब्याट्सम्यानको शैलीमा फिल्ममा छाएका छन् भने उपासना, विल्सनले टिकेर लामो पारी सम्हालेका छन् ।


उम्दा कलाकार हुँदाहुँदै पनि लुनिभा, विल्सन र कर्माको चरित्रले सार्थकता पाउन नसक्दा फितलो अनुभव हुन्छ । लुनिभाको पतिप्रतिको वितृष्णा परिपक्व रूपमा नआउँदा उनी लाउड लाग्छिन् जसरी कर्माको काशीप्रति प्रेममा लाचार देखिनु र काशीको उनिप्रति वितृष्णा जाग्नुको जड कारण नदर्साउँदा नै फिल्मको समापनसँग यसको वैचारिक भिन्नता देखिएको छ ।


यदि तपाईं फुटबल प्रेमी हुनुहुन्छ भने हरेक खेलको मैदानको दायराभन्दा बाहिरको सोच्नुहुन्न र आफ्ना प्रिय खेलाडीकै खेल कौशल र नतिजामा रमाउनुहुन्छ । त्यसैगरी, यदि तपाईं ‘कबड्डी’ शृंखलाको प्रेमी हुनुहुन्छ भने पनि रामबाबुको फिल्मी मैदानको दायराभन्दा बाहिर नगई प्रिय चरित्रकै प्रस्तुतीकरण र काजी र मैयाँको प्रेमको नतिजामै ध्यान सीमित गर्नु बुद्धिमानी हुन सक्छ । भलै, फिल्मको अन्तिम नतिजा इन्डिङमा सन्तुष्ट हुने, नहुने तपाईंमै भर पर्छ । यति भन्न सकिन्छ, ‘कबड्डी कबड्डी कबड्डी’ ले दर्शकको मन जित्यो तर खेल जितेन ।


यो पनि पढ्नुहोस्:

'कबड्डी कबड्डी कबड्डी' ले गर्‍यो नेपाली फिल्मको व्यावसायिक खडेरीको अन्त्य

प्रकाशित : आश्विन ६, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?