२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नीर शाहलाई सलाम

ललितपुर — नीर शाहका अनेक छवि छन् । चलचित्रकर्मी, रंगकर्मी, गीतकार, प्राज्ञ । ‘पर्खिबसे आउला भनी...’, ‘छोरी मलाई भागी भागी नसताऊ...’ ‘गहिराइमा डुब्दै नडुब...’, ‘प्यारी बसन्ती...’, ‘को हो त्यो जसले मलाई...’, ‘अर्को जुनी चाहिँदैन मलाई...’ जस्ता लोकप्रिय गीतका स्रष्टा शाह नै हुन् । उनै स्रष्टा शनिबार रेडियो कान्तिपुरमा आफ्ना गीतसहित प्रत्यक्ष प्रस्तुत भए । रेडियो कान्तिपुरले वरिष्ठ स्रष्टाहरूको सम्मानमा गर्दै आएको ‘सलाम जिउँदो इतिहासलाई’ कार्यक्रमको १७ औं शृंखलामा शाहलाई सम्मान गरिएको हो । 

नीर शाहलाई सलाम

प्रत्यक्ष प्रसारण भएको कार्यक्रममा शाहलाई साक्षी राखेर दीपक खरेल, सुवानी मोक्तान, शैलेश सिंह, सरिता शाही, सुरज थापा, सुमन श्रेष्ठ, भविन डुंगानालगायतले शाहकै विभिन्न गीत गाए, शाहले चाहिँ आफ्नो नामदेखि करिअरका अनेक घुम्तीको कथा सुनाए । ‘मेरो नाम खासमा नुरदेव थियो,’ शाहले भने, ‘म जन्मिँदै गर्दा प्रसव पीडामा आमाले आफ्नो हातको नीर औंठी मात्रै झल्झली देखिरहनुभयो रे । त्यसपछि उहाँले मेरो नाम नीरमा बदल्नु भयो । पछि उक्त औंठी मेरो र दाइको पढाइका लागि आमाले बेचिदिनुभयो ।’


शाहका अनुभूति सुनेर प्रत्यक्ष वाद्यवादन गरिरहेको समूहदेखि गायक/गायिका सबै भावुक बनेका थिए । ‘प्रेमपिण्ड’, ‘बसन्ती’, ‘सेतो बाघ’ जस्ता कृतिमा आधारित फिल्म निर्देशन गरेका शाहले थुप्रै फिल्म र नाटक खेलेका छन् । ‘शब्दले मान्छेलाई सधैं जीवित राख्ने भएकाले उहाँले गीत लेख्न छाड्नु हुन्न,’ कार्यक्रममा अर्का पाका गीतकार दिनेश अधिकारीले भने, ‘उहाँ गीत मनछुने र अर्थपूर्ण हुन्छन् ।’


नेपाली गीत/संगीतको क्षेत्रमा अतुलनीय योगदान दिने स्रष्टाका सिर्जनालाई नयाँ पुस्ताले सम्मानसहित पस्किने यो कार्यक्रममा हरेक महिनाको पहिलो शनिबार हुँदै आएको छ । ‘स्रष्टाहरूले समाजलाई मार्गनिर्देश गरिरहेका हुन्छन्,’ कार्यक्रमका परिकल्पनाकार तथा कान्तिपुर एफएमका स्टेसन म्यानेजर दिनेश डिसीले भने, ‘पुराना र नयाँ पुस्ताका स्रष्टाबीच अन्तर्घुलनको उद्देश्यले पनि यो कार्यक्रमलाई निरन्तरता दिएका हौं ।’

प्रकाशित : आश्विन ५, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?