२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जितियामा डेंगु सन्देश

रमेशकुमार पौडेल

(चितवन) — चितवनमा डेंगु रोगको संक्रमण अझै रोकिएको छैन । पर्वहरू भने धमाधम आइरहेका छन् । त्यसै क्रममा शुक्रबाट जितिया पर्व सुरु भएको छ । यो पर्व थारू र मधेसी समुदायका महिलाले धुमधामका साथ मनाउँछन् । यहाँका थारू समुदाय व्रत बस्ने, पूजा गर्ने, मीठा परिकार खाने र गीत गाएर नाच्ने गर्छन् । यो वर्ष आइतबार जितिया परेको छ । तर गीत र नाँचको रौनक चितवनका थारू बस्तीमा साताअघिबाटै सुरु भयो । 

जितियामा डेंगु सन्देश

‘डेंगु रोगरी गाउँघरमा

फैलल सखिया होन,

बचके रहो सबहु

जनारी सखिया होन ।’


शुक्रबार माडी बरुवा बजारमा थारू कल्याणकारी सभा क्षेत्र नम्बर १ ले जितिया कार्यक्रम राख्यो । जसमा माडी नगरपालिका–१ गर्दीका किशोरी समूहले गाएको गीतमा डेंगु रोगविरुद्धको सन्देश पनि थियो । माथि सुरुका हरफ उनीहरूले गाएको गीतका अंश हुन् । जितियामा गीत गाउँदै घुमी–घुमी थपडी बजाउँदै महिला नाँच्ने गर्छन् । जितियामा यसरी नाँच्ने शैलीलाई ‘झाम्टा’ भनिन्छ ।


‘१५ देखि ३० जना हुन्छन् । आधाले गीत सुरु गर्छन् आधाले फेरि त्यसैलाई दोहर्‍याउँछन््,’ गर्दीको किशोरी समूहकी सदस्य रितु चौधरीले भनिन् । स्कुल पढ्दै गरेका किशोरी समूह भएका कारण समाजमा भए गरेका समसामायिक गतिविधिलाई उनीहरूले गीतमा समेटे ।


‘अहिले डेंगुले धेरैलाई दु:ख दिएको छ । यो रोगका बारेमा सचेत बन्नुपर्छ भन्ने सन्देश गीतबाट दिन खोजेका हौं,’ अर्की सदस्य गरिमा चौधरीले भनिन् । यी दुईले स्वस्तिका, गंगा, समीक्षालगायतका १५ जना साथीसँग मिलेर ‘झाम्टा’ का लागि गीत रचना गरेका थिए । जसमा महिला हिंसा र दाइजो प्रथाविरुद्ध पनि सन्देश थिए ।


‘दाइजो प्रथा हमराही देशवासे हटाउ सखिया होन,

दहेजका सटहा बेटिया पढाउरो सखिया होन ।’


अर्थात् दाइजो प्रथा देशबाट हटाऊ, दाइजो होइन छोरीलाई पढाऊ भन्ने सन्देश गीतबाट उनीहरूले दिए । किशोरीहरूले सन्देशमूलक गीतहरू गाए, महिलाले समाजकै कथाव्यथा भने । धनरुपा महतो माडी धोबाहाबाट झाम्टा टोली लिएर आएकी थिइन् । धोबाहा रिउ खोला आडमा रहेको बस्ती हो । जहाँ जंगली हात्तीदेखि अनेक जनावर र बाढीले दु:ख दिने गर्दछ । उनीहरूको गीतमा त्यसैको कथा थियो । ‘तीजमा महिलाहरूले जे जसरी गीत गाउँछन् जितियाको झाम्टामा पनि त्यही स्वरूपमा गीत हुन्छन् । सन्देशमूलक गीतदेखि आफूले भोगेका दु:ख पीडा झाम्टा गीतमा व्यक्त हुन्छ,’ धोवाहाकी जानकी महतोले भनिन् ।


उनले यसो भनिरहँदा मञ्चमा बघौडा इनरबरुबाको टोलीले झाम्टा नाँच्दै थियो जसमा श्रीमान् कमाउन घरबाहिर गएका महिलाका वेदना थिए । जितियाको अघिल्लो दिन बिहानपख भाले नबास्दासम्म खाने र जितियाको दिनभर व्रत बस्ने चलन रहेको माडी–२ ध्रुवकी रामपति गुरौले भनिन् ।

प्रकाशित : आश्विन ४, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?