रुचाइयो चिनियाँ फिल्म 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रविधिको उच्चतम् प्रयोगले अबको केही वर्षमा मानिसको सोचाइ र सम्झनालाई कसरी प्रभावित पार्ला ? भविष्य अर्थात् सन् २०२५ को समयमा एक लेखक आफ्नो सम्झनाभित्र पसेर आत्मसमीक्षा गर्दै गरेको कथानक समेटिएको साइन्स फिक्सन ‘ब्याटल अफ मेमोरिज’ प्रदर्शन गर्दै बिहीबार तीनदिने चिनियाँ फिल्म फेस्टिभल सकिएको छ ।

‘द ग्रान्ड मास्टर’ फिल्मकी अभिनेत्री चाङ यीयी

लेस्त चेन निर्देशित यो फिल्मले आफैंभित्र लुकेको लेखक र सिरिएल किलरको व्यक्तित्वबीचको तनावलाई प्रस्तुत गरेको थियो ।

दुई वर्षअघि मात्रै रिलिज यो फिल्मले गतवर्ष ‘इन्टरनेसनल चाइनिज फिल्म फेस्टिभल’ मा गोल्डन ड्रागन अवार्ड पाएको थियो । बिहीबारै हान यानको निर्देशन रहेको फिल्म ‘गो अवे मिस्टर तुमोर’ पनि देखाइएको थियो । फिल्म एक कमिक बुक आर्टिस्टको जीवनीमा आधारित थियो । चिनियाँ सांस्कृतिक केन्द्र र वर्ल्ड कल्चर नेटले आयोजना गरेको महोत्सवमा यसपटक विभिन्न ६ वटा फिल्म देखाइएको थियो । महोत्सवअन्तर्गत नै यस वर्ष बेइजिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्युटका प्रोफेसर चेन सुगुआङसँग विशेष अन्तरसंवादसमेत गरिएको थियो ।

अन्तरसंवादले नेपाली चलचित्रकर्मीहरूलाई चिनियाँ कला र चलचित्रबारे बुझ्न सजिलो भएको महोत्सव संयोजक राजेन्द्र रिमालले बताए । यसपटक महोत्सवमा नेपाली फिल्मकर्मीहरूको सहभागिता बढेको पनि उनले दाबी गरे । महोत्सवलाई अझ बढी प्रभावकारी बनाउन आउँदो वर्ष पनि चिनियाँ चलचित्रकर्मीलाई निम्त्याउने कोसिस हुने कल्चर नेटका अध्यक्ष दीपक सरकारले बताए ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

फेरिँदै मिथिला रंगमञ्च

श्यामसुन्दर शशी

(जनकपुर) — मैथिली नाटकको उद्गमस्थल भनिने मिथिलानगरी जनकपुरधामका रंगकर्मीहरू केही समय सुस्ताएको जस्तो देखिन्थे । यतिबेला भने यहाँ नाटकको मौसम सुरु हुँदैछ । अधिकांश नाट्य समूह आउँदै गरेको पर्व तथा महोत्सव लक्षित गरी नाटकको तयारीमा जुटेका छन् ।

भारत, उत्तर प्रदेश सरकारको शोध संस्थानले आउँदो अक्टोबर अन्तिम साता अयोध्या र लखनऊमा गर्न लागेको ‘दीपोत्सव’ मा सहभागी हुन मिथिला नाट्य कला परिषद् (मिनाप) नाटक ‘जानकी–लीला’ को अभ्यासमा व्यस्त छ भने रमेश रञ्जन झाको निर्देशनमा लोकसञ्चार नाट्य समूहले भर्खरै सडक नाटकसहित गाउँ बस्ती डुल्यो । रमानन्द युवा क्लब, रंगदर्पण, युवा नाट्यकला परिषद्लगायतका नाट्य संस्थाहरू पनि पर्व लक्षित नाटक तथा सांस्कृतिक प्रस्तुतितिर जुटेका छन् ।

गाउँ बस्तीमा खुला आकाशमुनि अभ्यास हुँदै आएको सांस्कृतिक एवं लोक नाटकहरूप्रति नयाँ पुस्ता लगभग निष्क्रिय हुँदै गइरहेको बेला अर्ध–व्यावसायिक प्रकृतिका यी नाट्य समूहहरूको सक्रियतालाई नाट्यकर्मी तथा समीक्षकहरू सकारात्मक रूपमा लिएका छन् । ‘लोक जीवनबाट परम्परागत नाटक विस्थापित हुँदै गरेका सत्य हो,’ पूर्व प्राज्ञ एवं रंगकर्मी रमेशरञ्झन झा भन्छन्, ‘तर, सडक नाटक, कचहरी तथा प्रेक्षागृहहरूमा मञ्चन हुने आधुनिक नाटकले रंग संस्कृति निर्माण योगदान भने दिइरहेकै देखिन्छ । मैथिली रंगमञ्चलाई जोगाइराख्न यस्ता अर्धव्यावसायिक प्रकृतिका नाट्य समूहहरूको भूमिका अहम् रहेको पनि उनको मत छ ।

हराउँदै लोक नाटक
खासगरी मिथिलाञ्चलमा वडा दसैं, दीपावली, छठी तथा भ्रातृद्वितीयालगायतका पर्वमा गाउँगाउँमा लोक र परम्परागत नाटकहरू मञ्चन गर्ने परम्परा थियो । अचेल यो लगभग समाप्त भइसकेको छ । समाजमा सकारात्मक सन्देश दिन सांस्कृतिक निरन्तरताको अभ्यास स्वरूप हुँदै आएको खुला नाटक, नौटंकी र लोकनाचको स्थान अचेल अश्लिल प्रकृतिका गीत तथा नृत्य प्रदर्शनले लिएको छ । यस्ता व्यापारिक प्रस्तुति दिने थुपै अर्केस्ट्राहरू मिथिलाञ्चलमा सक्रिय छन् । सामाजिक झैझगडाको कारकको रूपमा रहेका यस्ता अर्केस्ट्रा प्रदर्शनमाथि जिल्ला प्रशासनले रोक नै लगाएको छ । तैपनि जनकपुरजस्तो सांस्कृतिक नगरीमा यस्ता प्रस्तुति हुन छाडेका छैनन् । नाटक समीक्षक तथा सञ्चारकर्मी नित्यानन्द मण्डल यसलाई ‘सञ्चारक्षेत्रमा आएको परिवर्तनको कारक’ मान्छन् ।

‘ग्रामीण रंगमञ्चलाई विस्थापित हुनुको मूल कारण न्यु मिडिया हो,’ उनी भन्छन्, ‘इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल, टेलिभिजनलगायतले पस्किने विषयवस्तु स्थानीय संस्कृति र मौलिक पहिचानअनुकूल छैनन् । कुनै समय नाच, नौटंकी, नाटक, कुस्ती, झरीझरी, लाठीलगायतका पारम्परिक खेल र सांस्कृतिक प्रस्तुति मनोरञ्जनका साधनका रूपमा थिए । अहिले साधन बदलियो । ती बदलिएको साधनबाट आउने सामग्री हाम्रो लोक परम्पराअनुकूल भएनन् । ग्रामीण रंगमञ्च सुक्दै जानुको प्रमुख कारण यही हो ।’

प्रयास जारी छ
यति हुँदाहुँदै पनि मिनाप, लोकसञ्चारलगायतका समूहहरूले मिथिलाञ्चलको लोकगाथा, लोकनाच, लोकगीत, लीला, नाटक, नौटंकीलगायतका विधा प्रवर्द्धनको प्रयास गरिरहेका छन् । मिनापले त यी विधाहरूलाई संरक्षण गर्ने अभियान नै सञ्चालन गरेको छ । रमेशरञ्जन झाको नेतृत्वको लोकसञ्चार, रितेश पाटली नेतृत्वको रंग दर्पण, बीएन पटेल नेतृत्वको हुक्कालोली नाट्य समूहले रंगमञ्च तथा सडक नाटकमार्फत् मैथिली रंगमञ्चलाई सम्वृद्ध बनाउने प्रयास गरिरहेका छन् । मिनापले अहिले निर्माण गरिरहेको नाटक ‘जानकी लीला’ एउटा उदाहरण हो । मिनाप अध्यक्ष परमेश झाका अनुसार यो नाटकमा आधुनिक र पारम्परिक रंगमञ्चको शैली फ्युजन गरिएको छ ।

उनका अनुसार नेपाल, भारतलगायतका मुलुकमा प्राय: धेरैले रामको चरित्रमा आधारित ‘रामलीला’ गर्छन् । यो लोकनाट्य संरचनाअन्तर्गतकै प्रस्तुति हो । मिनापले भने सीताको चरित्रमा आधारित ‘जानकी लीला’ तयारी गरेको छ । नेपालसँग जोडिएको पक्ष मात्रै प्रस्तुत गरिएको नाटकमा जानकीको जन्मदेखि विवाहसम्मको मात्रै दृश्य समेटिएको छ । ‘जानकीमाथि केन्द्रित कथावस्तु भएकाले यसलाई जानकीलीला नाम दिइएको हो,’ अध्यक्ष झा भन्छन् । पारम्परिक रामलीला शैलीकै ‘जानकीलीला’ मा सोहर, बधैया, पमरिया, झुला, जटजटिनलगायतका पारम्परिक गीत संगीतसँगै आधुनिक गीत संगीत तथा कीर्तनिया, नौटंकी, विदापद तथा रामसीता विवाह संकीर्तणजस्ता लोक नाच शैलीहरूको समेत प्रयोग गरिएको उनले बताए ।

‘यसका साथै नाटकमा मिथिलाञ्चलका नगाडा, झाइल, टंकी, मजिरालगायतका पारम्पारिक बाजाहरूको प्रत्यक्ष प्रस्तुतिसमेत हुने छ,’ झाले भन्छन् । शास्त्रीय नाटक मञ्चन हुने क्रम घटे पनि सडक नाटक मञ्चन हुने क्रम भने बढेको उनको मत छ । तर रंगमञ्चका पारम्पारिक दर्शक तथा समीक्षकहरू भने सडक नाटकलाई व्यावसायिक नाटकको संज्ञा दिँदै शास्त्रीय रंगमञ्च जर्गेना गर्नुपर्ने मत राख्छन् । ‘मनोरञ्जन र उपदेश दिन सडक नाटक उपयुक्त होला तर यो हाम्रो नाट्य फर्म र शैली हैन,’ मैथिली शिक्षण विभागका पूर्वअध्यक्ष प्रा.परमेश्वर कापडी भन्छन्, ‘बरु हाम्रो शास्त्रीय नाट्य परम्परालाई नयाँ ढंगले प्रस्तुत गर्नु राम्रो ।’ नाटककार तथा निर्देशकसमेत रहेका पूर्वप्राज्ञ रमेशरञ्जन झा भने, सडक नाटकमै पनि शास्त्रीय नाटकको सम्पूर्ण विशेषता प्रस्तुत गर्न सकिने बताउँछन् । ‘सडक नाटकमा पनि कला हुन्छ । यसभित्र पनि कथ्य हुन्छ जो आम जनजीवनबाटै आउने हो,’ उनी भन्छन्, ‘यसलाई हाम्रो अनुकूल प्रयोग गर्न सकिन्छ ।’

प्रकाशित : आश्विन ३, २०७६ ०९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्