‘फिल्मले बलात्कार बढाएको भन्न मिल्दैन’

विद्या राई

काठमाडौँ — ‘पछिल्लो फिल्ममा राष्ट्र प्रेमभन्दा मायाप्रेम बढी भए जसका कारण बलात्कारका घटना बढेका छन्, फिल्मकर्मीले यसबारे सोच्नुपर्ने हैन र ?’ गत साता नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले दिएको यो सार्वजनिक अभिव्यक्तिप्रति सरोकारसम्बद्ध महिला सांसदहरूले नै ‘आपत्ति’ जनाएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय चलचित्र महोत्सवमा गत शुक्रबार ‘राजनीतिको आँखामा चलचित्र’ विषयक सामूहिक छलफलमा सांसद संग्रौलाले राखेको यो धारणालाई सांसद तथा अधिकारवादीले ‘अफवाह’ को संज्ञा दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद धर्मशिला चापागाईंले ‘यसले या त्यसले बिगार्‍यो भन्दा पनि फिल्म हेरेर के सिक्यो भन्ने मुख्य कुरा हो, फिल्मका कारण बलात्कारका घटना बढेको, समाज बिग्रेको भन्न मिल्दैन ।’ फिल्मले सन्देशमूलक सामग्री समेटेका छन्, समाज समेटेका छन् । सबै चलचित्रलाई एउटै डालोमा हालेर तुलना गर्न नमिल्ने बताइन् । नेपाली कांग्रेसकी सांसद चित्रलेखा यादवले वाक् स्वतन्त्रता छ भन्दैमा जिम्मेवार नेतृत्वले गैरजिम्मेवार ढंगको अभिव्यक्ति दिन नमिल्ने बताइन् । सबै कुरामा राम्रा र नराम्रा दुई पाटा हुने भन्दै उनले भनिन्, ‘के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरामा मान्छेमा भर पर्छ, राम्रो कुराको अनुसरण गर्ने हो र अरूलाई पनि त्यही बाटोमा हिडँउने हो नि ।’

सांसद संग्रौलाले भने यो सरासर झूटा आरोप भएको कान्तिपुरसित बताइन् । ‘समाजमा बलात्कारका घटना बढिरहेकाले सकारात्मक सन्देश दिने खालको चलचित्र निर्माण हुनुपर्छ भनेकी थिए, बाहिर अर्कै आएछ, यो सरासर झूटा आरोप मात्रै हो,’ उनले भनिन् । महिलाका आशा र भरोसाको नेतृत्व गरिरहेका महिला सांसदको यस्तो सार्वजानिक धारणा जायज नहुने सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष एवं अधिकारकर्मी निर्मला शर्मा बताउँछिन् । ‘नीति बनाउने र कार्यान्वयन तहका महिला सांसदको मनस्थिति नै यस्तो भएपछि महिलाका लागि कस्तो कानुन आउला ?’ उनले भनिन् । यस्तो अभिव्यक्ति दिनु भनेको संविधानमा लेखिएको ३३ प्रतिशत आरक्षण अधिकार नै कतौटी हुने अवस्थाको सिर्जना गराउनु भएकाले महिला सांसदहरू सचेत हुनुपर्ने बताए ।

पहुँचविहीन र मानसिक सन्तुलन गुमाएकाहरू बलात्कारका पीडित र पिडक हुने भएकाले चलचित्रको पहुँचलाई कारण मान्न नहुने बताइन् । पछिल्लो समय बलात्कारका रिपोर्टिङ बढिरहे पनि पीडितको न्याय र पिडकको सजायका सवालमा आमनागरिकलाई जानकारी नभएकै कारण घटना भइरहेका छन् । यस कारण महिला सांसदहरूले मनस्थिति परिवर्तनसँगै कानुनी कारबाहीका विषयमा कडाइका साथ प्रस्तुत हुनुपर्ने बताइन् ।

बलात्कारलाई घटनामूलकभन्दा पनि सामाजिक पाटोबाट बहस गर्नुपर्ने मानवअधिकार आयोगकी सदस्यमोहना अन्सारी बताउँछिन् । ‘समाज बिग्रियो भन्नु नै गलत हो,’ उनले भनिन्, ‘विकसित देशहरूमा चारगुणा बढी उत्तेजक फिल्म छन्, बलात्कारको कारण चलचित्र हो भने संसारभर यसले विकराल रूप लिनुपर्ने हो नि ? प्रविधिलाई दोस्ने होइन, सदुपयोग कसरी गर्ने कुरामा समाजमा बुझाइनुपर्छ ।’ उनका भनाइमा महिला होस् या पुरुष समाजमा कमजोर वर्गमाथि शोषण, दमन, हिंसा हुन्छ । बलात्कार मनोवैज्ञानिक अपहेलनाको उपज बनेको छ । यस कारण मानसिकतामा परिवर्तन र फराकिलो बनाउनुपर्छ ।

घर, परिवार र समाजबाटै बालबालिका तथा किशोरकिशोरीहरूलाई यौनशिक्षा र शोषणबारे सिकाइनुपर्ने उनी बताउँछिन् । ‘हाम्रो समाजमा यौनशिक्षा, यौनिकताबारेको बहस छैन, बच्चाको मनोविज्ञान बुझिँदैन,’ उनले भनिन्, ‘यौनिक विकास, इच्छा, चाहनाबारे सन्तानले न आफ्ना आमासँग न बुबासंग खुलेर बोल्न दिएको छ ? त्यसपछि बच्चाले लुकेर चाहना पूरा गर्न खोज्छ, गल्ती भइदिन्छ ।’ महिलाहरूले समाजमा बोल्न नहुने, जोडले कराउन नहुने, सिक्न नहुनेजस्ता सामाजिक मूल्य, मान्यताहरू हट्नुपर्छ ।

यसैगरी आपराधिक गतिविधिको राजनीतिकीकरण गर्न हुँदैन । माथिल्लो तहबाटै कडाइका साथ लागू भएको खण्डमा हिंसा घटाउन मद्दत गर्छ । महिलाले छोटो लुगा लगाएको तथा पुरुषले बल प्रयोग गरेकै कारण बलात्कार बढ्यो भन्नु र चलचित्रले बढ्यो भन्नुमा कुनै तुक नरहने महिलावादी अधिवक्ता मीरा ढुंगाना भन्छिन् । ‘मैले केसहरू हेर्दा द्वन्द्व, भूकम्पजस्ता जोखिमले मानसिक असर पुगेकाले हिंसा निम्त्याएको पाएको छु तर ‘इन्टेसन’ छैन भने यो वा त्यो कारणले बलात्कार बढ्छ भन्नु अफवाह मात्रै हो,’ उनले भनिन् ।

प्रकाशित : आश्विन २, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

लोकगीतमा नयाँ पुस्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — युट्युबमा सर्च गर्ने हो भने युवा पुस्ताले मन पराएका एक से एक हिट लोकगीतहरू भेटिन्छन् । प्रकाश सपूतको ‘गलबन्दी च्यातियो...’, कुलेन्द्र विश्वकर्माको ‘सालको पात...’, विक्रम परियारको ‘चौतारीको बर...’, सन्दिप न्यौपानेको ‘लालुमै...’, तेजश रेग्मीको ‘पिँडालु...’, वसन्त थापाको ‘लोभी आँखा...’ जस्ता गीतहरूले राम्रो भ्युज मात्रै पाएका छैनन्, मिलियन क्लबमा आफ्नो स्थान सुरक्षित गरेका छन् । 

लोकगीत ‘गलबन्दी च्यातियो...’ म्युजिक भिडियोको एक दृश्य । 

करिब एक वर्षअघि विष्णु माझीसँगै कुलेन्द्रले गएको ‘सालको पात...’ ले लोकगीत भन्नेबित्तिकै नाक खुम्चाउने युवा पुस्तालाई एक किसिमको खुराक पस्किदिएको छ । विवाह, पार्टी, पिकनिक सबैतिर युवा पुस्ताको रोजाइँमा यस्ता गीत पर्छन् । ४८ मिलियन भ्युज पुगेको यस गीतको चर्चा अझै पनि सेलाएको छैन । यसै गीत सँगसँगै मेलिना राईसँगै गाएको लोकगीत ‘मलाई देखेर...’ लाई पनि युवापुस्ताले मन पराएका छन् ।

करिब ढेड दशकको लोक संगीतको यात्रामा ५ हजार लोक गीत गाइसकेका विश्वकर्माका ‘जिम्बल बाको आँगनीमा...’, ‘सारा जगतमा...’ लगायतका थुप्रै हिट गीत छन् । तीमध्येमा ‘सालको पात...’ गीतले युवा पुस्ताको लोकगीतप्रतिको धारणा नै परिवर्तन गरेको उनी स्विकार्छन् । लोकगीतले समाजका विषयवस्तुहरू र समाजमा चलेका कुराहरू उठाउने भएको पनि यसको प्रभाव हुने उनी बताउँछन् । ‘दर्शक/श्रोतालाई कसरी लक्षित गर्ने भन्ने जुनसुकै गीतमा पनि हुन्छ,’ उनी भन्छन्, ‘लोकलय समातेर नयाँ शैलीमा पस्केका कारण पनि ‘सालको पात’ ले युवा पुस्तालाई तानेको हुनुपर्छ ।’ बजारमा अहिले यस्तै शैलीका लोकगीतहरू धेरै आएको भए पनि नयाँ र फरक शैलीका गीत र लय बुन्नुपर्ने उनको मत छ ।

‘बोल माया...’ मा परदेशबाट काठको बाकसमा फर्किने लाखौं युवाहरू र परिवारको वियोगान्त कथालाई प्रस्तुत गरेका प्रकाश सपूतको परिचय लोकशैलीमै आधारित ‘दोहोरी ब्याटल’ पनि हो । ब्याटलले उनलाई दर्शक/श्रोतामाझ स्थापित गर्न सघाइदियो । लोक लयकै ‘लरुरु हुरुरु...’ ले बाटसमेत दर्शक/श्रोताको साथ पाएका उनले गाउँघरको मौलिक रोदीमा गाउने शैलीको भिडियोलाई प्रस्तुत गरेर ‘गलबन्दी च्यातियो...’ बताए । यो गीतबाट उनी रातारात स्टार नै बने । उनी लोकगीतलाई लोककै मौलिक संस्कृतिबाट आएको र आफ्नै भावना र कथा भन्ने माध्यमका रूपमा लिन्छन् । ‘गाउँबाट मानिस सहरतिर झरेर आधुनिकतामा ढल्के पनि कालान्तरमा आफ्नै गाउँघर र रोदी खोजिरहेका छन्,’ उनी भन्छन्, ‘गलबन्दी च्यातियो...’ त्यस्तै खोजको परिणाम हो ।’

उनका अनुसार नयाँ पुस्ताले खोजेजस्तै लोकदोहोरी गीतका पनि उत्कृष्ट मेलोडीसहितका गीत र भिडियो आउनुपर्छ र अहिले आइरहेका पनि छन् । ‘यही कारणले युवा पुस्ता लोकशैलीका गीततिर तानिएका हुन्,’ उनी भन्छन् । उनका अनुसार नयाँ पुस्तालाई समेट्ने नै हो भने विधाभन्दा पनि शब्द र विषयवस्तुतिर नै ध्यान दिनुपर्ने हुन्छ । ‘मनलाई छुने राम्रा गीतमा दर्शक/श्रोताले विधा होइन, गीतमा समावेश भएको विषयवस्तु र मर्म हेर्छन्,’ उनको मत छ ।

६० को दशकदेखि नै लोक संगीतलाई निरन्तरता दिइरहेका अर्का गायक राजेश बर्देवा लोकगीतलाई नेपाली गीत/संगीतकै मूल स्रोत मान्छन् । ‘गितार बजाइदेऊ...’, ‘कति शक्ति रहेछ यो मायामा...’ लगायत लगभग दुई दर्जन लोकगीत पस्किसकेका बर्देवा लोकलयमा सहज र सरल रूपमा गाइने भएकाले युवा पुस्ता लोकगीततिर तानिँदै गएको दाबी गर्छन् । ‘यसबाहेक लोकगीतले भूगोल र संस्कृतिको पनि कुरा गर्छ,’ उनले भने, ‘मायाप्रेम त छँदै छ ।’
मुलुकका विभिन्न भागका आ–आफ्नै चिनारी दिने लोकभाकाहरू छन् । पूर्वको हाक्पारे, मध्य नेपालको तामाङ सेलो, गण्डकी प्रदेश चिनाउने सालैजो, सुदूरपश्चिमको देउडा गीतहरूले कुनै न कुनै क्षेत्रलाई विशेष रूपमा चिनाउँछ । गायक रोज मोक्तानलाई जयनन्द लामाको ‘कलकत्ते काइँयो...’ रिमिक्स गरिसकेपछि नै दर्शक/श्रोताले चिन्न थालेका हुन् । यही गीतले युरोप, अमेरिकाको स्टेजसम्म पुर्‍याएको मोक्तान अचेल सेलो आधारित गीतमै बढी व्यस्त छन् । ‘सेलोको भिन्नै मिठास छ,’ उनी भन्छन्, ‘यो डान्सिङ शैलीको पनि हुने भएकोले स्टेज सोमा पनि दर्शक सजिलै जम्छन् ।’

६० कै दशकमा लोक विधाबाटै उदाए पनि ‘पुलिसवाला...’ र अहिलेको चर्चित गीत ‘लालुमै..’ बाट नै अझै चिनिएका अर्का लोक गायक सन्दिप न्यौपाने पनि लोकगीत सुन्नेमा पुरानो पुस्तासँगै नयाँ पुस्ता पनि हृवात्तै बढेको दाबी गर्छन् । ‘पहिले पनि लोकसंस्कृति समेटिएका थुप्रै गीतहरू अग्रजले ल्याएकै हुन्,’ उनी भन्छन्, ‘त्यति बेला मिडियाले लोकलाई खासै ध्यान दिएन । अहिले सामाजिक सञ्जालबाट सजिलै दर्शक/श्रोतामा पुग्ने भएपछि स्वर्णयुग आएजस्तै भएको छ । खासमा दर्शक/श्रोतामाझ त पुर्‍याउने माध्यममा पनि समस्या रहेछ ।’

पछिल्लो समय हिट भएका गायक/गायिकालाई हेर्दा पनि उनको कुरा सही लाग्छ । पारखीहरूले सजिलै आफूले चाहेजस्तो खोजेर सुन्न सकिने अवस्थाको निर्माण भएकोले पनि नयाँ पुस्तामाझ लोकगीत झ्याँगिएको हो ।

प्रकाशित : आश्विन २, २०७६ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्