लोकगीतमा नयाँ पुस्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — युट्युबमा सर्च गर्ने हो भने युवा पुस्ताले मन पराएका एक से एक हिट लोकगीतहरू भेटिन्छन् । प्रकाश सपूतको ‘गलबन्दी च्यातियो...’, कुलेन्द्र विश्वकर्माको ‘सालको पात...’, विक्रम परियारको ‘चौतारीको बर...’, सन्दिप न्यौपानेको ‘लालुमै...’, तेजश रेग्मीको ‘पिँडालु...’, वसन्त थापाको ‘लोभी आँखा...’ जस्ता गीतहरूले राम्रो भ्युज मात्रै पाएका छैनन्, मिलियन क्लबमा आफ्नो स्थान सुरक्षित गरेका छन् । 

करिब एक वर्षअघि विष्णु माझीसँगै कुलेन्द्रले गएको ‘सालको पात...’ ले लोकगीत भन्नेबित्तिकै नाक खुम्चाउने युवा पुस्तालाई एक किसिमको खुराक पस्किदिएको छ । विवाह, पार्टी, पिकनिक सबैतिर युवा पुस्ताको रोजाइँमा यस्ता गीत पर्छन् । ४८ मिलियन भ्युज पुगेको यस गीतको चर्चा अझै पनि सेलाएको छैन । यसै गीत सँगसँगै मेलिना राईसँगै गाएको लोकगीत ‘मलाई देखेर...’ लाई पनि युवापुस्ताले मन पराएका छन् ।

करिब ढेड दशकको लोक संगीतको यात्रामा ५ हजार लोक गीत गाइसकेका विश्वकर्माका ‘जिम्बल बाको आँगनीमा...’, ‘सारा जगतमा...’ लगायतका थुप्रै हिट गीत छन् । तीमध्येमा ‘सालको पात...’ गीतले युवा पुस्ताको लोकगीतप्रतिको धारणा नै परिवर्तन गरेको उनी स्विकार्छन् । लोकगीतले समाजका विषयवस्तुहरू र समाजमा चलेका कुराहरू उठाउने भएको पनि यसको प्रभाव हुने उनी बताउँछन् । ‘दर्शक/श्रोतालाई कसरी लक्षित गर्ने भन्ने जुनसुकै गीतमा पनि हुन्छ,’ उनी भन्छन्, ‘लोकलय समातेर नयाँ शैलीमा पस्केका कारण पनि ‘सालको पात’ ले युवा पुस्तालाई तानेको हुनुपर्छ ।’ बजारमा अहिले यस्तै शैलीका लोकगीतहरू धेरै आएको भए पनि नयाँ र फरक शैलीका गीत र लय बुन्नुपर्ने उनको मत छ ।

‘बोल माया...’ मा परदेशबाट काठको बाकसमा फर्किने लाखौं युवाहरू र परिवारको वियोगान्त कथालाई प्रस्तुत गरेका प्रकाश सपूतको परिचय लोकशैलीमै आधारित ‘दोहोरी ब्याटल’ पनि हो । ब्याटलले उनलाई दर्शक/श्रोतामाझ स्थापित गर्न सघाइदियो । लोक लयकै ‘लरुरु हुरुरु...’ ले बाटसमेत दर्शक/श्रोताको साथ पाएका उनले गाउँघरको मौलिक रोदीमा गाउने शैलीको भिडियोलाई प्रस्तुत गरेर ‘गलबन्दी च्यातियो...’ बताए । यो गीतबाट उनी रातारात स्टार नै बने । उनी लोकगीतलाई लोककै मौलिक संस्कृतिबाट आएको र आफ्नै भावना र कथा भन्ने माध्यमका रूपमा लिन्छन् । ‘गाउँबाट मानिस सहरतिर झरेर आधुनिकतामा ढल्के पनि कालान्तरमा आफ्नै गाउँघर र रोदी खोजिरहेका छन्,’ उनी भन्छन्, ‘गलबन्दी च्यातियो...’ त्यस्तै खोजको परिणाम हो ।’

उनका अनुसार नयाँ पुस्ताले खोजेजस्तै लोकदोहोरी गीतका पनि उत्कृष्ट मेलोडीसहितका गीत र भिडियो आउनुपर्छ र अहिले आइरहेका पनि छन् । ‘यही कारणले युवा पुस्ता लोकशैलीका गीततिर तानिएका हुन्,’ उनी भन्छन् । उनका अनुसार नयाँ पुस्तालाई समेट्ने नै हो भने विधाभन्दा पनि शब्द र विषयवस्तुतिर नै ध्यान दिनुपर्ने हुन्छ । ‘मनलाई छुने राम्रा गीतमा दर्शक/श्रोताले विधा होइन, गीतमा समावेश भएको विषयवस्तु र मर्म हेर्छन्,’ उनको मत छ ।

६० को दशकदेखि नै लोक संगीतलाई निरन्तरता दिइरहेका अर्का गायक राजेश बर्देवा लोकगीतलाई नेपाली गीत/संगीतकै मूल स्रोत मान्छन् । ‘गितार बजाइदेऊ...’, ‘कति शक्ति रहेछ यो मायामा...’ लगायत लगभग दुई दर्जन लोकगीत पस्किसकेका बर्देवा लोकलयमा सहज र सरल रूपमा गाइने भएकाले युवा पुस्ता लोकगीततिर तानिँदै गएको दाबी गर्छन् । ‘यसबाहेक लोकगीतले भूगोल र संस्कृतिको पनि कुरा गर्छ,’ उनले भने, ‘मायाप्रेम त छँदै छ ।’
मुलुकका विभिन्न भागका आ–आफ्नै चिनारी दिने लोकभाकाहरू छन् । पूर्वको हाक्पारे, मध्य नेपालको तामाङ सेलो, गण्डकी प्रदेश चिनाउने सालैजो, सुदूरपश्चिमको देउडा गीतहरूले कुनै न कुनै क्षेत्रलाई विशेष रूपमा चिनाउँछ । गायक रोज मोक्तानलाई जयनन्द लामाको ‘कलकत्ते काइँयो...’ रिमिक्स गरिसकेपछि नै दर्शक/श्रोताले चिन्न थालेका हुन् । यही गीतले युरोप, अमेरिकाको स्टेजसम्म पुर्‍याएको मोक्तान अचेल सेलो आधारित गीतमै बढी व्यस्त छन् । ‘सेलोको भिन्नै मिठास छ,’ उनी भन्छन्, ‘यो डान्सिङ शैलीको पनि हुने भएकोले स्टेज सोमा पनि दर्शक सजिलै जम्छन् ।’

६० कै दशकमा लोक विधाबाटै उदाए पनि ‘पुलिसवाला...’ र अहिलेको चर्चित गीत ‘लालुमै..’ बाट नै अझै चिनिएका अर्का लोक गायक सन्दिप न्यौपाने पनि लोकगीत सुन्नेमा पुरानो पुस्तासँगै नयाँ पुस्ता पनि हृवात्तै बढेको दाबी गर्छन् । ‘पहिले पनि लोकसंस्कृति समेटिएका थुप्रै गीतहरू अग्रजले ल्याएकै हुन्,’ उनी भन्छन्, ‘त्यति बेला मिडियाले लोकलाई खासै ध्यान दिएन । अहिले सामाजिक सञ्जालबाट सजिलै दर्शक/श्रोतामा पुग्ने भएपछि स्वर्णयुग आएजस्तै भएको छ । खासमा दर्शक/श्रोतामाझ त पुर्‍याउने माध्यममा पनि समस्या रहेछ ।’

पछिल्लो समय हिट भएका गायक/गायिकालाई हेर्दा पनि उनको कुरा सही लाग्छ । पारखीहरूले सजिलै आफूले चाहेजस्तो खोजेर सुन्न सकिने अवस्थाको निर्माण भएकोले पनि नयाँ पुस्तामाझ लोकगीत झ्याँगिएको हो ।

प्रकाशित : आश्विन २, २०७६ ०८:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘फिल्मलाई लोककथा राम्रो’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रसिद्ध चिनियाँ निर्देशक चाङ यिमुको पछिल्लो फिल्म ‘द ग्रेट वाल’ ले संसारभरबाट ३ सय ३४ मिलियन डलर बक्स अफिस कलेक्सन गर्यो । तीनबर्ष अघि रिलिज यो एक्सन मोनस्टर फिल्म खासमा चिनियाँ लोककथाको आधारभुमिमा उभिएको छ । यसबाहेक लोककथा आधारित फिल्म चीनमा थुप्रै बनेका छन् ।

दक्षिण अमेरिकामा सबै भन्दा बढि व्यापार गरेको मानिने चाङ यिमुकै फिल्म ‘द हिरो’ ले चीनको इतिहास निर्माणसँग जोडिएको मिथकीय कथा भन्छ । बुधबार राजधानीको होटल याक एन्ड यतीमा आयोजित फिल्मसम्बन्धी अन्तरसंवादमा बेइजिङ युनिभर्सिटीका कला प्राध्यापक चेन सुगुआङले ‘लोककथा माथि बनेको फिल्मले सजिलै दर्शक तान्ने’ दावी गर्दै नेपालमा पनि यसको अभ्यास गर्न सकिने बताए ।

‘मेरो अनुमानमा तपाइँहरूसँग पनि थुप्रै लोककथाहरू छन्’, उनले भने, ‘फिल्मतिर दर्शक आकर्षित गर्न त्यस्ता लोककथाहरू निकै उपयोगी हुन सक्छन् ।’ उनले सन् २००२ मा रिलिज भएको चाङ यिमुको फिल्म ‘द हिरो’ को केही दृश्यहरूसमेत देखाउँदै यो फिल्ममा निर्देशक यिमुले इतिहासका थुप्रै कथा प्रस्तुत गरेको र हरेक कथापिच्छे फरक कलर प्रयोग गरेको औंल्याए । ‘फरक कलरको अर्थ के हो भने हरेक कथामा फरक समाज, पात्र र तिनका संस्कृति जोडेका हुन्छन, निर्देशक यिमुले विविधता देखाउन पनि धेरै कलरहरूको प्रयोग गरेका हुन् ।’

बितेका ४० वर्षमा चिनियाँ फिल्म उद्योगले अकल्पनीय प्रगति गरेको बताउँदै उनले विभिन्न चरणका निर्देशक र तिनले निर्माण गरेको फिल्मी धारको समेत व्याख्या गरे । सन् १९९० अघिसम्म चिनियाँ फिल्म उद्योगमा फिल्म निर्माण गर्ने र बेच्ने दुई फरकफरक पाटो रहेकोमा ९० पछिको खुल्ला अवस्थामा भने यी दुवै पाटो एउटै ढंगले अघि बढेको बताए । ‘यही दशकदेखि चिनियाँ फिल्म विश्वव्यापी बजारमा जान थालेको हो,’ उनले भने । पछिल्लो समय कमेडी फिल्म युवा दर्शकको रोजाइमा पर्दै गएको प्रति भने उनले रोचक विश्लेषण गरे । ‘कमेडी फिल्मलाई यथार्थता आवश्यक छैन, एक दिनअघि गरिब मान्छे रातारात धनी बनाएको देखाउन सकिन्छ,’ उनले भने, ‘खासमा यो समकालीन सामाजिक मनोविज्ञानको परिणति हो । मानिस रातारात धनी बन्न चाहन्छन् । अझ चिनियाँ जनताको आम मनोविज्ञान त यही नै छ ।

यही भएर रातारात धनी बनेको अविश्वसनीय कथाबाचन गरेका फिल्महरू बढि रुचीकर बन्दै गइरहेका छन् ।’ उनले नेपाली जनता भने त्यस्तो मनोविज्ञानको नभएको र सदैव हँसमुख भएको औंल्याउँदै नेपाली सन्दर्भमा त्यस्ता कमेडी फिल्म आवश्यकता नहुन सक्ने बताए ।

चिनियाँ फिल्मको विश्लेषण गर्ने क्रममा पछिल्लोपटक हलिउड शैलीका फिल्महरूसमेत बन्न थालेको र त्यस्ता फिल्मले मनग्गे पैसा कमाएको पनि उनले बताए । उनले दाँते लाम निर्देशित फिल्म ‘अपरेसन मेकङ’ को उदाहरण दिँदै थाइल्यान्डको मेकङमा भएको लागु औषध ओसारपसारसम्बन्धीको हत्याकाण्डमा आधारित यो फिल्म पुरै ‘हलिउड’ मसलाले भरिपूर्ण भएको बताए । ‘अधिकांश चिनियाँ फिल्ममा सामूहिक हिरो हुन्छन्, तर हलिउडमा एकल हिरो,’ उनले भने, ‘पछिल्लोपटक एकल हिरो प्रधान फिल्म पनि रुचिकर बन्दै गएका छन् ।’ राजधानीमा जारी फेस्टिभलको सन्दर्भमा आयोजित अन्तरसंवादमा उनले भारतसँग सहकार्यमा बनाएका फिल्मले दुई देशमा बजार विस्तार गरेको बताए ।

प्रकाशित : आश्विन २, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT