१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘फिल्मलाई लोककथा राम्रो’

काठमाडौँ — प्रसिद्ध चिनियाँ निर्देशक चाङ यिमुको पछिल्लो फिल्म ‘द ग्रेट वाल’ ले संसारभरबाट ३ सय ३४ मिलियन डलर बक्स अफिस कलेक्सन गर्यो । तीनबर्ष अघि रिलिज यो एक्सन मोनस्टर फिल्म खासमा चिनियाँ लोककथाको आधारभुमिमा उभिएको छ । यसबाहेक लोककथा आधारित फिल्म चीनमा थुप्रै बनेका छन् ।

‘फिल्मलाई लोककथा राम्रो’

दक्षिण अमेरिकामा सबै भन्दा बढि व्यापार गरेको मानिने चाङ यिमुकै फिल्म ‘द हिरो’ ले चीनको इतिहास निर्माणसँग जोडिएको मिथकीय कथा भन्छ । बुधबार राजधानीको होटल याक एन्ड यतीमा आयोजित फिल्मसम्बन्धी अन्तरसंवादमा बेइजिङ युनिभर्सिटीका कला प्राध्यापक चेन सुगुआङले ‘लोककथा माथि बनेको फिल्मले सजिलै दर्शक तान्ने’ दावी गर्दै नेपालमा पनि यसको अभ्यास गर्न सकिने बताए ।


‘मेरो अनुमानमा तपाइँहरूसँग पनि थुप्रै लोककथाहरू छन्’, उनले भने, ‘फिल्मतिर दर्शक आकर्षित गर्न त्यस्ता लोककथाहरू निकै उपयोगी हुन सक्छन् ।’ उनले सन् २००२ मा रिलिज भएको चाङ यिमुको फिल्म ‘द हिरो’ को केही दृश्यहरूसमेत देखाउँदै यो फिल्ममा निर्देशक यिमुले इतिहासका थुप्रै कथा प्रस्तुत गरेको र हरेक कथापिच्छे फरक कलर प्रयोग गरेको औंल्याए । ‘फरक कलरको अर्थ के हो भने हरेक कथामा फरक समाज, पात्र र तिनका संस्कृति जोडेका हुन्छन, निर्देशक यिमुले विविधता देखाउन पनि धेरै कलरहरूको प्रयोग गरेका हुन् ।’


बितेका ४० वर्षमा चिनियाँ फिल्म उद्योगले अकल्पनीय प्रगति गरेको बताउँदै उनले विभिन्न चरणका निर्देशक र तिनले निर्माण गरेको फिल्मी धारको समेत व्याख्या गरे । सन् १९९० अघिसम्म चिनियाँ फिल्म उद्योगमा फिल्म निर्माण गर्ने र बेच्ने दुई फरकफरक पाटो रहेकोमा ९० पछिको खुल्ला अवस्थामा भने यी दुवै पाटो एउटै ढंगले अघि बढेको बताए । ‘यही दशकदेखि चिनियाँ फिल्म विश्वव्यापी बजारमा जान थालेको हो,’ उनले भने । पछिल्लो समय कमेडी फिल्म युवा दर्शकको रोजाइमा पर्दै गएको प्रति भने उनले रोचक विश्लेषण गरे । ‘कमेडी फिल्मलाई यथार्थता आवश्यक छैन, एक दिनअघि गरिब मान्छे रातारात धनी बनाएको देखाउन सकिन्छ,’ उनले भने, ‘खासमा यो समकालीन सामाजिक मनोविज्ञानको परिणति हो । मानिस रातारात धनी बन्न चाहन्छन् । अझ चिनियाँ जनताको आम मनोविज्ञान त यही नै छ ।


यही भएर रातारात धनी बनेको अविश्वसनीय कथाबाचन गरेका फिल्महरू बढि रुचीकर बन्दै गइरहेका छन् ।’ उनले नेपाली जनता भने त्यस्तो मनोविज्ञानको नभएको र सदैव हँसमुख भएको औंल्याउँदै नेपाली सन्दर्भमा त्यस्ता कमेडी फिल्म आवश्यकता नहुन सक्ने बताए ।


चिनियाँ फिल्मको विश्लेषण गर्ने क्रममा पछिल्लोपटक हलिउड शैलीका फिल्महरूसमेत बन्न थालेको र त्यस्ता फिल्मले मनग्गे पैसा कमाएको पनि उनले बताए । उनले दाँते लाम निर्देशित फिल्म ‘अपरेसन मेकङ’ को उदाहरण दिँदै थाइल्यान्डको मेकङमा भएको लागु औषध ओसारपसारसम्बन्धीको हत्याकाण्डमा आधारित यो फिल्म पुरै ‘हलिउड’ मसलाले भरिपूर्ण भएको बताए । ‘अधिकांश चिनियाँ फिल्ममा सामूहिक हिरो हुन्छन्, तर हलिउडमा एकल हिरो,’ उनले भने, ‘पछिल्लोपटक एकल हिरो प्रधान फिल्म पनि रुचिकर बन्दै गएका छन् ।’ राजधानीमा जारी फेस्टिभलको सन्दर्भमा आयोजित अन्तरसंवादमा उनले भारतसँग सहकार्यमा बनाएका फिल्मले दुई देशमा बजार विस्तार गरेको बताए ।

प्रकाशित : आश्विन २, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?