महाभोजको तातो बहस

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय लेखिका मन्नु भण्डारीको उपन्यास ‘महाभोज’ मा आधारित रही अनुप बरालले निर्देशन गरेको नाटक ‘महाभोज’ यतिबेला राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा नियमित मञ्चनमा छ । प्रेस, पुलिस र पोलिटिक्सले निमुखा जनताको लासमाथि कसरी महाभोज चलाउँछन् भन्ने पटाक्षेप नाटकले गरेको छ ।

मंगलबार मण्डलामा यिनै तीन पक्षको जनतासँगको सम्बन्ध नाटकले उठान गरेको जस्तै हुन्छ वा हुँदैन भन्नेबारेमा तातो बहस चलाइएको थियो ।

मानुषी यमी भट्टराईले सञ्चालन गरेको बहसमा राजनीतिकर्मी तथा साहित्यकार आहुति, प्रहरी अधिकारी तथा कथाकार महेशविक्रम शाह र पत्रकार तथा लेखक बसन्त बस्नेत उपस्थित थिए । ‘यो बहस नाटकको समीक्षाभन्दा पनि नाटकले उठान गरेको विषयवस्तु र त्यसले दर्शकमा पैदा गरेको छटपटीको निकासका लागि केन्द्रित हो,’ मानुषीले बहसको सुरुवातमै भनिन् ।

पत्रकार बस्नेतले नाटक हेरिसकेपछि जनसरोकारसँग प्रत्यक्ष सरोकार राख्नुपर्ने प्रेस, पुलिस र पोलिटिक्सले नै ती लक्षित वर्गलाई कसरी सिमान्तमा छुटाइरहेका हुन्छन् भन्ने प्रश्न उब्जाएको बताए । उनले नाटकले प्रस्तुत गरेको जस्तो ‘बिकाउ मिडिया’ अहिलेको मूलधारे पत्रकारितामा पूर्णत: लागू नहुने जिकिर गरे । भने, ‘चार दशकअघि लेखिएको यस नाटकपछि समाजका हरेक पक्षमा परिवर्तन आइसकेको छ । मूलधारको पत्रकारिताले निष्पक्ष हुने कोसिस गरी नै रहेको छ ।’ त्यसो त उनले पछिल्लो समय फस्टाउँदै गएको युट्युबकारिताले भने माहोल बिगारिरहेको जिकिर गरे ।

कथाकार शाहले भने अहिलेको पत्रकारिता बलियो र खबरदारी गरिरहने भएकैले नै पुलिस प्रशासनलाई जवाफदेही हुन बाध्य पारिरहेको उल्लेख गरे । शाहले भने, ‘नाटक यथार्थपरक छ । यसले प्रहरी प्रशासनबारे उठाएका सबालहरू जायज छन् । भारतीय समाजको यथार्थ चित्रण गरी लेखिएको भए पनि यसले नेपाली समाजको मर्मलाई पनि बोकेको छ ।’ आहुतिले भने राज्य लोककल्याणकारी हुन्छ भन्नु नै सबैभन्दा ठूलो झूट भएको तर्क गर्दै थपे, ‘राज्य त बहुसंख्यक मान्छेलाई तह लगाउन र निश्चित वर्गका स्वार्थअनुकूल चल्ने गर्छ । राज्य सरोकारवालासमक्ष पुग्ने भनेको कर उठाउन र नियम पालना गराउनका लागि मात्रै हो ।’ राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण बढिरहेको अहिलेको अवस्थामा ‘महाभोज’ सान्दर्भिक रहेको व्याख्या गर्दै कथाकार शाहले कुनै पनि अधिकारकर्मी पेसाप्रति इमानदार, समर्पित र जनताप्रति उत्तरदायी छ भने उसले राम्रो काम गर्न सक्ने बताए ।

प्रकाशित : आश्विन १, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

नौगेडीमा गरिबका व्यथा

कान्तिपुर संवाददाता

काठमाडौँ — नि:सन्तान दम्पती र गरिबीको नालीबेली उतारिएको नाटक ‘नौगेडी’ यतिबेला राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकले निम्न मध्यमवर्गीय पात्र, उनीहरूको मनोविज्ञान, सपना र आवश्यकताका सन्दर्भहरूलाई प्रस्तुत गर्ने जमर्को गरेको छ । 

राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको नौगेडी नाटकमा कलाकार । तस्बिर : कान्तिपुर 

प्रेम पाउन भगाएरै विवाह बन्धनमा बाँधिएको दम्पतीबीच सन्तानलाभ नहुँदा कस्तो खालको अन्तर्द्वन्द्व पैदा हुन्छ भन्ने मूल कथामा नाटककारले अरू थुप्रै कथा जोडेका छन् । सन्तानसँगै नौगेडीप्रति श्रीमतीको तीव्र आकांक्षादेखि गरिबीको कथव्यथा र छुवाछुतको सन्दर्भसम्म । नुवाकोटको दुप्चेश्वर आसपासको परिवेश बताइएको नाटकले ग्रामीण भेकको चित्रलाई पनि प्रस्तुत गरेको छ । दुप्चेश्वर महादेव दर्शन, त्यहाँका मेलामा गाइने घाँसेगीत र दृश्यले नाटकमा ग्रामीण परिवेश र सामाजिक–सांस्कृतिक रंग प्रदान गर्छ ।

दुप्चेश्वर मेलामै भेटिएर दोहोरी गाउँदागाउँदै एक–अर्कालाई मन पराएर विवाह गरेका मनमाया र च्यान्टे नाटकको केन्द्रमा छन् । यो जोडीले नाटकमा नि:सन्तान दलित परिवारको प्रतिनिधित्व गर्छ । विवाह गरेको थुप्रै वर्ष बितिसक्दा पनि आमा बन्न नसकेकी मनमायाको पीडा नाटकमा छ । नि:सन्तान हुनुको कारण जसको भए पनि त्यसको वेदना भने महिलाले मात्रै खेप्नुपर्ने अवस्था मनमाया गुज्रिएकी छन् । बाटो हिँड्दा गाउँले महिलाबाट ‘बाँझी’ को आक्षेप उनैले खेप्नुपर्छ । पति च्यान्टेले चाहिँ ‘हुतिहारा’ र ‘नामर्द’ जस्ता आरोप खेप्नुपर्छ । आफ्ना हर इच्छा र आकांक्षा पूर्तिका लागि पुरुषमै भरपर्नुपर्ने परम्परागत सोच यो नाटकमा छ । यस हिसाबले नाटकका पात्रहरू परम्परागत लाग्छन् । पसलमा पैसा तिरेर खाएको भए पनि दलितलाई भाँडा माझ्न लगाउने जातीय अहम् र दलितमाथिको थिचोमिचोको पाटो अर्थपूर्ण लाग्छ । यही बेला छुवाछुतविरुद्ध विद्रोहको कुरा गर्ने चन्द्रे पात्रले पनि नाटकलाई अघि बढाउन सघाउँछ ।

नाटकमा बेचबिखनको चपेटामा परेकी माइलीजस्ता पात्र पनि छन् । नुवाकोटतिर व्याप्त चेलिबेटी बेचबिखन समस्यालाई इंगित गरेको भए पनि बेचबिखनको आधुनिक आयाम भने नाटकमा छैन । नाटकमा यौन दुर्व्यहारको मौका खोजी हिँडने चरित्र पनि छ । त्यस्तै चरित्रका कारण दुई जिउकी बन्न पुगेकी मनमायाको मनोवैज्ञानिक संघर्ष प्रशंसा योग्य देखिन्छ । यद्यपि उनका पतिले गरेको संघर्ष पनि उत्तिकै अर्थपूर्ण लाग्छ ।

नौगेडी कमाएर आउँदा भने भूकम्पले घर भत्किएर मनमायाको मृत्य भइसकेको हुन्छ । ‘नौगेडी’ लाई विम्बात्मक रूपमा प्रयोग गरेर सिंगो देशको कथा भन्न खोजेको निर्देशक लम्सालले बताए । नाटकमा मञ्च परिकल्पना तिलक राई, प्रकाश परिकल्पना दिवाकर घिमिरे, संगीत नारायण दंगाल, गायन सिद्धान्त परियार र लक्ष्मी स्याङ्तानको रहेको छ । असोज १२ गतेसम्म मञ्चन हुने नाटकमा रीता थापा, सुशीलसिंह ठकुरी, रुबी सत्याल, आईपी आचार्य, भीष्मराज जोशी लगायतले अभिनय गरेका छन् ।

प्रकाशित : आश्विन १, २०७६ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्