नौगेडीमा गरिबका व्यथा

कान्तिपुर संवाददाता

काठमाडौँ — नि:सन्तान दम्पती र गरिबीको नालीबेली उतारिएको नाटक ‘नौगेडी’ यतिबेला राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकले निम्न मध्यमवर्गीय पात्र, उनीहरूको मनोविज्ञान, सपना र आवश्यकताका सन्दर्भहरूलाई प्रस्तुत गर्ने जमर्को गरेको छ । 

राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको नौगेडी नाटकमा कलाकार । तस्बिर : कान्तिपुर 

प्रेम पाउन भगाएरै विवाह बन्धनमा बाँधिएको दम्पतीबीच सन्तानलाभ नहुँदा कस्तो खालको अन्तर्द्वन्द्व पैदा हुन्छ भन्ने मूल कथामा नाटककारले अरू थुप्रै कथा जोडेका छन् । सन्तानसँगै नौगेडीप्रति श्रीमतीको तीव्र आकांक्षादेखि गरिबीको कथव्यथा र छुवाछुतको सन्दर्भसम्म । नुवाकोटको दुप्चेश्वर आसपासको परिवेश बताइएको नाटकले ग्रामीण भेकको चित्रलाई पनि प्रस्तुत गरेको छ । दुप्चेश्वर महादेव दर्शन, त्यहाँका मेलामा गाइने घाँसेगीत र दृश्यले नाटकमा ग्रामीण परिवेश र सामाजिक–सांस्कृतिक रंग प्रदान गर्छ ।

दुप्चेश्वर मेलामै भेटिएर दोहोरी गाउँदागाउँदै एक–अर्कालाई मन पराएर विवाह गरेका मनमाया र च्यान्टे नाटकको केन्द्रमा छन् । यो जोडीले नाटकमा नि:सन्तान दलित परिवारको प्रतिनिधित्व गर्छ । विवाह गरेको थुप्रै वर्ष बितिसक्दा पनि आमा बन्न नसकेकी मनमायाको पीडा नाटकमा छ । नि:सन्तान हुनुको कारण जसको भए पनि त्यसको वेदना भने महिलाले मात्रै खेप्नुपर्ने अवस्था मनमाया गुज्रिएकी छन् । बाटो हिँड्दा गाउँले महिलाबाट ‘बाँझी’ को आक्षेप उनैले खेप्नुपर्छ । पति च्यान्टेले चाहिँ ‘हुतिहारा’ र ‘नामर्द’ जस्ता आरोप खेप्नुपर्छ । आफ्ना हर इच्छा र आकांक्षा पूर्तिका लागि पुरुषमै भरपर्नुपर्ने परम्परागत सोच यो नाटकमा छ । यस हिसाबले नाटकका पात्रहरू परम्परागत लाग्छन् । पसलमा पैसा तिरेर खाएको भए पनि दलितलाई भाँडा माझ्न लगाउने जातीय अहम् र दलितमाथिको थिचोमिचोको पाटो अर्थपूर्ण लाग्छ । यही बेला छुवाछुतविरुद्ध विद्रोहको कुरा गर्ने चन्द्रे पात्रले पनि नाटकलाई अघि बढाउन सघाउँछ ।

नाटकमा बेचबिखनको चपेटामा परेकी माइलीजस्ता पात्र पनि छन् । नुवाकोटतिर व्याप्त चेलिबेटी बेचबिखन समस्यालाई इंगित गरेको भए पनि बेचबिखनको आधुनिक आयाम भने नाटकमा छैन । नाटकमा यौन दुर्व्यहारको मौका खोजी हिँडने चरित्र पनि छ । त्यस्तै चरित्रका कारण दुई जिउकी बन्न पुगेकी मनमायाको मनोवैज्ञानिक संघर्ष प्रशंसा योग्य देखिन्छ । यद्यपि उनका पतिले गरेको संघर्ष पनि उत्तिकै अर्थपूर्ण लाग्छ ।

नौगेडी कमाएर आउँदा भने भूकम्पले घर भत्किएर मनमायाको मृत्य भइसकेको हुन्छ । ‘नौगेडी’ लाई विम्बात्मक रूपमा प्रयोग गरेर सिंगो देशको कथा भन्न खोजेको निर्देशक लम्सालले बताए । नाटकमा मञ्च परिकल्पना तिलक राई, प्रकाश परिकल्पना दिवाकर घिमिरे, संगीत नारायण दंगाल, गायन सिद्धान्त परियार र लक्ष्मी स्याङ्तानको रहेको छ । असोज १२ गतेसम्म मञ्चन हुने नाटकमा रीता थापा, सुशीलसिंह ठकुरी, रुबी सत्याल, आईपी आचार्य, भीष्मराज जोशी लगायतले अभिनय गरेका छन् ।

प्रकाशित : आश्विन १, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

“फिल्म जोडे पर्यटन सफल”

कान्तिपुर संवाददाता

काठमाडौँ — चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले मंगलबार संस्कृति तथा पर्यटन मन्त्रीलाई साक्षी राखेर यस्तै विवरण सुनाए ।

नेपालमा सन् २०१३ मा छायांकन गरिएको चिनियाँ फिल्म ॅअप इन द विन्ड’ (देङ फेङ लाई) मा अभिनेत्री निनी । तस्बिर : एजेन्सी

  • हिन्दी फिल्म ‘खुदा गवाह’ को केही भागको सुटिङ नेपालको मुस्ताङमा भएको थियो । त्यसका लागि अमिताभ बच्चन नेपाल आएका थिए । सन् १९९२ मा फिल्मको रिलिज भएपछि मुस्ताङ पुग्ने भारतीय पर्यटकको संख्या रातारात बढ्यो । यसअघि ‘महान’ फिल्मको छायांकन गर्न बच्चन काठमाडौं आएका थिए ।

  • नेपालमा चिनियाँ पर्यटक बढ्नुमा सन् १९१३ मा नेपालमै छायांकन गरिएको चिनियाँ फिल्म ‘देङ फेङ लाई’ अर्थात् ‘अप इन द विन्ड’ लाई पनि कारक मानिन्छ । हुआ ताओ तेङले निर्देशन गरेको फिल्ममा बन्द, हड्ताल र अव्यवस्थाबिच पनि सुन्दर नेपालमा एक चिनियाँ जोडीले खुसी भेट्टाएको कथा छ । यो फिल्मकै कारण नेपाल आउन भिसा लिने चिनियााको संख्या ह्वात्तै बढेको मानिन्छ ।

सुन्ने र सुनाउनेमा संगीतकर्मी, कलाकारदेखि पर्यटन व्यवयायीसमेत थिए । राजधानीमा बुधबार पर्यटन तथा संस्कृति मन्त्रालयले भ्रमण वर्ष–२०२० को सन्दर्भमा कलाकर्मी बोलाएर सुझाव मागेको हो । सुझाव दिने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईले विदेशी फिल्मको छायांकनलाई सहज बनाएर र नेपाली फिल्मकै विदेशमा प्रवर्द्धन गरेर पयर्टनमा सघाउन सक्ने औंल्याए । ‘पर्यटनलाई चलचित्रसँग जोडेर यसलाई उद्योगका रूपमा चिनाउन सके पर्यटन क्षेत्रलाई पनि फाइदा पुग्छ,’ उनले भने ।

हास्य कलाकार हरिवंश आचार्यले चाहिँ राजधानीको फोहोरको सन्दर्भ जोडेर व्यंग्य कसे । ‘ठमेलको पर्यटक बोकेको बसको टायरले कालिमाटीसम्म माटो बोकेर गुड्छ’, उनले भने, ‘त्यही भएर म घरको झ्याल खोल्दिनँ ।’ उनले मेलम्ची खानेपानी आयोजनाको खाल्डोका कारण सहर विरूप बनेको औंल्याउँदै भ्रमण वर्षको सन्दर्भमा त्यतातिर पनि ध्यान दिन सुझाए । भ्रष्टाचारका कारण ‘पिचरोड घिचरोड’ भइरहेको अवस्था भए पनि पर्यटनले मुलुक सपार्ने भएकाले सबै कलाकर्मीलाई सघाउन उनले अनुरोध गरे ।

संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बाँस्कोटाले फिल्मसँगै कला र संगीतको पक्षलाई पनि पर्यटनसँग जोडेर अघि बढ्न सकिने सुझाए । विभिन्न लोक परम्परा र संस्कृति झल्कने सांस्कृतिक डबलीहरूको निर्माणसँगै सांस्कृतिक प्रस्तुतिले मुलुकको चिनारीलाई मलजल गर्ने उनले बताए । उनले चालीसको दशकमै सुरु गरिएको पहिलो नेपाली रियालिटी सो ‘प्रतिभाको डबली’ को उदाहरण दिँदै त्यस्तै प्रस्तुतिहरू गर्न सकिने पनि औंल्याए । ‘सर्ट फिल्म, सांस्कृतिक डकुमेन्ट्रीहरू र म्युजिक भिडियो पनि प्रभावकारी माध्यम बन्न सक्छ,’ उनले भने, ‘सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्नुभन्दा मौलिक सांस्कृतिक परम्परा जर्गेना हुने प्रकृतिको कन्टेन्टहरू दिनुपर्‍यो । हाम्रो पनि त सामाजिक उत्तरदायित्व छ नि ।’

अभिनेत्री निशा अधिकारीले गजबको सुझाव दिइन् । उनले प्रकृतिमैत्री पर्यटनको वकालत गर्दै मौलिक सांस्कृतिक पक्षलाई पनि जोड दिनुपर्ने औंल्याइन् । आयुर्वेद पर्यटन, पुष्प पर्यटनदेखि टपरी पर्यटनसम्मका कुरा गरिन् । ‘वर्षभरि सहरका कौशी र बगैंचामा हाम्रै मखमली र सयपत्री उमार्न सकिन्छ,’ उनले भनिन्, ‘सरकारले यसको प्याटर्न राइट पनि लिनुपर्‍यो किनकि यी फूल हाम्रा हुन् ।’ उनले टुँडिखेलमा नेपालीपन झल्काउन टपरी फेस्टिभल नै गर्न सकिने सुझाइन् । लोक दोहोरी राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष तथा गायक बद्री पंगेनीले सरकारले कलाकर्मीको सही परिचालन गर्न सके हरेक पर्यटक फर्किने बेला नेपाली लोक गीत गुन्गुनाउने माहोल बनाउन सकिने दाबी गरे भने संगीतकार महेश खड्काले लोकबाजा प्रवर्द्धनको प्रस्ताव राखे । हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले नेपालमै मिस नेपाल इन्टरनेसनल गर्न सकिने र त्यसको तयारी भइरहेको सुनाए ।

बहस सुनिरहेका संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले ‘सबै कलाकार नेपाल चिनाउने अवैतनिक दूत’ भएको बताउँदै कला र सांस्कृतिक पर्यटनको योजनासहित सरकार अघि बढिरहेको बताए । ‘एक जना व्यक्तिकै पहलमा आठ हजार लोकबाजा संकलन भइसकेको रहेछ,’ उनले लोकबाजा संग्रहालयको सन्दर्भ उप्काउँदै भने, ‘तिनलाई व्यवस्थित पार्न हामी संग्रहालय नै निर्माण गर्दै छौं ।’ उनले नेपाली गीत, संगीत, सम्पदा र कलाजन्य सामग्री अन्य भाषामा अनुवाद गरेर पनि पर्यटन प्रवर्द्धन गर्न सकिने औंल्याउँदै त्यसका लागि सरकार तयार रहेको बताए । नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्यले कलाकर्मीसँग सिर्जनात्मक सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

प्रकाशित : आश्विन १, २०७६ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्