कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वीरकाजीको माया, धनकाजी भिलेन

सुशील पौडेल

काठमाडौँ — यसै शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘कबड्डी कबड्डी कबड्डी’ मा पनि वीरकाजीलाई सुख भने छैन । कारण, अर्का धनकाजी वीरकाजीको प्रेममा ‘भिलेन’ बनेर देखापरेका छन् । तर यसपटक मायाको खेलमा नयाँ सोल्टिनीको प्रवेश भएको छ ।

वीरकाजीको माया, धनकाजी भिलेन

अब वीरकाजी मैयाकै मायामा अडिग रहला वा नयाँ सोल्टिनीले उसको मायाको सिद्धान्त नै डगमगाइदिने गरी प्रेमको जाल बिच्छ्याउन सफल होली ?


मुस्ताङको हिमाली गाउँका थकाली समुदायको संस्कृतिलाई समातेर ‘कबड्डी’ मार्फत् मौलिक कथा पस्केका निर्देशक गुरुङले दोस्रो संस्करणमा प्रेमसँगै राजनीति घुसाए । यसपटक भने उनले स्वजातीय विवाह संस्कृति रहेको थकाली समाजमा अन्तरजातीय विवाहको नयाँ कथा जोडेको बताएका छन् ।


बमकाजीको भूमिकामा दयाहाङ राई र मैयाको भूमिकामा रिश्मा गुरुङले निरन्तरता पाएका छन् भने धनकाजीका रूपमा विल्सनविक्रम राई छिरेका छन् । नयाँ सोल्टिनीका रूपमा उपासना सिंह ठकुरी र उनको प्रेमीको रूपमा कर्मा पनि यसपटक मायाको कबड्डी खेल्न आइपुगेका छन् । सोमबार निर्देशक गुरुङ कबड्डीका नयाँ खेलाडीहरू विल्सन र उपासनाका साथमा देखिए ।


तक्मेबूढाको ट्याग भिर्दै आएका विल्सनले आफूलाई धनकाजीमा ढाल्न निकै चुनौती भएको बताए । ‘तक्मेको चरित्रमा रहेर कमेडी गर्दै आएको मलाई अरू फिल्ममा पनि त्यस्तै चरित्रमा खेलाउँदा काम गर्न खासै गाह्रो थिएन,’ विल्सनले पत्रकार भेटघाटमा भने, ‘तर यसपटक त्यस्तो भएन । धनकाजी बन्न धेरै नै च्यालेन्ज भयो ।’ त्यसो त उनले सुरुकै सट दिँदा उनी फेल भएका रहेछन् ।


कुरोको चुरो खोल्दै उनले थपे, ‘सट त दिएँ तर निर्देशकले न ओके भने न कट नै । मलाई तनाव भयो । पछि पो भनियो, हिरो बनाउन ल्याएको थियौं, कहाँ चंखे बनिरहेको ?’ पछि पो लाग्यो, म अझै तक्मेबूढाकै धङधङीमा रहेछु ।’ उनले कलाकारहरूमा कामलाई भन्दा बढी पारिश्रमिकलाई महत्त्व दिन थालेकोले पनि यस्तो समस्या आएको स्वीकार गर्छन् ।


विल्सनले ‘कबड्डी कबड्डी कबड्डी’ आफ्ना लागि ठूलो सिकाइ भएको जिकिर गरे । भने, ‘यसअघि मैले कथा पढ्दै नपढी र चरित्र बुझ्दै नबुझी बुझेको स्वाङ पारेर काम गर्दो रहेछु । फिल्म गर्नुअघि पटकथा पढ्नै पर्ने रहेछ, आफ्नो चरित्र बुझ्नै पर्ने रहेछ ।’ त्यसो त विल्सनले यसअघिका फिल्ममा आफू तक्मे नै बनेर जे गरे पनि ठीक छ मात्रै भनिएकाले पनि यावत् कुरा बुझ्न नपाएको तर्क गर्छन् ।


वीरकाजीको प्रेम र मैयाको तिरस्कारको कथा लिएर अघि बढिरहेका निर्देशक गुरुङलाई दुईलाई मिलाइदिन दर्शकबाट धेरथोर दबाब र आग्रह पनि आउने रहेछ । उनी स्वयंलाई पनि हिजोआज ‘कबड्डी’ का पात्रहरूप्रति आत्मीयता बढ्दै गएको छ रे । नत्र ‘कबड्डी’ मात्रै बनाउने भनेका उनी तेस्रो संस्करणसम्म आइपुग्दैनथे होलान् । अब भने चौथो संस्करणमा पुगेर यसलाई टुंग्याउन चाहन्छन् । भन्छन्, ‘यसका पात्रहरूसँग मेरो एकखाले आत्मीयता बढिसक्यो । यसको सिरिजमा काम गर्दा छुट्टै आनन्द आउँछ । जोस बढ्छ ।’


‘क्याप्टेन’ डेब्यु गर्ल उपासनाको यो दोस्रो फिल्म हो । फिल्म खेल्नुअघि उनलाई ‘कबड्डी’ को नाम र सौगात मल्लका बारेमा मात्रै जानकारी रहेछ । फिल्म खेल्न राजी भएकै दिन उनले निर्देशकलाई सोधेकी रहिछन्, ‘यसमा सौगात दाइ पनि हुनुहुन्छ ?’ छैन भन्ने उत्तर पाउँदा केही खिन्न भइछन् । तर यतिबेला भने उनी खिन्न छैनन् ।


सुटिङ दौरान उनलाई दयाहाङ र विजय बरालले निकै सघाएको बताउँछिन् । रिलिजपछि फिल्मले पाउने रेस्पोन्सका लागि उनी अहिल्यैदेखि रोमाञ्चित छन् । त्यसो त विल्सन पनि तक्मेबूढाको ट्यागबाट सिफ्ट हुने पर्खाइमा छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?