१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भुलूँ भुलूँ लाग्यो मलाई...

दीपक परियार

पोखरा — भर्ती ननापी विदेश पसे विक्रम गुरुङ । केटाकेटीलाई अंग्रेजी पढाउने जागिर खान हङकङ पुगेका उनी संगीतकर्मबाट टाढा बसेनन् । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) स्थापना गर्दाका जगमध्येका उनलाई आफ्नै संस्थाले पोखरामा उभ्यायो, संगीतकार, गीतकार र गायकका रूपमा ।

भुलूँ भुलूँ लाग्यो मलाई...

उनी घर फर्किए । स्मृतिमा हराए । लयम सुनिए । ३० दशकपछि पुनः पोखरा उद्योग वाणिज्य संघको हल आफ्नो स्वरले गुञ्जायमान बनाए । पोयुसापले शुक्रबार साँझ विक्रमको एकल गायन कार्यक्रम ‘लयमा विक्रम’ गरेको हो ।


कार्यक्रममा उनले आफूद्वारा लिखित र संगीतबद्ध १४ गीत गाए । कार्यक्रमको सुरुआतमै अरुण थापालाई सम्झिए, जसलाई उनले ‘गायक अरुण थापा’ बनाएका थिए र गाए अरुण थापाको पहिलो रेकर्डेड गीत ‘कतै टाढा तिमीबाट पुगेँ भने...।’ उसो त उनले सदाझै कार्यक्रम अवधिभर बीचबीचमा अरुणलाई सम्झिइरहे । अरुणको पोखरा आगमन सम्झिए । उनको आरोह, अवरोह सम्झिए । घरी–घरी भावुक बने । गाए, ‘मीठा मीठा क्षणहरू बिर्सन नसकिने...।’


गीतको रचनागर्भ सुनाउँदा उनले मित्रतालाई कतै छुटाएनन्– आफ्नो र सरुभक्तको, तीर्थ श्रेष्ठको, विनोद गौचनको, अरुण थापाको । ६ कक्षादेखि स्नातकसम्म सँगै पढेका सरुभक्तसँगको स्मरणमा उनी धेरै रसिक सुनिए । दर्शकदीर्घामा बसेर विक्रमलाई सुनिरहेका सुरुभक्त मुसुमुसु हाँसिरहे ।


कुनै सन्दर्भमा सरुभक्तले भनेका थिए, ‘हङकङ पोखरा, निर्मोही आफ्नो को छ र’ गीत विक्रमलाई सम्झिएर लेखेको हुँ ।’ गीतको स्थायी ‘बिदेसिनु लेखियो कर्मैमा, भाला रोपी नबोल मर्मैमा...’ विक्रमकै सम्झनामा कोरिएको हो । पञ्चासेको लजमा बसेर कोरिएको गीत पछि कन्दरा ब्यान्डका विवेक श्रेष्ठले गाए ।


भारतीय सेना बुबाले विक्रमलाई लाहुरे बन्न भनेनन् । बालककाल देहरादुनमा बिताएका उनले पोखरा आएर हालको गण्डकी बोर्डिङमा पढे । पृथ्वीनारायण क्याम्पसमा आईएस्सी पढ्दा गीतसंगीतमा खुब लगाव बस्यो । सरुभक्त, गितार र क्याम्पस छेउछाउका ओढार उनका साथी बने । त्यतिखेरै रचिएको हो, ‘लाहुरे हुन्छु भन्छन् सबैले...।’


यही गीत सरुभक्तको पहिलो पूर्णांकी नाटक ‘एउटा घरको कथा होइन’ मा समेटियो । विदेशमा धन भए पनि लाहुरे बनेर आफ्नो देश छोड्न नहुने मर्म गीतमा छन् । विक्रम लाहुरे भएनन् तर जन्मठाउँ छोडे । सायद उनले एउटा मात्रै होइन, हजार सपना देखे । सपना पूरा गर्न परदेश हान्निए । सरुभक्तले गीत लेखे, उनले गाए–

‘एउटै मात्र सपना होइन, हजार सपना देख्ने गर,

वनको एउटा फूललाई भन्दा वसन्तलाई नै टिप्ने गर..’


त्रिभुवन विश्वविद्यालयमा स्नातक पढ्दा विक्रम र सरुभक्त कीर्तिपुरको एकै कोठामा बस्थे, जुन कोठाको झ्यालबाट पूरा सहर देखिन्थ्यो । विक्रमले एक लाइन मात्रै स्थायी भएको गीत लेखेका थिए । एक दिन सरुभक्तले झ्यालबाट बाहिर हेर्दै त्यही गीत गुन्गुनाइरहे । विक्रमले गितार समातेर लय भरे । अहिले त्यही गीत नेपथ्य ब्यान्डले समेत गाएको छ, ‘कुरूप अनुहार हो, यहाँ कुनै साथी छैन ।’ ३४ वर्षअघि वाणिज्य संघकै हलमा उनीद्वारा स्थापित अन्नपूर्ण ब्यान्डले यही गीत प्रस्तुत गरेको उनले भुलेनन् ।


उनले प्रकट पंगेनी ‘शिव’ को रचनामा ‘जति माया आफ्नो लाग्छ...’ गाएर सुनाए । २०५६ मा विक्रम बिदामा नेपाल आए, उद्देश्य थियो अन्नपूर्ण आधार शिविर पुग्ने र केही गीत रेकर्ड गर्ने । काठमाडौं आएपछि अरुण थापालाई खोजे, भेटेनन् । खोज्ने जिम्मा नेपथ्य ब्यान्डका गायक अमृत गुरुङलाई दिए । अमृतले अरुणलाई भेटेपछि विक्रमलाई काठमाडौंकै नमस्ते स्टुडियोमा बोलाए । विक्रम पुग्दा अरुण रुखमुनि बसिरहेका थिए । हातमा प्लास्टिक झोला बोकिरहेका ख्याउटे, कमजोर अरुण देख्दा विक्रमको मन रोयो ।


अरुणलाई भोटेबहालको एक होटलमा लगेर राखे । त्यहाँ पनि अरुण टिकेनन् । अर्को दिन बागबजारको होटलमा सारे । स्टुडियोबाट नजिकै थियो त्यो होटल । गीत रेकर्डिङ तय भएको दिन अरुण आएनन् । उनलाई खोज्न भाइ किरण थापा गए, कहीँ भेटेनन् । विक्रम हङकङ फर्किए । एक–डेढ महिनापछि किरणले विक्रमलाई फोनमा भने, ‘अरुण त हिँड्यो ।’


विक्रमलाई थाहा थियो अरुणको आयु लामो छैन । तैपनि उनलाई दुःख लाग्यो । पछि अरुणको शवयात्रा नारायणगोपालको जत्तिकै भव्य भएको सुनेपछि उनमा चैन आयो । त्यतिखेर अरुणलाई दिन नपाएको गीत उनले शुक्रबार आफ्नै स्वरमा सुनाए–

‘एकै युगपछिको तिम्रो स्मृति अझै पनि कालो लाग्छ...’


उनले थापाकै स्वर रहेको चर्चित गीत ‘आँखाको निद खोसी लाने...’ सहित ‘मेरो भाग्य मैसँग रिसाएजस्तो...’, ‘विरह चलेजस्तो लाग्छ...’ लगायत गीत सुनाए । फेवाताल सिरान भदौरे तामागीबाट उनलाई सुन्न उनका आफन्त आए । लडाइँ जितेर घर फर्किएको लाहुरेलाई झैं सम्मान गरे । गीतमा अँधेरी रुचाउने उनको अनुहार उजेलियो ।


उनलाई अरुण थापा बिते पनि उनको चुली दिनप्रतिदिन बढ्दै बढ्दै गएजस्तो लाग्छ । ‘अरुणको कुरा गर्दा पोखरा छुट्दैन,’ उनले भने, ‘पोखराको कुरा गर्दा अरुण छुट्दैन ।’ अरुणकै सम्झनामा अन्तिम गीत गाए–

‘भुलूँ भुलूँ लाग्यो मलाई सपनीमा मिठो लाग्दैन बिपनी...

रोजूँ रोजूँ लाग्यो मलाई अँधेरी नै, मीठो लाग्दैन उजेली....

हो..........मीठो लाग्दैन उजेली...

प्रकाशित : भाद्र ३०, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?