भिराडिलमा चित्र र कविता

काठमाडौँ — सहरको छेवैमा छ भिराडिल । कीर्तिपुर र चन्द्रागिरि नगरपालिका जोड्ने यो थलोमा वर्षौं पुरानो झोलुङ्गे पुल छ । पुलमुनि बल्खु खोला बगिरहेको छ । अक्करे भीर या कुनै पुरानो गाउँको झल्को दिने दृश्य खिच्नुपरे फिल्मकर्मीहरू यहीँ पुग्छन् । पुलमा उभिँदै गर्दा कुनै दुर्गम गाउँ पुगेको आभास हुन्छ ।

भिराडिलमा चित्र र कविता

सहर नजिकैको यही थलोमा आइतबार चित्रकार र कविहरूको एउटा समूह हाइकिङ गर्दै पुग्यो । चित्रकारले क्यानभास रंगाउँदै गर्दा कविहरूले वनजंगल डुल्दै सिर्जना कोरे । गाउँले साक्षी राखेर कविता सुनाए, चित्रकारले घुम्ती प्रदर्शनी गरे ।


कला, साहित्य र रंगमञ्चमार्फत स्थानीय मौलिक संस्कृति र पहिचान खोतल्ने अभियान ‘जेसुम’ लिएर स्रष्टाहरू यहाँ आइपुगेका हुन् । कलंकी तीनथानाबाट बिहानै पैदलयात्रा गर्दै कीर्तिपुरको बाघभैरव, उमामहेश्वर मन्दिर, गुम्बा र पुराना नेवार सांस्कृतिक गल्ली छिचोलेर साहित्यकार, चित्रकार र रंगकर्मीहरू भिराडिलमा पुगेका थिए । उनीहरूलाई तीनथानाका वडाअध्यक्ष उत्तमबहादुर राउत र स्थानीयले स्वागत गरे । स्थानीय अगुवा कृष्णहरि कार्कीले भिराडिल र तीनथानाको इतिहास र संस्कृति प्रकाश पारे ।


‘पृथ्वीनारायण शाहले काठमाडौं र कीर्तिपुर हमला गर्ने बेला यहाँ तीनवटा थाना बनाएका कारण यो गाउँको नाम तीनथाना रह्यो’, कार्कीले भने । बाहुन, क्षत्री, नेवार र मगर समुदायको बसोबास रहेको यो थलोमा बिस्तारै मौलिकता गुम्दै गएको प्रति स्थानीयले चिन्ता प्रकट गरे । कविहरूले डायरी टिप्दै गए ।


आधुनिकताका नाममा अन्धाधुन्ध संरचना बन्दै जाँदा तीनथानाको पहिचान संकटमा परेको बताउँदै वडाअध्यक्ष राउतले गाउँको सांस्कृतिक र मौलिक पहिचान उत्थानमा आफू सक्रिय रहेको बताए ।


स्थानीयको भाव र विचारलाई स्रष्टाहरूले सिर्जनामा प्रस्तुत गरे । चित्रकार दीपेन्द्रमान बनेपालीले पर फाँटमा देखिने बौद्ध स्तूप, भिराडिलपारिको जंगल र सहरीकरणको चपेटालाई क्यानभासमा उतारे । डीबी राईले कंक्रिटले छोप्दै लगेको सहरी दृश्यचित्रलाई कीर्तिपुरसँग तालमेल गराएर चित्र कोरे भने बाबु साइँलाले पनि तीव्र सहरीकरणले संकटमा पर्दै गरेको सम्पदाको अवस्थालाई रंग दिए ।


कविहरू स्नेह सायमी, अनीता लामा, रमेश कँडेल, गणेश बुढा, धर्मानन्द भट्ट, मीन बाब्ली मिलनले कविता सुनाउँदा गाउँलेहरू भिराडोलमा बस्दै गरेको पार्कमा भेला भएका थिए । सायमीले आमालाई बिम्ब बनाएर हराउँदै गएको मौलिकताप्रतिको मोहलाई उतारे भने लामाले एउटा व्यक्तिकै पहलमा पनि समाजमा सकारात्मकता फैलिन सक्ने भाव कवितामा समेटिन् । यही मेसोमा रंगकर्मी सोनाम तामाङ र सन्तोष तामाङले बाँसुरीमा लोकधुन पस्के ।


घुम्ती सिर्जना प्रस्तुतिपछि स्रष्टाहरू पुनः पैदलयात्रा गर्दै तीनथाना आइपुगे । यात्राको विर्सजन भने रविभवन आइपुगेर भएको थियो । ‘स्थानीय संस्कृति र सम्पदामाथि यतिबेला चारैतिरबाट आक्रमण भइरहेको छ,’ रविभवनस्थित कवि स्नेह सायमीको निवासमा मिनी कवि गोष्ठी र यात्राको समीक्षा गर्दै जेसुम अभियानकी संयोजक अनीता लामाले भनिन्, ‘यस्तो अवस्थामा हाम्रो सिर्जनामा हाम्रै ज्ञान प्रवर्द्धन हुनुपर्छ भन्ने मान्यतासहित स्वतन्त्र अभियान थालेका हौं ।’


समापन क्रममा आइपुगेकी प्राज्ञ लक्ष्मी मालीले पनि प्रविधि, आधुनिक सञ्चार र बजारमार्फत बाहिरी ज्ञानकै हालीमुहाली हुँदै गइरहेका बेला कला, साहित्य र रंगमञ्चमा मौलिकता बहस थाल्नु आफैंमा सकारात्मक भएको दाबी गरिन् ।

प्रकाशित : भाद्र ३०, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?