राष्ट्रिय चलचित्र कन्फरेन्स– ‘भित्री सुन्दरता खोजिनुपर्छ’

काठमाडौँ — नेपाली समाजमा पितृसत्तात्मक सोच हाबी छ । फिल्मलाई पनि समाजको दर्पण भनिँदै गर्दा यो क्षेत्र पनि महिलाप्रति खासै उदार नरहेको टिप्पणी उठिरहन्छ । नेपाली फिल्ममा महिलाको ‘स्पेस’ कस्तो छ त ? शनिबार यसै विषयमा महिला फिल्मकर्मीबीच बहस चल्यो ।

ह्युमन राइटस् फिल्म सेन्टरले राजधानीमा आयोजना गरेको राष्ट्रिय चलचित्र कन्फरेन्सको अन्तिम दिनको एक सत्रमा वक्ताका रूपमा उपस्थित अभिनेत्री सुरक्षा पन्तले सौन्दर्यताको प्रचलित मान्यतामा नै परिवर्तन आउनुपर्नेमा जोड दिइन् ।


‘हाम्रो समाजले महिलालाई बुझेको नै छैन,’ फिल्म ‘अझै पनि’ मार्फत् चार वर्षअघि अभिनेत्रीका रूपमा डेब्यु गरेकी पन्तले भनिन्, ‘शारीरिक बनावटका आधारमा सुन्दरताको वर्णन गरिन्छ । हामी यही रेडिमेड कुरामा अल्झिरहेका छौं । शारीरिक बनावटभन्दा पर गएर सुन्दरता खोज्न जरुरी छ ।’


पन्तले प्रेमकथामा बन्ने फिल्महरू ‘ओभर रेटेड टेलिङ’ हुने गरेको तर्क गर्दै थपिन्, ‘यथार्थभन्दा धेरै टाढा रहेर फिल्म बनाइन्छ । चरित्र पनि प्रायः एकैखाले मात्रै हुने गरेको छ ।’ ‘धनपति’ खेलिसकेपछि उनले आफूलाई एकै खालका ‘स्टेरियोटाइप’ का भूमिकामा मात्रै खेल्न प्रस्ताव आउने गरेको प्रसंग उल्लेख गर्दै क्षमतावान् कलाकार छन् भने चरित्रमा विविधता खोजी गर्नुपर्छ । दीपा बस्नेतले फिल्म ‘अन्तराल’ बाट निर्देशनमा डेब्यु गर्दैगर्दा अवस्था सहज थिएन । उनले काखे बच्चालाई नै च्यापेर फिल्मकर्ममा होमिएकी थिइन् ।


छलफल सत्रमा यही पृष्ठभूमि सुनाउँदै बस्नेतले महिलालाई नै प्रश्न तेर्स्याइन्, ‘हामी महिलाहरू नै आफ्नो स्पेस किन खोज्दैनौं ? पुरुषकै अघि गएर किन रुने ? हामी महिलाहरू नै आफ्नो अस्तित्व स्वीकार गर्न सकिरहेका छैनौं । हामी बोल्छौं मात्र तर व्यवहारमा लागू गर्न किन सकिरहेका छैनौं ?’ सम्झना उप्रेती रौनियारले ‘मेगा’ र ‘फागु’ जस्ता महिलाप्रधान फिल्म निर्देशन गरिसकेकी छन् ।


उनले फिल्म निर्माणमा पुरुषको तुलनामा महिलाहरू कम नभएको जिकिर गर्छिन् । भन्छिन्, ‘तथ्यांक नै हेर्ने हो भने पनि तीन सय जना पुरुष निर्देशक रहेको यस क्षेत्रमा एक दर्जन मात्रै महिला निर्देशक छन् । तर व्यावसायिक दृष्टिकोणले पनि नेपालको सर्वाधिक कमाइ गर्ने फिल्म ‘छक्कापन्जा’ महिला निर्देशक (दीपाश्री निरौला) ले नै बनाएको हो ।


तुलनात्मक रूपमै पनि धेरै पुरुष निर्देशकका फिल्म असफल छन् ।’ रौनियारले नारीप्रधान फिल्म बनिरहेको अवस्थामा नेपाली फिल्ममा महिलाले स्पेस बनाउँदै गइरहेको दाबी गर्छिन् ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?