१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धमाधम दसैंहा गीत

ठाकुरसिंह थारू

बर्दिया — कुनै समय यस्तो थियो, दसैं आउन झन्डै एक महिना बाँकी छँदै थारू गाउँलाई रौनकले छोप्थ्यो । शरद यामको खुसी गीतबाट व्यक्त हुन्थ्यो । कृषिकर्मबाट फुर्सदिला बन्दै गइरहेको बस्तीमा माया र प्रेमका भाकाहरू सुनिन्थ्यो–

धमाधम दसैंहा गीत

ए हो मदराके झलारमा मोर दिल बझ्गिल,

फूलहस सुन्दर मोरे गोरी दिल बैठगील...

गीतले भन्छ– मादलमाथि राखिएको कपडाको झलराले दिल बुझ्यो, फूलजस्तो सुन्दर मायालुसँग दिल बस्यो...। अहिले यस्ता गीतहरू गुन्जिन्छन् बस्तीमा । तर, पहिलेको जस्तो रौनक छैन । पहिले–पहिले भदौको हरेरी पूजापछि एक दिन बिराएर यहाँ हुरडुङ्गा नाच हुन्थ्यो । यही क्रममा गीत गाउने क्रम पनि सुरु हुन्थ्यो ।

यस्ता गीतलाई ‘दसैंहा’ भनिन्थ्यो । मादल बजाउने (मिरडँगिया) र नाच्ने (नाचनिया) बीच पैँया लगाएको दृश्य हराउन थालेपछि यहाँका केही युवा म्युजिक भिडियोमार्फत् यसको संरक्षणमा जुटेका छन् । दसैं नजिकिँदै जाँदा परम्परागत यस्ता गीतका म्युजिक भिडियो छायांकन धमाधम चलिरहेको छ ।

थारू मोडेल राजकुमार थारूले निजी लगानीमा दसैंहाको म्युजिक भिडियो ‘बैथक्कु’ बनाएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका मिर्चैया गाउँमा बिहीबार छायांकन गर्दा हेर्नेको भीड लागेको थियो । स्थानीयले पम्परागत दसैंहा गीत आफ्नै घर आँगनमा हेर्न पाएमा खुसी मनाए । ‘हाम्रा पुर्खाले बचाएको दसैंहा गीत अचेल मुस्किलले सुन्न पाइन्छ,’ स्थानीय लौटी चौधरीले भने, ‘पहिले एक दिन बिराएर नाचगान हुन्थ्यो । अहिले भिडियो बनाउने बहानामा भए पनि हेर्न पाइयो ।’

मोडेल राजकुमारले थारू संस्कृतिको संरक्षण र नयाँ पुस्तामा प्रवर्द्धनकै लागि नयाँ फर्मबाट गीतको मूल्य स्थापित गर्न खोजेको बताए । ‘मेला, पर्व या जात्राको पुरानो फर्मबाट मात्रै अब लोक गीतहरू सुरक्षित हुन सक्दैनन्,’ उनले भने, ‘नयाँ पुस्तालाई उनीहरूकै रुचाएको शैलीबाट प्रस्तुत गर्न सकियो भने लोप हुन थालेका सबै सिर्जना बचाउन सकिन्छ ।’ उनका अनुसार दसैंको अष्टमी र नवमीका दिन अचेल मुस्किलले नाच हुन्छ । त्यसैले पुर्खाले जोगाएर यहाँसम्म ल्याई पुर्‍याएको संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउन म्युजिक भिडियो बनाएको उनले बताए ।

यसअघि पनि दसैंसँग सम्बन्धित थुप्रै म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । बजार, मिडिया र अन्य माध्यमबाट लादिने फरक संस्कृति र कलाका कारण धरापमा पर्दै गइरहेको थारू समुदायको संस्कृति प्रवर्द्धनकै लागि युवाहरू जुटेका हुन् । थारूका अनुसार चाडपर्वका बेलामा केही हदसम्म परम्परागत गीत गुन्जिन्छन् ।

चाडपर्वअगावै थारू गाउँमा रौनक र खुसीको माहोल छाउनु उक्त समुदायको अर्को विशेषता हो । यति बेला गाउँमा दसैंको चर्चा सुरु भइसकेको छ । गाउँमा नभए पनि सार्वजनिक कार्यक्रममा युवकयुवतीहरू हुरडुङवा, सखिया र छोक्रा नाच गरेर परम्परा जोगाउने प्रयासमा छन् । परम्परा र मौलिक गीत, नृत्य र बाद्यवादन बिर्सिन थालेका केही थारू युवाले पुराना पिँढीबाट सिक्न थालेका छन् । दसैंका सबैजसो गीत रामायण र देवीदेउटासँग सम्बधित रहेको जानकारहरू बताउँछन् ।

पुराना पुस्ताले थारू संस्कृति र मौलिक गीतलाई २१ औ शताब्दीसम्म ल्याइपुर्‍याएका छन् । वर्षापछि धानलगायतका बाली हरियाली भएपछि थारू गाउँमा हरेरी पूजा हुन्छ । त्यस दिनदेखि थारू गाउँमा मादल बज्थ्यो । बालीनालीमा कीरा नलगोस् भनेर गरिने हरेरी पूजाले दसैं आउन थालेको संकेत गर्छ । त्यही दिनदेखि थारू समुदायले नाचगान गरी दसैंको अगमनलाई स्वागत गर्ने चलन छ ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?