कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रज्ञामा फिल्मी बहस

काठमाडौँ — राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबारदेखि सुरु तीनदिने राष्ट्रिय चलचित्र सम्मेलनमा स्वदेशी फिल्मका विभिन्न पाटाहरूमाथि बहस भएको छ । राजनीतिशास्त्री हरि शर्माले सम्मेलनको उद्घाटनपछि स्वदेशी फिल्मको समाजशास्त्रीय दृष्टि केलाउँदै प्रवचन दिए ।

प्रज्ञामा फिल्मी बहस

शर्माले आफ्नै कथा र प्लटको सृजना फिल्मकर्मी आफैंले बनाउन सके मात्रै मौलिक र स्वतन्त्र फिल्म बन्न सक्ने धारणा राखे । उनले फिल्म कसका लागि बनाउने भन्नेमा फिल्मकर्मी स्पष्ट हुन सक्नुपर्ने औंल्याएका थिए ।


सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा आहूतिको अध्यक्षतामा लोकरञ्जन पराजुलीले ‘नेपालमा फिल्म हेराइको सुरुवाती अवस्था’ माथि आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए भने सम्झना वाग्लेले ‘स्वदेशी फिल्ममा हुने लैंगिक प्रस्तुतीकरण’ तथा अनुभव अजित र उज्ज्वल प्रसाईंले संयुक्त रूपमा ‘नेपाली फिल्मको राष्ट्रवाद’ मा रहेर विचार प्रस्तुत गरेका थिए ।


त्यसैगरी, ‘स्वदेशी फिल्ममा विविधताको खोजी’ विषयक प्यानल छलफलमा भने फिल्म र यसको निर्माणका कमीकमजोरी र विविधीकरणका लागि चालिनुपर्ने कदमबारे निर्देशक दीपेन्द्र के खनाल, निर्माता तथा अभिनेता दीपकराज गिरी, कलाकार लक्ष्मी बर्देवा र राजनीतिशास्त्री सोमत घिमिरेले आआफ्ना धारणा राखेका थिए ।


‘यति बेला नेपाली समाजको ज्ञान निर्माण प्रक्रिया रोकिएकाले फिल्मको पनि गति रोकिएको हो,’ घिमिरेले भने, ‘म चाहन्नँ, फिल्म एक्लै सप्रियोस् । समाजका केही गलत मान्यता भत्काउनु छ । फिल्मले मात्रै यो लडाइँ लड्ने हैन ।’ उनले विज्ञहरू मिलेर हस्तक्षेप गरी ज्ञान निर्माण नगरी फिल्म पनि राम्रो बन्न नसक्ने जिकिर गरे ।


अभिनेता गिरीले भने स्वदेशी फिल्ममा विविधताका आशाका किरण देखा पर्दै गएको उल्लेख गर्दै राजनीतिले सही ट्र्याक समातिरहेको अवस्थामा फिल्म क्षेत्रले पनि गति लिने बताए । भने, ‘तर अझै पनि स्वदेशी फिल्मप्रति राज्य निरीह छ । सांस्कृतिक रूपमा पनि खुलेआम अतिक्रमण बढेको छ । यस्तोमा कम बजेट र कम गुणस्तरका स्वदेशी फिल्मले समान अवस्थामा प्रतिस्पर्धा गर्न सक्दैन । स्वदेशी फिल्म तब दर्शकले हेर्छन् ।’


निर्देशक खनालले विस्तारै समाजका कथा र पात्रहरू खोज्न थालिएकाले पनि स्वदेशी फिल्मले विविधता खोजिरहेको जिकिर गरे । ‘म यस क्षेत्रमा दस वर्षअघि आउँदाको अवस्था र अहिलेमा धेरै परिवर्तन भइरहेको छ,’ उनले भने ।


पछिल्लोपटक फिल्म ‘बुलबुल’ मा देखिएकी कलाकार बर्देवाले भने अझै पनि नेपाली फिल्मले चरित्रमा विविधता अपनाउन नसकेको बताइन् । ‘मैले ‘बुलबुल’ गर्नुअघि नयाँनयाँ चरित्रमा अफर नै आएको थिएन,’ ‘बुलबुल’ मा टेम्पो चालकको भूमिकामा देखिएकी बर्देवाले भनिन्, ‘तर त्यसपछि त झनै आएन । बरु टेम्पो चालकको ठाउँमा ट्याक्सी चालक भएका चरित्र खेल्न अफर गरियो । उही मुख छोड्ने संवाद भएका चरित्रमा खेल्न भनियो ।’


उनको आशय नेपाली फिल्मकर्मी जे चल्यो, त्यसैको पछाडि दौडिने गरेकोमा थियो । समाजशास्त्री घिमिरेले भने अझै पनि फिल्मकर्मीमा विषयगत अध्ययन, अनुसन्धानमा कमी रहेको आरोप लगाउँदै थपे, ‘नेपाली फिल्ममा अनुसन्धानको कत्तिको प्रयोग हुन्छ ? बजारले कत्तिको कन्ट्रोल गर्छ ? फिल्मकर्मीलाई केको दबाब होला ? कुन चिन्तन प्रणालीद्वारा चल्छन् होला ? मेरो मनमा ठूलो प्रश्न छ ।’


शुक्रबार स्वदेशी फिल्मलाई राजनीतिक दृष्टिकोणबाट ठाकुर गैरे, अरुणदेव जोशी र डिला संग्रौलाले छलफल गर्ने छन् भने नवनिधि दाहालले अनुभवको आलोकमा नेपाली फिल्म शिक्षा, अनुप सुवेदीले नेपालमा फिल्मसम्बन्धी नीतिको पुनरावलोकन गर्ने छन् भने फिल्मकर्मी नीर शाहले नेपाली फिल्म क्षेत्रमा आफूले बिताएका पाँच दशकको अनुभव र अनुभूतिबारे मन्तव्य दिने छन् । कन्फरेन्सलाई ह्युमन राइट्स फिल्म सेन्टर र चलचित्र विकास बोर्डले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

प्रकाशित : भाद्र २७, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?