१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुग्लानीहरुको कथा

काठमाडौँ — पहिले पहिले नेपालीहरू रोजगारीका लागि अन्य मुलुक जाने प्रचलन थिएन । अहिलेजस्तो खाडी मुलुकमा श्रम अनुमति खुलेको पनि थिएन । काम खोज्दै भारत जाने लर्को भने त्यतिबेला खुबै हुन्थ्यो ।

मुग्लानीहरुको कथा

यसरी जानेहरूलाई ‘ मुग्लानवासी’ या ‘मुग्लानी’ भन्ने गरिन्थ्यो । तिनै मुग्लानीहरूको कथा टिपेर पञ्चायतकालमै भीमनिधि तिवारीले नाटक ‘टीका’ लेखेका थिए । उति बेलाको मुग्लानी कथा यति बेलाको प्रवासी व्यथाको रूपमा राजधानीमा मञ्चन भइरहेको छ । बिजुलीबजारस्थित कुञ्ज थिएटरमा नाटक मञ्चन जारी छ ।


आफ्नो रोजीरोटीका लागि मुलुकभित्र सम्भव नभएपछि छिमेकी भारतमा कुल्ली र दरवान बन्न जानेहरूको कथालाई उति बेला तिवारीले एकांकी नाटकमा टिपेका थिए । देश, परिवेश र समय फरक पनि अहिले प्रवासमा दुःख गर्नेहरूको कथासित नाटक ‘टीका’ ले बोकेको विषयवस्तु र पात्रहरूको संवेदना ठ्याक्कै मिल्छ ।


मुलुकमा रोजगारीको अभावका कारण लाखौं नेपाली प्रवासमा पसिना बगाइरहेका छन् । रेमिट्यान्सले देश चलिरहेको छ । युवा विदेश नगएको कुनै पनि गाउँ भेट्टाउन मुस्किल छ । परिवारको सुन्दर भविष्यको कल्पना गरी बिदेसिएका छोरा, छोरी, पत्नी या पतिको पर्खाइ गरिरहेको आफन्तीहरू जुनसुकै गाउँठाउँमा भेटिन्छन् । यस्तै पात्रहरूको मनोदशालाई नाटक ‘टीका’ ले प्रस्तुत गरेको छ ।


समित सापकोटाले निर्देशन गरेको नाटक हेर्दै गर्दा वैदेशिक रोजगारका कारण आइपर्ने सांस्कृतिक जटिलताहरू उति बेला पनि उत्तिकै थिए भन्ने महसुस हुन्छ । परिवारको एक्लो छोरो कमानसिंह रोजगारीका लागि बूढी आमा, सानो छोरा र श्रीमती छाडेर भारततिर लाग्छन् । निम्न मध्यमवर्गीय यो परिवारमा आयः आर्जन मूलस्रोत नै विदेशी भूमिको कमाइ हुन्छ ।


तर, पितृको श्राद्ध गर्दा छोरा चाहिने पुरानो मान्यता भए पनि कमानसिंह घरमा नभएकाले आमाले नै श्राद्धको काम गर्छिन् । नाटकमा ठुल्दाइ, झम्के, कमले, सुन्दरेजस्ता पात्रहरू पनि छन्, जो मुलुकभित्रै बेरोजगार बन्न बाध्य छन् । हरेक हिसाबले सक्षम युवा जनशक्तिसमेत मुलुकले सही रूपमा उपयोग गर्न सकेको छैन भन्ने पाटोलाई पनि नाटकले प्रस्तुत गरेको छ । घरमा लोग्ने मान्छे नहुँदा स्वास्नी मान्छेमाथि समाजले हेर्ने दृष्टिकोण, उसले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारीलाई नाटकमा यथार्थ रूपमा प्रस्तुत गरिएका छन् ।


आफन्त नहुँदा बेस्वादिलो लाग्ने चाडपर्वको रौनकदेखि विवाहित महिलामाथि पुरुषले राख्ने गिद्धे दृष्टिकोणसमेत नाटकमा देख्न पाइन्छ । दसैं आउनुपूर्वको हर्षोल्लास, दसैंका लागि खसीबोका जोहो गर्ने सन्दर्भ, गाउँघरमा खेलिने लंगुरबुर्जालगायतका दृश्यले नाटकलाई सांस्कृतिक रंग दिन्छ । एउटै कलाकारले नाटकमा घरी वयस्क, घरी बालक जस्ता फरक–फरक चरित्र निभाएका छन् ।


आफ्नै परिवारसँग चाडपर्वमा सँगै नहुँदाको पीडालाई नाटकमा निकै अर्थपूर्ण रूपमा प्रस्तुत गरिएको छ । जतिसुकै राम्रो अवसर भए पनि आफ्नै मुलुकमा पसिना बगाएर परिवारसँगै बस्न पाउनुपर्छ भन्ने सन्दर्भलाई नाटकले वकालत गर्न खोजेको छ । प्रत्यक्ष गीतसंगीत, मञ्चको उचित व्यवस्थापन, प्रकाश संयोजनलगायतका पक्षले पनि नाटकलाई अब्बल बनाउन सघाएको छ ।


भदौ ३१ गतेसम्म मञ्चन जारी रहने नाटकमा विनीता गुरुङ, श्रवण राणा मगर, राजकमल फकिर, न्हुज महर्जन, दीपेश काफ्ले, शारदा अधिकारी, सविन भट्टराई, मणिराज पौडेललयायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित : भाद्र २६, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?