होलेरीमा “पानी फोटो”

काशीराम डाँगी

रोल्पा — केही वर्ष यता रोल्पाको होलेरीमा शान्ति केन्द्रित गतिविधि वृद्धि भएका छन् । अहिले यहाँ बम र बारुदको गन्ध विल्कुल छैन । सशस्त्र द्वन्द्वकालीन पीडा भुल्दै होलेरी मात्र होइन, पूरै रोल्पाले शान्तिकालीन श्वास फेरिरहेको छ ।

त्यसैले बम र बारुदको बादल फाट्दै यति बेला रोल्पा र होलेरीमा शान्ति, समृद्धि र प्रगतिको आकाश फराकिलो बनिरहेको छ । कुनै बेलाको द्वन्द्वग्रस्त यो भूमिमा यति बेला फिल्मकर्मीहरू आइपुगेका छन् । खगेन्द्र लामिछानेको निर्देशन रहेको फिल्म ‘पानी फोटो’ को होलेरीमा धमाधम छायांकन भइरहेको छ ।

‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता सामाजिक धारका फिल्म निर्माण गरिसकेको टुकी आर्टस्ले द्वन्द्वकालकै कथामा ‘पानी फोटो’ लाई यहाँ छायांकन थालेको हो । यसअघि नाटकको रूपमा मञ्चन भइसकेको ‘पानी फोटो’ को लेखन निर्देशक स्वयंले गरेका छन् । ‘विगतको सशस्त्र द्वन्द्वको प्रभाव देखाउन खोजेको हुँ,’ लामिछानेले बताए ।

उनका अनुसार उक्त फिल्ममा पन्ध्र वर्षअघि द्वन्द्वका कारण बेपत्ता भएको व्यक्तिको बाबुआमाको कथा समेटिएको छ । छायांकन गर्दा फिल्मको कथाजस्तै रोल्पाको गाउँ, बस्ती र पाखा पखेरा समेटिने उनले बताए । सशस्त्र द्वन्द्वका कारण परिवारको प्रिय व्यक्ति लामो समय बेपत्ता हुँदा परिवारमा कस्तो अवस्था आइपर्छ ? परिवारले के भोगेको हुन्छ ? त्यसबाट समाजमा कस्तो प्रभाव पर्छ ? फिल्मले खोतल्ने छ ।

यति बेला फिल्म युनिट दक्षिण रोल्पाको रुन्टिगढी गाउँपालिका आइपुगेको छ । केही दिन यहीँ रहेर युनिटले रुन्टिगढीभित्र पर्ने होलेरी बजार, खस्रे डाँडा, सैबाङ क्षेत्र, जौंलीपोखरी, दहवन, भांगोबारी क्षेत्रमा छायांकन गर्ने छ । सुन्दर प्राकृतिक क्षेत्रलाई चलचित्रमा समेटिए पनि कथा भने दुःखदायी हुने बताइएको छ । कथा तत्कालीन माओवादीले २०५२ फागुन १ बाट रोल्पाको होलेरीबाट सुरु गरेको सशस्त्र द्वन्द्व र त्यसको प्रभाव सेरोफेरोमै केन्द्रित हुने छ ।

फिल्ममा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछानेलगायत मुख्य भूमिकामा छन् । प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, अजस्र ढुंगाना, कमलमणि नेपाल, आशान्त शर्मा, राधा श्रेष्ठ, श्यामकुमार खड्का, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डेलगायतको पनि अभिनय रहने छ ।

दीपक वज्राचार्य छायांकनमा व्यस्त छन् । निर्माण टोलीले दुईपटक आएर रोल्पामै छायांकन स्थलको सुनिश्चितता गरेका हुन् । कथाअनुसारको छायांकन स्थल र छायांकन स्थलअनुसारको कथा तयार गरिएकाले समय लागेको निर्देशक लामिछानेले बताए । उनले यस फिल्मले वास्तविक समाजको ऐना सार्वजनिक गर्ने विश्वास व्यक्त गरे ।

छायांकन स्थल रोल्पामा छनोट गर्नुको कारणबारे लामिछाने भने, ‘सशस्त्र द्वन्द्वको सुरुवात पनि रोल्पाबाट भएकाले छायांकन अन्यत्र गर्नुको खासै अर्थ छैन । त्यसैले हामी यहाँ आयौं ।’ फिल्ममा स्थानीय मगर समुदाय, उनीहरूको लय, भाका र भेषभूषा र संगीतलाई पनि समेटिने उनले बताए । स्थानीय संस्कृतिलाई फिल्ममार्फत् राष्ट्रियकरण गर्न सकिने उनको मत छ ।

गाउँमै छायांकन गर्न आँगनमै कलाकार आएपछि स्थानीय खुसी छन् । कलाकारलाई आफ्नैअघि भेटेका गाउँपालिकाका प्रमुख बालाराम बुढाले खुसी व्यक्त गर्दै होलेरीले शान्ति र प्रगतिको सन्देश प्रवाह गरेको दाबी गरे । भने, ‘तत्कालीन सशस्त्र द्वन्द्वका बेलामा होलेरीमा कोही आउन सक्ने अवस्था थिएन । सबै डराउँथे । तर अहिले राष्ट्रिय कलाकारलाई ल्याउन सक्यौं ।’

यसअघि गाउँपालिकाकै आयोजनामा होलेरीमा बेग्लाबेग्लै समयमा विकास र अक्षर सम्मेलन सम्पन्न गरेका उनले शान्ति प्रक्रियापछि विकासले गति लिन थालेको बताए । फिल्मले होलेरी क्षेत्रलाई पनि चिनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी जीएमले बताए ।

द्वन्द्व र होलेरी
दक्षिण रोल्पामा अवस्थित होलेरी तत्कालीन सशस्त्र द्वन्द्वको पहिलो निसाना गरिएको मुख्य स्थल हो । त्यसैले द्वन्द्वपछिको राजनैतिक चर्चासँगै होलेरीको चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भएको थियो । २०५२ फागुन १ मा तत्कालीन माओवादीले होलेरी प्रहरी चौकीमाथि पहिलोपटक आक्रमण गरेपछि चर्चा चुलिएको हो ।

विद्रोहीले पुनः २०५८ मा होलेरी प्रहरी चौकीमाथि आक्रमण गरेका थिए । त्यस क्रममा एक प्रहरीको हत्या गरिएको थियो भने करिब ७२ प्रहरी विद्रोहीको नियन्त्रणमा पुर्‍याइएका थिए । उक्त घटनालगत्तै सेना परिचालन गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपरेको थियो । सेना परिचालन गर्न गरेको प्रयासमा तत्कालीन राजा वीरेन्द्रले समर्थन नदिँदा कोइराला प्रधानमन्त्रीबाट हट्नु परेको थियो ।

प्रकाशित : भाद्र २६, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

दलित बस्तीमा पुरुषजति मुग्लान

आफ्नो खेतबारीको उब्जनीले तीन महिनाभन्दा बढी नधान्ने भएकाले कमाउन परदेस जाने चलन फेरिएको छैन
काशीराम डाँगी

अरेस, रोल्पा — दलित र गैरदलितको बराबर बसोबास रहेको यहाँको कोइरालखर्क गाउँका धेरैजसो दलित मुग्लान पसेका छन् । उनीहरू कमाउनका लागि त्यता गएका हुन् । भारतको चण्डीगढमा चौकीदारी, कुल्ली र हिमाचलसम्म पुगेर खेतीकिसानी गरेर यहाँका दलितले घरखर्च चलाउने गरेका छन् । 

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं ८ अरेसको चिन्ने गाउँकी १०३ वर्षकी ज्येष्ठ नारी ललिता घर्तीमगर बुहारी तिलसरी र नातिनी इमाका साथ घरमा ।तस्बिर : काशीराम/कान्तिपुर

रोल्पालाई आधार क्षेत्र बनाएर विगतमा भएका राजनीतिक परिवर्तनले यहाँका विपन्नलाई छोएको छैन । ‘काम खोज्न हाम्रा गोसाँ (श्रीमान्) इन्डिया पुगेका छन्,’ कोइरालखर्क गाउँकी ४७ वर्षीया ओबिकला सुनारले भनिन्, ‘भएको एउटा छोरा पनि सँगसँगै गएको छ ।’

ओबिकलाका ६२ वर्षका श्रीमान् मानसिंह र १८ वर्षका छोरा अनिल भारत पसेको एक वर्ष भयो । पेट र ढाडको समस्याले थलिएपछि बिरामी छोरालाई वृद्ध बाबुले कमाउँदै उपचार गर्न साथै लगेका हुन् । गाउँघरमा कमाइ गर्ने उपाय नपाएपछि मानसिंह भारत झरेकोओबिकलाले बताइन् ।

ओबिकलाकी २१ वर्षकी छोरी पिंकीको विवाह भइसकेको छ भने ज्वाइँ पनि ससुरासँग कामको खोजीमा भारत गएका छन् । रोग लागेर देब्रे खुट्टा काटेर फालेपछि ओबिकलालाई हिंडडुल गर्न मुस्किल छ । ‘खुट्टा काटेपछि माइती गाउँ बडाचौर नगएको वर्षौं भयो,’ उनले भनिन्, ‘हिंडडुल त के घरकै काम गर्न पनि सक्दिनँ ।

जेठाजुकी बुहारी रामसरीले सघाउँदै आएकी छन् ।’ काम खोज्न भारत पस्नेहरूले स्थानीय शिक्षक, साहुमहाजन र कथित माथिल्लो जातिका अगुवाबाट चर्को ब्याजमा ऋण लिने गरेका छन् । ‘भारतमा पनि कमाइ भएन भने झन् चर्को ब्याज हुन्छ,’ ओबिकलाले भनिन्, ‘घर खर्च नपुग्दा ब्याजमै लिएको पैसा पनि चलाउने गरेका छौं ।’

कतिपय अवस्थामा सयकडा तीन/चार प्रतिशतसम्म ब्याज लिने गरेको उनले सुनाइन् । कोइरालखर्क गाउँकी १४ वर्षकी सेमा सुनारलाई कक्षा ७ भन्दा माथि पढ्न समस्या भयो । गाउँमा कक्षा ८ सम्म मात्रै पढाइ हुने विद्यालय छ । ‘आर्थिकसमस्याले परिवारमा समस्या छ । बुबा बितेपछि मेरो पढाइ पनि रोकियो,’ स्थानीय जनता आधारभूत माध्यमिक विद्यालयमा पढ्ने उनले भनिन्, ‘दाइहरू कमाउन भारत गएका छन् । घरमा काम गर्ने कोही छैन ।’

सुक्माका बुबा बितेको तीन वर्ष भयो । आमा पनि बिरामी छन् । गरिबीका कारण गाउँका सबैजसो दलित समुदायका पुरुष भारततर्फ लागेको उनकी दिदी यमकलीले बताइन् । ‘बुबा पनि कमाउन भारत धाउँदा धाउँदै बिरामी भएर ज्यान गयो । यस गाउँका सबै दलित परिवारको अवस्था यस्तै छ ।’

उनका अनुसार दलित परिवारका कसैलाई पनि वर्षभरि आफ्नै खेतीबाट खान पुग्दैन । गरिबी र अभावले थिचिएका यहाँका दलित र गरिब परिवारका लागि स्थानीय तहले पनि ठोस कार्यक्रम ल्याएका छैनन् । पूर्वाधार विकासअन्तर्गत सडक निर्माण र छाना फेर्ने कार्यक्रम ल्याएको सुनील स्मृति गाउँपालिकाले १२ कक्षासम्मको अध्ययन अनिवार्य गर्नुपर्ने नीति पारित गरेको छ । तर, निम्न आय र दलितलाई पढाइ खर्च र सहुलियतको कुनै व्यवस्था गरेको छैन ।

अत्याधुनिक प्रविधिको प्रयोगमा खर्च छुट्याउँदै आएका स्थानीय गाउँपालिका र वडाले विपन्नका लागि सोचेको नदेखिएको स्थानीयले बताए । ‘जनप्रतिनिधिले वडा र गाउँपालिका भवनमा सीसीटीभी राख्ने, इलेक्ट्रिक हाजिरीको व्यवस्था गर्ने, इन्टरनेट प्रविधिमा खर्च गर्नेलगायतका योजना ल्याएका छन्,’ कोइरालखर्क गाउँस्थित एक शिक्षकले भने, ‘गरिब र दलित समुदायका बारेमा
सोचेको पाइँदैन । गाउँका दलितजति भारत जानुपर्ने बाध्यताबारे हाम्रा जनप्रतिनिधि गम्भीर छैनन् ।’

गरिबीको चपेटामा परेकालाई सघाउन फुसका छाना फेर्ने अभियान चलाएको बताउने गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले यहाँका विपन्न र दलित परिवारलाई माथि उठाउन सहयोगमूलक कार्यक्रम तय गर्ने बताए । ‘गरिब र दलित परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेर फुसका छाना विस्थापन गर्ने अभियान चलिरहेको छ,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिएर यहाँका गरिब र दलित परिवारलाई यहीं रोजगारी दिलाउने हाम्रो प्रयास छ ।’

प्रकाशित : भाद्र २२, २०७६ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्