चेपाङ बस्तीमा छोनाम

कान्तिपुर संवाददाता

हेटौंडा — चितवनको राप्ती नगरपालिका–१३ कोराक ड्यामका भीमबहादुर प्रजा (चेपाङ) अघिल्लो हप्ता ढ्याङ्ग्रो बोकेर छिमेकी गाउँ जिम्लिङबाट घर फर्कदै थिए । 

‘पान्देले पछि आउँछु भनेका छन् । अहिले ढ्याङ्ग्रो मात्रै बोकेर झर्दै छु’ भीमबहादुरले भने । पान्दे भनेको चेपाङ समुदायको झाँक्री वापुजारी हुन् । यीनै पान्देले ढ्याङ्ग्रो बजाउँदै र मन्त्र फलाक्दै नयाँ अन्न दिवंगत पित्रृहरूलाई चढाएपछि बल्ल अरुले खाने चलन छ । यही चलन चेपाङ समुदायले मौलिकपर्व ‘छोनाम’ को रूपमा मनाउँदै आएका छन् ।

भदौ लागेपछि चेपाङ गाउँमा पान्देको मन्त्र र ढ्याङ्ग्रोको आवाज सुरु हुन्छ । हरेक घरमा फलेको नयाँ खाद्यन्न, तरकारी, फलफुल, कन्दमुल पित्रृलाई चढाउने कार्यको थालनी हुन्छ । भीमबहादुरका अनुसार यसपछि न्वागी खाइन्छ । भदौ लागेपछि चेपाङ बस्तीमा मकै तयार हुन्छ । घिरौला, पिँडालु, चिचिन्डा पनि फलेका हुन्छन् । पानी नलाग्ने पाखो बारीमा रोपेको घैया पाक्ने बेला पनि यही हो ।
‘यी सवै अन्न हामीले कुललाई चढाएपछि मात्रै बल्ल आफु खान्छौं’ कोराक किरनटारका हर्कबहादुर चेपाङले भने ।

भदौ पहिलो साता नै उनले छोनामको विधि पूरा गरेर घरमा फलेका तरकारीहरू खान सुरु गरेका छन् । किरनटारकै ६६ वर्षीय लालबहादुर चेपाङ त्यो भेगकै कहलिएका पान्दे हुन् । उनका अनुसार भदौ लागेपछि छोनाम सुरु हुन्छ । यो महिनाको सोमबार वा बिहीबार घरगाउँमा छोनामको काम हुन्छ । विस २०६४ सालदेखि नेपाल चेपाङ संघले भदौ २२ लाई छोनाम मनाउने दिनका रुपका घोषणा गरेको छ ।

‘छोनाम के हो, कसरी मनाइन्छ भनेर सवैलाई जानकारी दिने उद्देश्यले छोनाम समारोह गर्न थालेका हौं’ संघका पूर्व अध्यक्ष गोविन्दराम चेपाङले भने । नयाँ पुस्तालाई संस्कृति सिकाउन पनि यस्ता समारोहले सघाउने संघका अर्का पुर्व अध्यक्ष पहलमान चेपाङले भने ।

चेपाङ समुदायमा धर्म परिवर्तनको लहर चलेको कारण पछिल्लो पुस्ता विस्तारै संस्कृतिप्रति बेखबर बन्दै छ । कोराकका हर्कबहादुर चेपाङका अनुसार क्रिस्चियन बनेका चेपाङहरूले छोनाम मनाउँदैनन् । जिल्ला तहमा कार्यक्रम नभए पनि चेपाङ बहुल राप्ती–१० को चेपाङ संघ वडा इकाइले सोमबार किरनटारमा छोनामको कार्यक्रम गरेको थियो ।

सामूहिक न्वागी
मकवानपुरको राक्सिराङ गाउँपालिकाले छोनाम पर्वको अवसरमा शनिबार सार्वजनिक बिदा दियो । यहाँ चेपाङ समुदायको बाक्लो बस्ती छ ।

आइतबार बेलुकादेखि सोमबार बिहानसम्म राक्सिराङको केन्द्र चैनपुरमा चेपाङहरूले सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाए । युवायुवतीहरू रातभर नाचगान गरे भने चेपाङ झाँक्रीहरूले आफ्नो पितृ र देवतालाई खुसी पार्न रातभर ढ्याङ्ग्रो ठोके । अगुवा चेपाङहरूले युवायुवती र झाँक्रीहरूलाई नाचेर हौस्याएका थिए ।

अन्य समुदायको प्रभाव र धर्म परिवर्तनले क्रमशः आफ्नो संस्कृति र पहिचान गुमाउँदै गएको भए पनि केही चेपाङ युवाहरूको सक्रियतामा विगतका केही वर्षदेखि चेपाङ समुदायको सबैभन्दा महत्त्वपूर्ण र ठूलो धार्मिक पूजा छोनाम (न्वागी) पर्व सामूहिक रूपमा मनाउँदै आएका छन् ।

विगतमा भदौ पूर्णिमाका दिन चेपाङहरूले एक्लाएक्लै घरमा न्वागी पर्व मनाउँथे । अहिले सामूहिक रूपमा मनाउने गरेका छन् । चेपाङ संघले प्रत्येक वर्षको भदौ २२ गते सामूहिक छोनाम मनाउने निर्णय गरेअनुसार चैनपुरमा सामूहिक छोनाम मनाएको संघका मकवानपुरका अध्यक्ष पूर्णबहादुर चेपाङले बताए ।

संघद्वारा आयोजित कार्यक्रममा प्रदेश सांसद सन्तबहादुर चेपाङ, आदिवासी जनजाति संघका अध्यक्ष तीर्थ थापा, जनजाति नेता जंगबहादुर गुरुङलगायतको सहभागिता थियो ।

छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको छ । उनीहरू कहाँ बस्छन् र के खान्छन् भन्ने कुरा यो पर्वले चिनारी दिन्छ । उक्त पर्वमा चेपाङका पुरोहित पान्दे झाँक्रीहरूलेरातभर ढ्याङ्ग्रो ठोक्दै मन्त्रोच्चारण गरेर नयाँ अन्न देवता रपितृलाई चढाउँदै आफूहरूले पनि खाने गर्छन् ।

‘यो चेपाङ जातिको सबैभन्दा ठूलो पर्व हो,’ प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङले भने, ‘नयाँ अन्न र फलफूल भूमि र पितृलाई नखुवाएसम्म चेपाङ समुदायले खान नहुने भएकाले भूमि र पितृलाई खुवाउने गरिन्छ ।’ खोलाको शिर र जंगलको पुछारमा बस्ने चेपाङ जातिको पाखो र भिरालो जमिनमा उत्पादन भएका मकै, धान, पिडालु, घिरौला तथा विभिन्न अमिलो फलफूलहरू छोनामका पितृलाई (चढाएर) खुवाएर खाने गर्छन् । छोनाम (न्वागी) को दिन एकपाखे ढ्याङ्ग्रो ठोकेर झाँक्रीहरूले मन्त्रोच्चारण गर्छन् ।

छोनामको बेला जग्गेमा चेपाङको पाखोबारीमा फलेको फलफूल र मकै तथा धान राख्ने गरिन्छ । जग्गे नजिकै आगोको धुनी लगाएर चेपाङका झाँक्रीहरू रातभर फलाक्ने गर्छन् भने युवायुवतीहरू नाचगानमा रमाउने गर्छन् । रोजगारीका निम्ति टाढा—टाढा गएका चेपाङ युवायुवतीहरू यो पर्वमा घर आउँछन् । ‘छोनामको दिन यसरी ढ्याङ्ग्रो ठोकिएन र मन्त्रोच्चारण गरिएन भने पितृ र देवता रिसाउँछन्,’ ६४ वर्षे झाँक्री रत्नबहादुर चेपाङले भने, ‘यसरी विधि पुर्‍याएपछि मात्र नयाँ अन्न र फलफुल खाने बाटो खुल्छ ।’

विधि नपुर्‍याईकन आफ्नो खुसीमा नयाँ अन्न खाएमा पितृ र देवताले दुःख दिने गर्छ,’ उनले भने । २०६८ सालको जनगणना अनुसार मुलुकमा ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या रहेको छ । मकवानपुरमा ९ हजार ७ सय ७८ पुरुष र ९ हजार ३ सय ७४ महिलासहित १९ हजार १ स ५२ जना चेपाङको बसोबास छ ।

प्रकाशित : भाद्र २४, २०७६ ०८:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लुम्बिनीमा ‘रोबोटिक बुद्ध’

माधव ढुंगाना

लुम्बिनी — यहाँस्थित मायादेवी मन्दिर प्रवेश गर्ने मूलद्वार सामुन्ने दिनहुँ चहलपहल देखिन्छ । मूर्तिकार, चित्रकार, इन्जिनियर र अन्य प्राविधिकहरू असिनपसिन काम गरिरहेका हुन्छन् । दुई दर्जन यस्ता व्यक्ति वर्ष दिनदेखि खटिरहेका छन् ।

उनीहरूले दिनरात नभनी गरेको परि श्रमले यतिबेला बुद्धग्रामका रूपमा मूर्तरूप पाएको छ । यो रोबोटिक थिएटर हो । यहाँ पर्यटकले बुद्धको जीवनी रोबोर्ट र चित्रकलाको माध्यमबाट अवलोकन गर्न पाउने छन् । यसमा अध्यात्म, कला र प्रविधिको अनुपम संगम हेर्न सकिन्छ ।

यसअघि लुम्बिनी आउने पर्यटक मन्दिर र गुम्बा अवलोकनपछि फर्किन बाध्य हुन्थे । उनीहरूलाई बुद्धको जीवनी बुझाउने कार्यक्रम थिए । त्यसैले निजी लगानीकर्ताले आठ कठ्ठा जमिनमा रोबोटिक थिएटर तयार गरेका हुन् । यसमा बुद्धको जीवनीमा आधारित रहेर उनको जन्म, दरबार त्याग, बुद्धत्व प्राप्ति र त्यस क्रममा भोगेका विषयमा सचित्र जानकारी गराइनेछ ।

बुद्धकालमा पुर्‍याउन यहाँ दुई दर्जनभन्दा धेरै मानवयन्त्र रोबर्ट जडान गरिएको छ । रोबर्टमार्फत् व्यक्त गर्न नसकिने कथालाई भने प्रोजेक्टरको माध्यमबाट दर्शकलाई बुझाइने छ । चित्र र प्रकाशको संयोजन मिलाइएको छ । त्यसले पनि कथालाई वास्तविकता प्रदान गर्ने बुद्धग्राम सञ्चालकले बताए ।

‘बुद्ध जन्मस्थल आउने धेरै जना उनको जीवनीका बारेमा अनविज्ञ हुन्छन्,’ बुद्धग्राम रोबोटिक थिएटरका सञ्चालक पुरुषोत्तम अर्यालले भने, ‘थिएटरबाट बुद्ध को हुन्, बुद्धको सन्देश के हो भन्ने जानकारी मिल्नेछ ।’ थिएटर सञ्चालनपछि पर्यटकको आगमन र बसाइ अवधि बढाउन मद्दत मिल्ने उनले बताए ।

यसमा बुद्धको गर्भवास भएको संकेत स्वरूप रानी मायादेवीले देखेको सेतो हात्तीको सपनादेखि बुद्धको जन्म, बुद्ध जन्मेको छैटौं दिनमा ऋषि असितकाल देवलले गरेको भविष्यवाणी, दरबारमा युवराज सिद्धार्थ हुर्केको, शिक्षादीक्षा हासिल गरेको, बुद्धले देखेका वृद्ध, रोगी, मृत्यु, राजदरबार त्यागेको, तपस्या, ज्ञान प्राप्ति, ज्ञान बाँडेको र महापरिनिर्वाण (मृत्यु) सम्मका मुख्य घटनाक्रम स्वचालित रोबर्टबाट देखाइनेछ ।

जन्मेदेखिका विभिन्न अवस्थाका बुद्ध, राजा शुद्धोधन, मायादेवी, ऋषि, घोडा, सारथि, दरबारमा बस्ने गरेको कचहरि, बुद्धको तपस्या भंग गर्न खोजिएका प्रयत्न, वृद्ध, रोगी, मृतक, बुद्धका शिष्य सबै व्यक्तिको नाटकको भूमिका रोबर्टले निभाउनेछ । थिएटर निर्माण अन्तिम चरणमा छ । असोजको दोस्रो सातादेखि सञ्चालनमा ल्याइने अर्यालले जनाए ।

थिएटरमा पस्नासाथ सुरुमा घुमिरहेको पृथ्वीमाथि बुद्धको मूर्ति छ । यस कक्षमा सूर्य, चन्द्रमा र तारालगायत ब्रह्माण्डलाई देखाइएको छ । बुद्ध र बुद्धत्वका बारेमा दर्शकले छोटकरीमा ज्ञान पाउनेछन् । दर्शकलाई केही बेर कक्षामा विपश्यना ध्यान पनि गराइनेछ ।

त्यहाँबाट अर्को कक्षमा बुद्धको जन्म भएको, जन्मपछि शुद्धोधनको दरबारमा भव्य रूपमा गरिएको हर्षोल्लास, खुसीयाली, छैटौं दिनमा ऋषि अशितकाल देवलले बुद्धलाई संसारले मान्ने गुरु हुन्छन् भनी गरेको भविष्यवाणी, बाल सिद्धार्थको जीवनी देखाइनेछ । तेस्रो कक्षमा बुद्धका मामाका छोरा देवदत्तले वाण हानी घाइते बनाएको हाँसको विषयमा भएको विवाद, दरबारमा बसेको कचहरि देखाइनेछ ।

चौथो कक्षमा बुद्ध २९ वर्ष पुगेपछि पहिलो पटक दरबारबाहिर देखेको कपिलबस्तु गाउँ, बृद्ध, रोगी, मृत्युका घटनाक्रम देखाइनेछ । पाँचौंमा बुद्धले रातमा दरबार त्यागेको, कन्थक नामको घोडा र सारथि नामका छन्दलाई दरबार फर्कन लगाएर आफू कपाल काटेर दरबार त्यागेको, छैटौं कक्षमा बुद्धले बोधगयाको पीपलको बोटमुनि तपस्या गरेको, बाघ कराएको, बिजुली चम्केको, तपस्या भंग गराउने सबै कुरा देखाइनेछ ।

सातौं कक्षमा बुद्धत्व प्राप्तिपछि सारनाथमा बुद्धलाई मार्न भनी आएको अगुलीमाल (मान्छे काटेर मान्छेको औंलाको माला लगाउने व्यक्ति, पछि बुद्धको ज्ञानले प्रभावित भएको) सँगको भेट र अन्तिममा बुद्धले कुशीनगरमा आफ्ना शिष्यसँगको साथमा देश त्याग गरेको घटनाक्रम देखाइनेछ । घटनाक्रमसँग मेल खाने हावाहुरी, रुख, जंगल, पोखरी, नदी, गाउँ, बाघलगायत जंगली जनावर सबै देखाइनेछ ।

करिब पाँच करोड रुपैयाँको लगानी रहेको वातानुकूलित थिएटरमा बुद्धले खाने गरेका खाना पाइने रेस्टुरेन्ट, बुद्धसँग सम्बन्धित चित्र सामग्रीको आर्ट ग्यालरी, बुद्धसँग सम्बन्धित मूर्ति पसल, पर्यटकका लागि कोल्डस्टोर, नेपालमै उत्पादित चिया कफीलगायतका अन्य शोभिनियर र कपडा पसलसमेत उपलब्ध छ ।

जहाँ बुद्धले लगाउने चेवरदेखि पर्यटकलाई गर्मी यामका लागि नेपाली पस्मिना र ढाका कपडा लगायतका सबै नेपाली उत्पादन देखाइने छ ।

प्रकाशित : भाद्र २४, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT