कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लुम्बिनीमा ‘रोबोटिक बुद्ध’

माधव ढुंगाना

लुम्बिनी — यहाँस्थित मायादेवी मन्दिर प्रवेश गर्ने मूलद्वार सामुन्ने दिनहुँ चहलपहल देखिन्छ । मूर्तिकार, चित्रकार, इन्जिनियर र अन्य प्राविधिकहरू असिनपसिन काम गरिरहेका हुन्छन् । दुई दर्जन यस्ता व्यक्ति वर्ष दिनदेखि खटिरहेका छन् ।

लुम्बिनीमा ‘रोबोटिक बुद्ध’

उनीहरूले दिनरात नभनी गरेको परि श्रमले यतिबेला बुद्धग्रामका रूपमा मूर्तरूप पाएको छ । यो रोबोटिक थिएटर हो । यहाँ पर्यटकले बुद्धको जीवनी रोबोर्ट र चित्रकलाको माध्यमबाट अवलोकन गर्न पाउने छन् । यसमा अध्यात्म, कला र प्रविधिको अनुपम संगम हेर्न सकिन्छ ।


यसअघि लुम्बिनी आउने पर्यटक मन्दिर र गुम्बा अवलोकनपछि फर्किन बाध्य हुन्थे । उनीहरूलाई बुद्धको जीवनी बुझाउने कार्यक्रम थिए । त्यसैले निजी लगानीकर्ताले आठ कठ्ठा जमिनमा रोबोटिक थिएटर तयार गरेका हुन् । यसमा बुद्धको जीवनीमा आधारित रहेर उनको जन्म, दरबार त्याग, बुद्धत्व प्राप्ति र त्यस क्रममा भोगेका विषयमा सचित्र जानकारी गराइनेछ ।


बुद्धकालमा पुर्‍याउन यहाँ दुई दर्जनभन्दा धेरै मानवयन्त्र रोबर्ट जडान गरिएको छ । रोबर्टमार्फत् व्यक्त गर्न नसकिने कथालाई भने प्रोजेक्टरको माध्यमबाट दर्शकलाई बुझाइने छ । चित्र र प्रकाशको संयोजन मिलाइएको छ । त्यसले पनि कथालाई वास्तविकता प्रदान गर्ने बुद्धग्राम सञ्चालकले बताए ।


‘बुद्ध जन्मस्थल आउने धेरै जना उनको जीवनीका बारेमा अनविज्ञ हुन्छन्,’ बुद्धग्राम रोबोटिक थिएटरका सञ्चालक पुरुषोत्तम अर्यालले भने, ‘थिएटरबाट बुद्ध को हुन्, बुद्धको सन्देश के हो भन्ने जानकारी मिल्नेछ ।’ थिएटर सञ्चालनपछि पर्यटकको आगमन र बसाइ अवधि बढाउन मद्दत मिल्ने उनले बताए ।


यसमा बुद्धको गर्भवास भएको संकेत स्वरूप रानी मायादेवीले देखेको सेतो हात्तीको सपनादेखि बुद्धको जन्म, बुद्ध जन्मेको छैटौं दिनमा ऋषि असितकाल देवलले गरेको भविष्यवाणी, दरबारमा युवराज सिद्धार्थ हुर्केको, शिक्षादीक्षा हासिल गरेको, बुद्धले देखेका वृद्ध, रोगी, मृत्यु, राजदरबार त्यागेको, तपस्या, ज्ञान प्राप्ति, ज्ञान बाँडेको र महापरिनिर्वाण (मृत्यु) सम्मका मुख्य घटनाक्रम स्वचालित रोबर्टबाट देखाइनेछ ।


जन्मेदेखिका विभिन्न अवस्थाका बुद्ध, राजा शुद्धोधन, मायादेवी, ऋषि, घोडा, सारथि, दरबारमा बस्ने गरेको कचहरि, बुद्धको तपस्या भंग गर्न खोजिएका प्रयत्न, वृद्ध, रोगी, मृतक, बुद्धका शिष्य सबै व्यक्तिको नाटकको भूमिका रोबर्टले निभाउनेछ । थिएटर निर्माण अन्तिम चरणमा छ । असोजको दोस्रो सातादेखि सञ्चालनमा ल्याइने अर्यालले जनाए ।


थिएटरमा पस्नासाथ सुरुमा घुमिरहेको पृथ्वीमाथि बुद्धको मूर्ति छ । यस कक्षमा सूर्य, चन्द्रमा र तारालगायत ब्रह्माण्डलाई देखाइएको छ । बुद्ध र बुद्धत्वका बारेमा दर्शकले छोटकरीमा ज्ञान पाउनेछन् । दर्शकलाई केही बेर कक्षामा विपश्यना ध्यान पनि गराइनेछ ।


त्यहाँबाट अर्को कक्षमा बुद्धको जन्म भएको, जन्मपछि शुद्धोधनको दरबारमा भव्य रूपमा गरिएको हर्षोल्लास, खुसीयाली, छैटौं दिनमा ऋषि अशितकाल देवलले बुद्धलाई संसारले मान्ने गुरु हुन्छन् भनी गरेको भविष्यवाणी, बाल सिद्धार्थको जीवनी देखाइनेछ । तेस्रो कक्षमा बुद्धका मामाका छोरा देवदत्तले वाण हानी घाइते बनाएको हाँसको विषयमा भएको विवाद, दरबारमा बसेको कचहरि देखाइनेछ ।


चौथो कक्षमा बुद्ध २९ वर्ष पुगेपछि पहिलो पटक दरबारबाहिर देखेको कपिलबस्तु गाउँ, बृद्ध, रोगी, मृत्युका घटनाक्रम देखाइनेछ । पाँचौंमा बुद्धले रातमा दरबार त्यागेको, कन्थक नामको घोडा र सारथि नामका छन्दलाई दरबार फर्कन लगाएर आफू कपाल काटेर दरबार त्यागेको, छैटौं कक्षमा बुद्धले बोधगयाको पीपलको बोटमुनि तपस्या गरेको, बाघ कराएको, बिजुली चम्केको, तपस्या भंग गराउने सबै कुरा देखाइनेछ ।


सातौं कक्षमा बुद्धत्व प्राप्तिपछि सारनाथमा बुद्धलाई मार्न भनी आएको अगुलीमाल (मान्छे काटेर मान्छेको औंलाको माला लगाउने व्यक्ति, पछि बुद्धको ज्ञानले प्रभावित भएको) सँगको भेट र अन्तिममा बुद्धले कुशीनगरमा आफ्ना शिष्यसँगको साथमा देश त्याग गरेको घटनाक्रम देखाइनेछ । घटनाक्रमसँग मेल खाने हावाहुरी, रुख, जंगल, पोखरी, नदी, गाउँ, बाघलगायत जंगली जनावर सबै देखाइनेछ ।


करिब पाँच करोड रुपैयाँको लगानी रहेको वातानुकूलित थिएटरमा बुद्धले खाने गरेका खाना पाइने रेस्टुरेन्ट, बुद्धसँग सम्बन्धित चित्र सामग्रीको आर्ट ग्यालरी, बुद्धसँग सम्बन्धित मूर्ति पसल, पर्यटकका लागि कोल्डस्टोर, नेपालमै उत्पादित चिया कफीलगायतका अन्य शोभिनियर र कपडा पसलसमेत उपलब्ध छ ।


जहाँ बुद्धले लगाउने चेवरदेखि पर्यटकलाई गर्मी यामका लागि नेपाली पस्मिना र ढाका कपडा लगायतका सबै नेपाली उत्पादन देखाइने छ ।

प्रकाशित : भाद्र २४, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?