सोनाक्षीलाई ट्रोलको कुनै मतलब छैन

कान्तिपुर संवाददाता

काठमाडौँ — आजभोलि कलाकारलाई पनि सुख छैन । फ्यान फ्लोइङमा बढी रमाउने यो जमातका लागि सामाजिक सञ्जालमा चल्तीमा रहेको ट्रोल टाउको दुखाइ बनिरहेको छ । कलाकारले छिसिक्क केही गर्न पाएका हुँदैनन्, ट्रोल भाइरल बनिसक्छ ।

यसले नकारात्मक टिप्पणी गर्नेलाई मलजल मिल्दै गइरहेको छ । तर बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले भने आफूलाई ट्रोलले फरक नपार्ने बताएकी छन् ।

सोनाक्षी पछिल्लो समय ब्याकटुब्याक असफलताको घनचक्करमा फसेकी थिइन् । उनका ‘अकीरा’, ‘तेवर’, ‘नूर’, ‘हृयाप्पी फिर भाग जाएगी’, ‘कलंक’ र ‘खानदानी सफाखाना’ ले बक्सअफिसमा खराब प्रदर्शन गरेका थिए । ‘ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ’ भनेझैं फिल्म असफल भएपछि सोनाक्षी पनि ट्रोलको खेदाइमा परिन् । जबकि ‘दबंग’ बाट नौ वर्षअघि बलिउडमा सानदार डेब्यु गरेकी यी अभिनेत्रीलाई त्यसपछिका उनका फिल्म ‘राउडी राठोर’, ‘सन अफ सरदार’, ‘दबंग २’ ले चुरीफुरी निकै बढाइदिएको थियो ।

‘म कुनै पनि नकारात्मक कुराहरू र ट्रोललाई खासै ध्यानै दिन्न । बरु त्यसको बदलामा आफ्नो काममा ध्यान केन्द्रित गर्न रुचाउँछु,’ सोनाक्षीले भनेकी छन्, ‘कलाकारको मात्रै हैन, जोकोहीको जीवनमा पनि उतारचढाव आउँछ । एउटा सामान्य मान्छेले पनि यसको सामना गर्नुपर्छ । तब न मान्छेको रूपमा विकास हुन्छ । ट्रोलर्स वा हेटर्स के भन्छन् ? म यसको मतलब राख्दिनँ । किनकि म आज यहाँ छु । उनीहरू त्यहींको त्यहीं नै छन् ।’ उनले आफूमा नकारात्मक टिप्पणीलाई बेवास्ता गर्न सक्ने खुबी रहेको दाबी गर्दै आफ्ना लागि काम महत्त्वपूर्णरहेको बताइन् ।

‘सकारात्मक रहनुस् र अघि बढ्नुस्,’ यति बेला ‘मिसन मंगल’ को सफलताले राहत पाएकी सोनाक्षीले आफ्ना फिल्म असफल भए पनि काम पाउन भने कमी नआएको बताउँदै यस वर्ष पनि चार–चार फिल्म प्रदर्शनको तयारीमा रहेको जानकारी दिइन् । यति बेला भने उनी प्रभु देवा निर्देशित फिल्म ‘दबंग ३’ मा पुनः सलमान खानको अपोजिटमा देखिँदै छिन् ।

– एजेन्सी

प्रकाशित : भाद्र २४, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

ट्यांकर विवाद : इरानले सिरियालाई तेल बेच्यो

एजेन्सी

तेहरान/दुबई — इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद आफ्नो एक ट्यांकरले सिरियालाई तेल बेचेको जनाएको छ । तेल ट्यांकर ‘एड्रियन डार्‍या–१’ गत शुक्रबार सिरियाली तटीय क्षेत्रतर्फ गएको भूउपग्रह तस्बिरमा देखिएको थियो ।

त्यसपछिका विवरण भने अस्पष्ट छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ताले उक्त ट्यांकर भू–मध्यसागरको तटीय क्षेत्रमा पुगेपछि कार्गो सिरिया पठाइएको बताए ।

पछिल्लो कदमबारे प्रतिक्रिया जनाउँदै अमेरिकाले उक्त ट्यांकरको तेल खरिद गर्नेमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी तेलमाथिको प्रतिबन्ध नहटाइने बताएकाले हामीले दबाब जारी राख्छौं,’ अमेरिकी अर्थ मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोएटर्सले जनाएको छ ।

गत जुलाईमा बेलायतको सहयोगमा जिब्राल्टारमा नियन्त्रणमा लिएयता उक्त ट्यांकर अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा छ । युरोपेली प्रतिबन्धको उल्लंघन गर्दै सिरिया पुर्‍याउन लागिएको आशंकामा ट्यांकलाई नियन्त्रणमा लिइएको थियो । तर पछि इरानले सिरिया नपठाउने विश्वास दिलाएपछि ट्यांकरलाई छाडिएको हो ।

गत अगस्टमा अमेरिकाल ट्यांकरलाई नियन्त्रणमा राखिराख्न आग्रह गरे पनि जिब्राल्टारका अदालतले अस्वीकार गरेको थियो । जहाज नियन्त्रणमा लिन बेलायती जलसेनाले सघाएपछि बेलायत र इरानको समेत सम्बन्ध बिग्रेको थियो । जसको प्रतिक्रियास्वरूप इरानले पनि बेलायती झण्डा अंकित एक ट्यांकर नियन्त्रणमा लिएको थियो ।

इरानी अधिकारीका अनुसार उक्त ट्यांकरलाई छाड्ने तयारी भइरहेको छ । विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीका अनुसार ‘स्टेना इम्पेरो’ नामक ट्यांकरलाई छाड्नका लागि अन्तिम कानुनी प्रक्रिया पूरा गरिंदैछ । इरानले समद्री जलक्षेत्रसम्बन्धी कानुन मिच्दै आफ्नो माछा मार्ने डुंगालाई ठक्कर दिएको भन्दै त्यसलाई नियन्त्रणमा लिइएको बताउँदै आएको थियो ।

प्रकाशित : भाद्र २४, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्