काँडाबीच फूल

काठमाडौँ — नामै क्याक्टी ब्लसम अर्थात फुल्दै गरेको सिउँडी फूल । तिखा काँडाबीच पनि फुल्ने क्याक्टी अर्थात क्याक्टसलाई धेरैले कला र साहित्यमा प्रतीकात्मक रूपमा चित्रण गर्छन् ।

काँडाबीच फूल

संघर्षबीचको सफलता जनिने यो प्रतीकलाई यतिबेला चित्रकार प्रमिला बज्राचार्यले क्यानभासमा प्रयोग गरेकी छन् । ठमेलस्थित दलाई–ला आर्ट स्पेसमा जारी ‘क्याक्टी ब्लसम’ शीर्षकको एकल चित्रकला प्रदर्शनीमा नेपाली समाजमा सफलता हासिल गर्न नारीलाई कति कठिन छ भन्ने सन्दर्भलाई प्रेमिलाले खोतल्ने प्रयास गरेकी छन् । ‘नारीलाई आत्मपहिचान बनाउन साह्र्रै गाह्रो छ,’ हालैको दिन ग्यालरीमा भेटिएकी उनले भनिन्, ‘अनेकौं कठिनाइ पार गरेर मात्रै लक्ष्यसम्म पुग्नुपर्ने हुन्छ ।’


पितृसत्तात्मक समाजमा नारीले आफ्नो स्थानलाई सुरक्षित र स्थायित्व कायम गर्न कडा परि श्रम गर्नुपर्ने भाव छ उनका अधिकांश चित्रमा । उनका चित्रमा एउटा निश्चित गन्तव्यका लागि अडिग रहेका जस्ता देखिने नारी फिगर भेटिन्छन् तर अघिल्तिर केही न केही अवरोध खडा भएको देखिन्छ । ती अवरोध कतै कतै त सुनौला काँडेतार जस्ता देखिन्छन् ।


नारीले लक्ष्यमा पुग्न कहिले पुरानो सामाजिक चिन्तनको अवरोध, कहिले परिवारकै अवरोध त कहिले सांस्कृतिक परिपाटीको अवरोध हाम्रो समाजमा छँदै छन् । प्रमिलाका चित्र नियाल्दै जाँदा यस्तै अवरोधको बोध हुन्छ । प्रायः नारी फिगर र भावलाई चित्रमा उतार्न रुचि राख्ने बज्रचार्यको यो बाह्रौं एकल प्रदर्शनी हो ।


करिब एक वर्षअघि पनि उनले ‘मेरो सेरोफेरो’ शीर्षकमा पनि नारीकै विचार, वरिपरिका परिवेशलाई चित्रमा प्रस्तुत गरेकी थिइन् । आफू नारी भएकै कारणले महिलाका विषयका भाव अभिव्यक्त गर्न सजिलो हुने उनको अनुभव छ ।


प्रदर्शनीमा रहेका नारी सिरिजका १५ कलाकृतिमा संघर्षशील नारी पात्रलाई नै केन्द्रमा राखेकी छन् । एक्रेलिक माध्यममा बनाइएका उनका प्रत्येक नारी चित्रसँगै फूलहरू पनि भेटिन्छन् । फुलिरहेको सिँउडी फूल होस् या कमल र सूर्यमुखी फूल । यी फूलमार्फत उनले नारीको कोमल हृदयसँग तुलना गरेकी छन् । ‘नारीको मन फूलजस्तै अत्यन्तै भावुक र संवेदनशील हुन्छ,’ उनले भनिन्, ‘विविध प्रकृतिका फूलझैं नारीका अनुभूति समय क्रममा निर्भर रहन्छ ।’


कलाकृतिमा भने फूलहरूलाई उनले प्रतीकात्मक रूपमा दर्साएकी हुन् । नीलो, रातो, पहेँलो, हरियो रंगमार्फत पनि उनले नारी चरित्र र मनोविज्ञानको चित्रण गर्न खोजेकी छन् । प्रायः नीलो रंगको सघनतालाई उनले प्राथमिकतामा राखेकी छन् । नीलो आँसुको रंग हो । यसलाई दुःख र पीडाको रंग पनि मानिन्छ ।


फूलिरहेका फूलचाहिँ आशा र सकारात्मकताको सन्देशसहित उनका कलाकृतिमा प्रयोग भएका छन् । दुःख, पीडा र संघर्षबीच पनि उनले निराशाको वकालत गरेकी छैनन् । उनका चित्रले उज्यालोतिरको संकेत गर्छ । अवरोधबीच पनि आशा र उत्साह सञ्चार गर्छ ।


पृथ्वीको सतहभन्दा धेरै टाढा रहेको सूर्यलाई नियालिरहेकी नारीका चित्र झन् उत्तिकै अर्थपूर्ण छन् । बज्राचार्यका अनुसार नारीको सफलताको बाटो आकाशमा रहेको घाम जस्तै टाढा छ तर छुन नसके पनि त्यहाँसम्म पुग्ने हिम्मत राख्ने महिला नै उनले कोरेका चित्रका नायिका हुन् ।


यी नायिका एउटै भूगोल, संस्कार र उमेर समूहबाट आएका छैनन् । उनले विभिन्न उमेर समूह हुँदै पहाडीदेखि तराई मूलका नारीहरूको फिगर कोरेकी छन् । मुलुकका सबैतिर नारी समुदायलाई अप्ठ्यारा झेल्दै अघि बढिरहेका छन् भन्ने अर्थपूर्ण सन्देश उनका चित्रमा पाइन्छ । प्रदर्शनी आगामी असोज ११ गतेसम्म जारी रहने बताइएको छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?