२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

घन्किए लोकबहादुर

पोखरा — तीसको मध्य दशकमै लोकबहादुर गुरुङले गीत लेखेका थिए, ‘भन्ज्याङ काटेर नजाऊ...।’ यो गीत तिनताक निकै चर्चित पनि बन्यो । देवी गुरुङको आवाजमा रेकर्ड गरिएको उक्त गीत उनकै झल्को दिने गरी पोखरामा गुन्जियो हालैको साँझ ।

घन्किए लोकबहादुर

जब देवीले उक्त गीत गाउन सुरु गरिन्, हलमा सन्नाटा छायो । धेरैले तिनताक लोकबहादुर सम्झे । आँखा रसिला पारे । ‘यो माहोल नै यस्तै छ,’ कलाकार मनोज गुरुङले सहजीकरण गर्नुपर्‍यो, ‘हामी बिस्तारै नाच्ने र रमाउने खालका गीत पनि प्रस्तुत गर्छौं, धैर्य गरिदिनुहोला ।’


विसं २०२८ मा रेडियो नेपालले देशव्यापी लोकगीत प्रतियोगिता गर्दा गण्डकी अञ्चलको प्रतिनिधित्व गरिएको तिनै लोकबहादुरद्वारा रचित ‘कस्की छोरी हौ नानी, चौतारीमा बसेको...’ बोलको कौडा गीत पहिलो भएको थियो । उनले नेपाली र गुरुङ गरी डेढ सय बढी गीत लेखेका थिए ।


संस्कृतिकर्मी लोकबहादुर गुरुङको पाँचौं स्मृतिसभा देवीले पुनः स्रष्टा लोकबहादुरद्वारा रचित ‘मारा चाँदी आचैदी...’ बोलको गुरु भाका पनि सुनाइन् । २०५२ मा निर्माण गरिएको गुरुङ फिल्म ‘न्हाम्स्यो न्होंरी’ अर्थात् ‘कुहिरोभित्र’ मा समावेश उक्त गीत अहिले पनि चर्चित छ । लगत्तै सरुन गुरुङ र उषा गुरुङले ‘पोरेट थुमिनो ङोलो...’ अर्थात् ‘लालीगुराँस टिपिदिनु सोल्टी...’ बोलको गीत गाए ।


गुरुङ संस्कृतिमा भिजेका, गुरुङ फिल्मका लेखक निर्देशक, तमुसंसार त्रैमासिकका प्रकाशक तथा सम्पादक, अभियान फिल्म्स प्रालिका निर्देशक लोकबहादुर गुरुङद्वारा रचित १४ गीतलाई मञ्चमा गाइएको थियो । ‘आयादो ठागु...’ (नजाऊ जेठा बोल...) भन्दै धनबहादुर र कुसुमले गाइरहँदा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ भन्दै थिए, ‘युवालाई विदेश नजान प्रेरित गर्ने यस्ता खालका गीत हाम्रा लागि प्रेरणा बनेका छन् ।’ सरुन गुरुङ र एलिना गुरुङले ‘छयाँबह्रानी ङोल्स्यो ने...’ (राम्री सोल्टिनीसित) बोलको गीत गाए ।


नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले शिक्षा, साहित्य र फिल्मको त्रिवेणी व्यक्तित्व लोकबहादुरको जीवनीमा आधारित फिल्म निर्माण गर्न सुझाव दिए । चार वर्षअघि निधन भएका लोकबहादुर पोखरास्थित तत्कालीन भद्रकाली माविका प्रधानाध्यापक थिए ।


कार्यक्रममा यस वर्षको लोकबहादुर गुरुङ स्मृति चलचित्र पुरस्कारबाट निर्देशक केशबहादुर गुरुङ पुरस्कृत भए । उनलाई ३५ हजार रुपैयाँ, ताम्रपत्र, फेटा र भाङ्ग्राद्वारा सम्मान गरियो । उनले पुरस्कारबापतको रकम प्रतिष्ठानकै कोषका लागि हस्तान्तरण गरे ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?